समाचकेवाको मुर्ती भित्र्याइँदै

पवन यादव

सिमरा — तराईको प्रसिद्ध लोक पर्व समा चकेवा मनाउन बारा सदरमुकाम कलैया लगायत जिल्लाको ग्रामिण भेकमा अहिले समा चकेवाको कलात्मक मुर्ती घर घरमा भित्रियाउन थालिएको छ ।

समाचकेवाको मुर्ती भित्र्याइँदै

माटोले बनाईएको उक्त मुर्ती लिएर गाउ गाउमा आईपुगेका कुम्हालबाट किशोरीहरुले प्रतिगोटा नगद २५ रुपैयाँ वा सो रकम बराबर अन्न दिएर खरीद गरीरहेका छन ।

एका बिहानै कांधमा समा चकेवाको भरिया बोकेर कलैया उपमहानगरपालिका १६ उत्तरझिटकैयामा पत्रहट्टीबाट एक कुम्हाल आई पुगेका थिए । उनको कांधमा रहेको भरिया समा चकेवाको स साना मुर्तिले भरिएको थियो । उनी गाउमा प्रवेस गरेसंगै स साना बालबालिकाहरु समा चकेवा आयो भन्दै खुशीले हौसिएका देखिन्थे ।

गाउका अधिकांसलाई पायक पर्ने स्थानमा उनी भरिया राखेर पहिला सुस्ताए । आफ्नो घरबाट उनी झन्डै ३ घण्टाको पैदल दुरी तय गरेर मुर्ती बेच्न परको गाउमा आई पुगेका थिए । ‘सिजनको बेलामा यस्तो मुर्ती निर्माण गर्छौ,’ मुर्ति बेच्न आएका विश्वनाथ कुम्हालले भने, ‘पर्व सुरु हुनु अगावै बिक्री गरीसक्नु पर्छ ।’ समयमा बिक्री गर्न नसकिए लगानी खेर जाने उनले बताए ।

उनी लामो समय देखी सिजनलाई लक्षित गरी समाचकेवाको मुर्ती बनाएर बिक्री गर्दै आएको बताउछन । माटोको भाडा कुडा, मुर्ती, दियो लगायत निर्माण गर्ने उनको पुख्र्यौली पेसा हो । पुख्र्यौली पेसाबाट जिवन निर्वाह गर्न सक्ने अवस्था नरहे पनि माग अनुसारको सामा निर्माण गरी पुर्‍याउदै आएको उनले बताए ।

आफ्नो उत्पादनलाई छिटो भन्दा छिटो बिक्री गर्न समा चकेवाको कलात्मक माटोको मुर्ति घुमाएर बिक्री गर्न थालेको उनले बताए । उनले उत्तर झिटकैयामा मात्र ३२ वटा भन्दा बढी समा चकेवाको मुर्ति एकै छिनमा बिक्री गरेको जानकारी दिए । पहिलाको तुलनामा मुर्तिको लगायत माटोको भाडोको व्यपार घटेको उनले जानकारी दिए ।

प्रत्येक वर्ष गोवद्र्धन पुजा देखी कार्तिक पुर्णिमा सम्म स्थानीय किशोरीहरु समाचकेवा उक्त मुर्ति राखेर समा चकेवा लोक पर्व मनाउछन । समा चकेवा लोक पर्व मनाउन उत्तरझिटकैयाकी १४ वर्षिया किशोरी मुनिया कुमारी ठाकुरले समा चकेवाको २ वटा मुर्ति एक्लैले खरीद गरीन । उनको समुहमा अन्य ४ जना किशोरीहरु सामेल रहेका छन । उनीहरुले पनि एक/एक वटा मुर्ति किनेको उनले जानकारी दिईन ।

‘पहिला जस्तो धेरै समा चकेवाको मुर्ति किन्दैनन,’ उनले भनिन, ‘पहिला धेरैले सामचकेवाको मुर्ती किन्थे ।’ अहिले १६ वर्ष मुनिका किशोरीले मात्र समा चकेवा खेल्छन । ठुलाहरु खेल्दैनन । त्यसैले अहिले आएर मुर्तीको माग कम हुदै गएको उनले जानकारी दिईन ।

सोही ठाउकै अर्का किशोरी रंजिता कुमारी मण्डलले परम्परागत रुपमा मनाईदै आएका धेरै लोक पर्व लोप हुदै गएको बताईन । ‘समा चकेवा प्रति पनि धेरैको चासो छैन,’ उनले भनिन, ‘पहिला बढी उमेरका किशोरी र महिलाले पनि मनाउथे, अहिले मनाउदैनन ।’ हामी कलिाला किशोरीहरुले यो मौलिक पर्वलाई धानेका छौं । गाउका युवा पुस्ताले ध्यान नदिए यो पर्व पनि अरु लोक पर्व जस्तो लोप भएर जाने उनको बुझाई छ ।

‘लोक पर्व हाम्रो पहिचान हो, त्यसैले यसलाई जिवन्त राख्नु पर्छ,’ उनले भनिन, ‘पहिचानको लागी सबैले आन्दोलन गर्छन तर पहिचान झल्काउने लोक पर्वको जगेर्णा गर्दैनन ।’ मधेशको पहिचान र संस्कृति झल्काउने लोक पर्वलाई जोगाउनै पर्नेमा उनको जोड छ ।

लोक पर्वलाई मनाउन अहिले देखी नै किशोरीहरु तयारीमा लागेको गाउका बृद्धा ७५ वर्षिय भुवन रात अहिरले बताए ।

‘पहिला पहिला त अन्नबाट नै समा चकेवाको मुर्ती किन्थे,’ उनले भने, ‘नगद हेर्नै मुश्किल पथ्र्यो ।’ तर अहिले सबैसंग पैसा सहज उपलब्ध भएकोले अन्न भन्दा पैसाले नै मुर्ती खरीद गर्ने गरेको उनले बताए । पहिला पहिला जोडतोडका साथ श्रद्धा पुर्वक समा चकेवा मनाउने गिरिन्थ्यो । अहिले यो पर्व मनाउन कसैले चासो नदेखाएको उनले गुनासो गरे । युग परिवर्तनसंगै रिती संस्कृती समेत परिवर्त हुन थालेकोमा उनले चिन्ता व्यक्त गरे । तराई मधेशमा खासगरी मधेशी र थारु समुदायका किशोरीहरु समा चकेवा लोक पर्व मनाउने गर्दछन् ।

प्रकाशित : कार्तिक २२, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?