कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रेल्वेलाइनमा फ्लाइओभर भएन

शंकर आचार्य

पर्सा — मुलुकको प्रमुख स्थलनाका वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलमा रेल्वे लाइनमाथि फ्लाइ ओभर सडक नहुँदा समस्या भएको छ  । फ्लाइ ओभरको अभावमा रेलको आवागमन हुँदा घण्टांै रेल्वे ढाटले रक्सौल–वीरगन्ज आवागमन नै प्रभावित हुने गरेको छ  ।

रेल्वेलाइनमा फ्लाइओभर भएन

पछिल्लो समय रक्सौल रेल्वे स्टेशनमा यात्रुवाहक रेलको आवागमन बढेको छ । त्यस बाहेक रक्सौल र वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहमा आउने मालवाहक तथा कन्टेनर वाहक रेलको आवागमन पनि बढेकाले लामो समय रेल्वे ढाट झार्ने गरिएकाले समस्या झनै बढेको छ ।

यसले एक मुलुकबाट अर्को मुलुक आवागमन गर्ने मालवाहक सवारी साधन, यात्रु वाहक सवारी साधनदेखि पैदल यात्रुलाई समेतलाई सास्ती हुने गरेको छ । किनमेल गर्न एक अर्का मुलुकमा आउजाउ गर्ने सर्वसाधारण पनि घण्टौं जाममा बस्नुपर्ने भएको छ ।

विगतमा भारतीयहरू पनि किनमेलका लागि वीरगन्ज आउने चलन रहेकोमा पछिल्लो केही वर्ष नाकामा लाग्ने जामकै कारण उनीहरू पनि वीरगन्ज किनमेल गर्न आउने क्रम घट्दो छ ।

भारतीयहरू विशेष गरी वीरगन्जको आदर्शनगरमा चिनियाँ कपडा तथा इलेक्ट्रोनिक्स मालसामान किनमेल गर्न आउने चलन थियो । पछिल्लो केही वर्ष यता यसरी भारतीयहरू आउने क्रम निक्कै घट्दो छ ।

वीरगन्ज भन्सारको कामकाज चैतको तेस्रो सातादेखि आईसीपी भन्सार कार्यालयबाट समेत हुन थालेपछि वीरगन्ज भन्सार क्षेत्रमा मालवाहक सवारी साधनको भीडभाड बिगतभन्दा कम भएर केही सहज भए पनि भारतीय रेल्वे लाइनमा हुने अवरोधले भने सबै सरोकारवालालाई समस्या भएको छ ।

वीरगन्ज भन्सारस्थित सशस्त्र प्रहरी गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक तिलकबहादुर खडका रक्सौलमा रेल्वे ढाट लामो समय झारिएको बेला त्यहाँबाट लागेको जाम वीरगन्ज भन्सार क्षेत्र हुँदै रजत जयन्ती चोकसम्म पनि पुग्ने गरेको बताउँछन् । आईसीपी भन्सारबाट पनि कामकाज हुन थालेपछि नेपालको भन्सारतर्फ हुने भीडभाड कम भए पनि भारतबाटै सुरु हुने जामको समस्या भने यथावत नै रहेको उनले बताए । यस्तो बेला नाकामा लाग्ने जामको व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको उनको अनुभव छ ।

वीरगन्जका उद्योगी व्यवसायी पनि सीमामा रेल्वेको ढाटका कारण हुने गरेको जामका कारण आजित छन् । उनीहरूले व्यक्तिगत रूपमा मात्र नभई वीरगन्ज उद्योग वाणिज्य संघले पनि संस्थागत रूपमै पनि रक्सौलमा फ्लाइओभर तथा विमानस्थल निर्माणको माग लामो समयदेखि गर्दै आएका छन् । भारत सरकारका सरोकारवाला नेता, मन्त्री तथा कार्यालयहरूमा पनि पटकपटक यस्तो आशयको ध्यानाकर्षणपत्र संघले बुझाउँदै आएको छ । तर भारत सरकारले यसतर्फ खासै चासो देखाएको छैन ।

संघका बरिष्ठ उपाध्यक्ष गोपाल केडियाले संघले लामो समयदेखि भारत सरकारसँग रक्सौलमा फ्लाइ ओभर र विमानस्थल निर्माणको माग गर्दै आएको बताए । ‘रक्सौल र वीरगन्ज सहर भारत र नेपाल दुबै मुलुकका लागि मुख्य व्यापारिक नाका हो,’ उनले भने, ‘यो नाका सुचारु भए दुबै मुलुकको व्यापार तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्छ, त्यस कारण पनि भारत सरकारले आफ्नो मुलुकमा रहेको समस्या अविलम्ब समाधान गर्नुपर्छ ।’

रक्सौल नजिकका भारतीय सहरहरू मोतिहारी, मुजफ्फरपुर, बेतिया आदि सहरहरूमा समेत भारत सरकारले फ्लाइओभर निर्माण गरिसकेको छ । तर रक्सौल जस्तो ठूलो र बढी यातायातका साधन चल्ने सहर भने अझै फ्लाइओभरविहीन नै छ ।

रक्सौलस्थित राष्ट्रिय जनता दलका युवा नेता फखरुद्दिन आलम रक्सौल नेपाल–भारत व्यापारको मुख्य नाका भएकाले यहाँ कम्तीमा एउटा फ्लाइ ओभर हुनुपर्नेमा हालसम्म भारत सरकारले त्यसतर्फ पहल नगर्नु दु:खद भएको बताउँछन् । ‘यसले नेपाललाई मात्र नभई भारतलाई पनि घाटा भइरहेको छ,’ उनले भने, ‘नेपालको आयात सहज हुन्छ भने भारतको निर्यात पनि सहज हुन्छ, भारत सरकारले आफ्नो प्रमुख बजारलाई लामो समय अवमूल्यन गरेर बस्नु हुन्न, एउटा फ्लाइओभरका कारण आयात निर्यात व्यापार नै असहज भइरहेको छ भने त्यो पक्कै पनि चिन्ताको विषय हो ।’

प्रकाशित : कार्तिक १८, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?