२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दूधमा संस्थानलाई घाटा

सन्तोष सिंह

धनुषा — किसानसँग सस्तोमा खरिद गरे पनि दुग्ध विकास संस्थानले प्रशोधित दूधमा प्रतिलिटर २२ रुपैयाँँसम्म घाटा व्यहोरेको छ  । किसानसँग प्रतिलिटर ४० रुपैयाँँ ३० पैसामा दूध खरिद गर्ने संस्थानले प्रशोधनमा ५२ रुपैयाँँ ६८ पैसा खर्च गरिरहेको छ  ।

दूधमा संस्थानलाई घाटा

दूध खरिदको रकम र प्रशोधन खर्च जोड्दा संस्थानले प्रतिलिटर दूधमा ९१ रुपैयाँँ ९८ पैसा खर्च गरेको छ । तर उसले डिलरलाई प्रशोधित दूध प्रतिलिटर ७० रुपैयाँँ ३० पैसामा मात्र बेच्छन् । डिलरले त्यही दूध उपभोक्तालाई ७५ रुपैयाँँमा भिडाउँछन् ।

दूध तथा दुग्ध पदार्थ बिक्रीमा लक्ष्यअनुसारको प्रगति नगर्नु र डिलर धेरै पुराना भएकाले बिक्रीमा खासै ध्यान नदिँदा सरकारी स्वामित्वमा रहेको दूध विकास संस्थानको ढल्केबर वितरण केन्द्र दिनदिनै घाटा व्यहोर्दैछ । गाउँमा ४० रुपैयाँँ प्रति लिटर दूध बेचेका किसानले डेरिबाट फेरि दूध किन्दा ७५ रुपैयाँँ व्यहोर्नुपर्छ ।

दुग्ध विकास संस्थानले किसानबाट दूध खरिद गरेको मूल्य भन्दा दोब्बरमा बेच्दा पनि प्रतिलिटर २२ रुपैयाँ घाटा व्यहोर्नु परेको छ । कृषकसँग दूध ४० रुपैयाँ प्रतिलिटरका दरले दुग्ध विकास संस्थानले खरिद गरी ७० रुपैयाँ प्रतिलिटर बिक्री गर्छ ।

तर कृषकबाट दूध खरिद गरी संकलन केन्द्रबाट प्रशोधन केन्द्रसम्म ल्याउन र प्रशोधन केन्द्रबाट बिक्री केन्द्रसम्म दूध पुर्‍याउन प्रतिलिटर ९१ रुपैयाँ पर्छ । दूध प्रति लिटर ९१ खर्च गरी बिक्री ७० रुपैयाँमा हुँदा दुग्ध विकास संस्थान जनकपुर दुग्ध वितरण आयोजन ढल्केबरले प्रतिलिटर २२ रुपैयाँ सम्म घाटा व्यहोर्नु परेको छ ।

किसानलाई प्रतिलिटर ४० रुपैयाँ दिने संसथानले प्रतिलिटर संकलन ८ रुपैयाँ ६४ पैसा, प्रशोधन खर्च २६ रुपैयाँ ६ पैसा, बिक्री खर्च प्रतिलिटर ३ रुपैयाँ ६४ पैसा, प्रशासनिक खर्च ८ रुपैयाँ ६९ पैसा, बिजुली पानी खर्च १ रुपैयाँ ९७ र इन्धन २ रुपैयाँ ३२ पैसा गरी ९१ रुपैयाँ ९८ पैसा खर्च हुने गरेको दुग्ध वितरण आयोजन ढल्केबरका प्रमुख योगेन्द्र साहले बताए ।

किसनाले लगानीअनुसार दूधको मूल्य निर्धारण गर्नुपर्ने अवाज उठाइरहदा दुग्ध संस्थान उल्टै दूध संकलन गरी बिक्री गर्दा घाटा व्यहनु परेको छ । दूध वितरण केन्द्र, ढल्केबरले दैनिक २४ सय लिटर दूध संकलन गर्छ । दूध, दही, पनिरमा २ हजार लिटर दूध खपत हुन्छ । केन्द्रले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र उदयपुरबाट दूध संकलन गर्छन् ।

सरकारी संस्थानले कर्मचारी, प्रशोधन, संकलन, बिक्रीको समस्या देखाइरहदा निजी डेरी संस्थानभन्दा महँगोमा किसानबाट दूध खरिद गरी बेच्दा पनि फाइदामा छन् । महोत्तरी पिपरा गाउँपालिका रतनपुरका रामचन्द्र यादव साइकलमा दैनिक ५ लिटर दूध बेच्न जनकपुरको रमानन्द चोकमा आइपुग्छन् ।

जनकपुरको रमानन्दचोकस्थित जनकपुर डेरीमा यादव भैंसीको दूध प्रति लिटर ६५ रुपैयाँँ बेच्छन् । भैंसी पालेर गाउँबाट सहरमा दूध लिएर आउने किसान रामचन्द्र यादवकै अगाडि डेरी सञ्चालकले ग्रहकलाई ७५ रुपैयाँ प्रतिलिटर दूध बेच्छन् ।

घाँस, दाना, स्याहर गरी भैंसी पालेका किसानका लगानी र मिहनतकै केही क्षणमै मुनाफा व्यापारी पाउँछन् । जनकपुर डेरीमा दैनिक गाईको दूध लिएर आउनेमध्ये जनकपुर–८ का बिमल यादव पनि एक हुन् । मिलको दूध ६५ रुपैयाँ प्रतिलिटर खरिद गरी डेरी सञ्चालकले ७० रुपैयाँँ प्रति लिटर बेच्छन् ।

प्रकाशित : कार्तिक १८, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?