१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

विद्युत् चुहावट घट्दै

‘अन्य जिल्लामा विद्युत् चुहावट गर्नेलाई स्थानीय स्तरमै बहिष्कार गरिन्छ,यहाँ भने चुहावट गर्नेलाई कुनै किसिमको कारबाही नगर्न दबाब दिन्छन्’
भूषण यादव

वीरगन्ज — लामो समयदेखि विद्युत् चुहावट, बढ्दो छुट बिलिङ र शतप्रतिशत महसुल संकलन नहुने समस्यामा बल्झिएको विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा अहिले व्यापक सुधारको संकेत देखिएको छ  ।
पछिल्लो ६ महिनायता छुट बिलिङमा ६ करोडभन्दा बढी महसुल संकलन भएको छ  ।

विद्युत् चुहावट घट्दै

वारा–पर्सा औद्योगिक कोरिडारका उद्योगहरूबाट विभिन्न कारणले छुट हुन गएको महसुल संकलनका लागि उद्योगको मिटरबाट डाटा डाउनलोड गरी अध्ययन भइरहेको छ । वीरगन्ज वितरण केन्द्रका प्रमुख मुनेन्द्र ठाकुरका अनुसार एउटै सिमेन्ट उद्योगबाट एक करोड २५ लाख छुट बिलिङ बापत असुलिएको छ ।


‘६५ वटा उद्योगको फाइल अध्ययन गर्दा करिब ६ करोड २५ लाख छुट बिलिङ बापत संकलन भएको हो,’ उनले भने, ‘अहिले थप २० वटा उद्योगको फाइल निर्णय प्रक्रियामा छ ।’ ९० प्रतिशत महसुल ठूला उद्योगबाट आउने भएकाले बढी कडाइ गरिएको उनले जनाए । उनले भने, ‘एक महिनाभित्र उद्योगका मिटरमा ‘मोडम’ लगाउने योजना छ, यो प्रविधिले मिटरमा भएको गडबडीबारे तत्काल प्राधिकरणलाई जानकारी गराउँछ ।’


विद्युत् प्राधिकरणको लेखा शाखाको तथ्यांकअनुसार एक खाद्य उद्योगबाट ६९ लाख, फर्मास्युटिकल्सबाट १४ लाख ७५ हजार, कोरिडोरको एउटा स्पिनिङ मिलबाट ३० लाख, उपभोक्ता समितिबाट १८ लाख महसुल छुट बिल शीर्षकमा संकलन भएको छ । ‘पुरानो मिटरको मर्मत सम्भार नहुँदा, मुसाले तार टोक्दा लगायतका विभिन्न कारणले छुट हुन गएको रकम असुलिएको हो,’ वितरण केन्द्रका प्रमुख ठाकुरले भने, ‘छुट बिलिङको हामी जरिवाना लिँदैनाैं, यसबारे उद्योगीलाई थाहा हुन पनि सक्छ, नहुन पनि सक्छ ।’


वीरगन्ज महानगरपालिकाभित्र सञ्चालनमा रहेका ठूला निजी विद्यालयको मिटरमा पनि छुट बिलिङको समस्या रहेको प्राधिकरणले जनाएको छ । स्कुलहरूको मिटर पनि अध्ययन भइरहेको ठाकुरले बताए । गत वैशाखसम्म पर्सामा १३ प्रतिशतभन्दा बढी विद्युत् चुहावट हुने गरेको थियो । ‘अहिले चुहावट प्रतिशत दसमा झरेको छ,’ ठाकुरले भने, साढे सात प्रतिशतमा झार्ने लक्ष्य छ । विद्युत् चुहावट नियन्त्रणमा कडाइ गरिएको छ । चुहावट गर्ने ९८ जनालाई कारवाही गरी ३७ लाख संकलन गरिएको प्राधिकरणले जनाएको छ । स्थानीय प्रहरी प्रशासनको सहयोगमा विद्युत् चुहावट गर्नेलाई नियन्त्रणमा लिँदा विभिन्न राजनीतिक दलका नेताहरूले छाडिदिन दबाब दिने गरेको कर्मचारीले गुनासो गरेका छन् । ‘अन्य जिल्लामा विद्युत् चुहावट गर्नेलाई स्थानीय स्तरमै बहिष्कार गरिन्छ,’ एक कर्मचारीले भने, ‘यहाँ भने चुहावट गर्नेलाई कुनै किसिमको कारवाही नगर्न दबाब दिन्छन् ।’

प्रकाशित : कार्तिक १७, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?