पुर्ख्याैली पेसा धान्नै मुस्किल
सिमरा — बाराको सिम्रौनगढ नगरपालिका–४ गंगानगरका ६० वर्षीय फिरंगी पण्डित प्रजापति कुम्हारका पुर्खाले वर्षौंदेखि माटोको भाँडा बर्तन बनाएर परिवारको गुजारा चलाउँदै आएका थिए । उनका बाबु, बाजे, हजुरबुवा पनि जातीय पेसाबाटै परिवारको गुजारा चलाए ।
त्यही पेसालाई अंगालेर फिरंगीले पनि परिवार धान्दै आएका छन् ।
उनी पनि वर्षभरि नै माटो मुछेर हातले घुमाएको कुम्हालेको चक्रबाट माटोको भाँडो बनाएर २ छोरालाई हुर्काए । पढाए लेखाए । उनले पुख्र्यौली पेसा सीपलाई माटोको दियो, घैंटो, हडिया, हाती, ढकना, चौमुख लगायतका सामग्री बनाएर धान्दै आएका थिए । पछिलो समय पुख्र्यौली पेसा मोह घट्दै गएको उनले बताए । अहिले आएर आफूले पनि यो पेसालाई सिजनल बनाएको बताए ।
तिहार र छठलाई लक्षित गरी माटोको दियो, घैंटो, हडिया, हाती, ढकना, चौमुख लगायतका सामग्री बनाएर पेसालाई धान्दै आएको उनले बताए । अब यो पेसा धान्न मुस्किल परेको उनी बताउँछन् ।
‘परिवारमा जातीय पेसालाई धान्ने म एक्लै छुँ,’ उनले भने, ‘मेरा छोराहरूले यो पेसा गर्दैनन् ।’ पुख्र्यौली सीप उनीहरूलाई सिकाएको छु । तर उनीहरूले यो सीपलाई व्यवहारमा उतार्छन् जस्तो लाग्दैन । उनीहरू पढेलेखेर जागिर गर्ने सोचमा रहेको उनले जानकारी दिए ।
बुढेसकाल लाग्न थाले पनि धर्मका लागि भए पनि यो पेसालाई निरन्तरता दिएको छु । धार्मिक कार्यमा प्रयोग हुने दियो, चौमुख, हाती, ढकना, घैला लगायतका पूजा सामग्री मात्र बनाउने गरेको उनले सुनाए । ‘दिपावली र छठका लागि मात्र पूजामा प्रयोग हुने माटाका भाँडाबर्तन तयार गर्छु,’ उनले भने, ‘अरू बेला चक्र चलाउँदिन ।’ बुढेकाल लाग्यो । पहिला जस्तो मिहनेत पनि गर्न सक्दिन । आफूलाई सघाउने छोराहरू पनि घरमा बस्दैनन् । त्यसैले पेसालाई विस्तारै छोड्ने तरखरमा पुगेको उनले जनाए । उनका अनुसार माटोको सामग्रीको पहिला जस्तो माग पनि छैनन् । धार्मिक कार्यमा मात्र केही सामग्री प्रयोग गर्ने गरिएको छ । बढ्दो आधुनिकीकरणका कारण पनि हाम्रो पुख्र्यौली पेसा धरापमा पर्न गएको हो ।
पहिला दिपावलीमा सबैको घरमा माटोकै दियो बाल्ने गरिन्थ्यो । अहिले बिजुलीबाट बल्ने झालर बत्ती, प्लास्टिकको दियो बाल्न थालेका छन् । मोटोको दियोको प्रयोग कम हुन थालेको छ । अर्कोतिर हाम्रा छोराछोरी पढेलेखेर माटोले खेल्न चाहदैनन् । उनीहरू पनि अन्य जातिका मानिस जस्तै सुटबुट लाएर जागिर गर्न सहरतिर लम्किन थालेपछि पेसालाई धान्न गाउँमा युवा पुस्ताको कमी भएको उनले बताए ।
‘गाउँमा बुढापाका मात्र बस्छन्, उनीहरूले सके जति त गर्ने हो । नसकेपछि कस्ले गर्ने ?,’ उनले भने, ‘बिस्तारै हाम्रो मात्र होइन, सबै जातजातिका मानिसले पुख्र्यौली पेसा छाड्दै गएका छन् ।’ जो पढेलेखेको छैन । गाउँमा बस्न बाध्य छ । ऊसँग कुनै सीप छैन । त्यही मान्छेले परम्परागत पोसालाई धान्ने गरेको उनले आफ्नो अनुभव सुनाए ।
सिम्रौनगढ नगरपालिकाभित्र कुम्हार जातिको संख्या थोरै रहेको नगरपालिका प्रमुख विजय कुमार यादवले बताए । ‘पुख्र्यौली पेसा धान्न कठिन छ । धेरै मिहनेत गर्नुपर्छ,’ उनले भने, ‘अहिलेको पुस्ता पढे लेखेका छन्, गाउँमा बसेर मिहनेत गर्न चाहदैनन् ।’ त्यसैले पुख्र्यौली पेसा अहिले संकटमा परेको उनको ठम्याइ छ ।
उनका अनुसार पुख्र्यौली पेसा गर्दा गाउँमै बस्नुपर्छ । गाउँमा बस्दा आम्दानी बढाउन सकिँदैन । बालबच्चालाई पढाउन मुस्किल पर्छ । त्यसैले गाउँका जो कोहीले पनि बढी पैसा कमाउन र आरामको काम गर्न सहरतिर लाग्ने गरेका छन् । गाउँको जनशक्ति सहरतिर लागेपछि यहाको पुरानो चलन अनुसारको काम गर्ने युवा जमातको कमी भएको उनले जानकारी दिए । जातीय सीप प्रयोग गरेर उत्पादन भएको सामग्रीले पनि उचित मूल्य पाउन नसकेको उनको ठम्याइ छ ।