१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कलैया उपमहानगर दुर्गन्धित

लक्ष्मी साह

बारा — फोहोरको दुर्गन्धले नगरवासी पीडित मात्र नभएर, रोग संक्रमणको त्रासमा पुगेका छन् । मधेसमा छठपर्व लागिइसकेको छ । बजारमा चहलपहल बढेको छ । किनमेल गर्नेहरूको बजारमा घुइँचो लागेको छ ।

कलैया उपमहानगर दुर्गन्धित

बाहिरबाट पर्वमा घर फर्किनेहरूको लर्को देखिन्छ । दिपावलीसँगै मनाइने तिहार र छठ पर्वको दुई साताअघिदेखि नै घरआँगन लिपपोत र जलाशयको ठाउँ पोखरी, खोला र तलाउ सरसफाइ भइरहेको छ । तर पवित्रताको कसी मानिने यो पर्वको धुमधामसँग सबैतिर तयारी भइरहँदा कलैया उपमहानगरको मुख्य बजारमा नै सरसफाइको छाँट देखिएको छैन । चोक होस् वा गल्ली सबैतिर फोहरै फोहोर र चौपाया आतंक देखिएको छ । ‘मेयरदेखि कर्मचारीसम्म पुग्दा समस्याबारे सुनुवाइ छैन,’ कलैया १ का गेनालाल साहले भने ।

उपमहानगरपालिकाका वातावरण व्यवस्थापन शाखाका कर्मचारीले कार्यालयको आन्तरिक अवस्था नै भद्रगोल भएकाले बाहिरको अवस्था त्यस्तो हुनु स्वाभाविक नै ठान्छन् । ‘कार्यालयमा कुनै ‘सिस्टम’ छैन,’ वातावरण शाखाका नायब सुब्बा रामजी मण्डलले भने ।

वडा नम्बर १ स्थित श्री ३ चन्द्र माविसँगैको सडकमा ढल नै बगेको छ । ढलको व्यवस्थापनबारे उपमहानगरपालिकाले चासो नदिएको नगरवासीको गुनासो छ । ६ महिनादेखि ढलको कारणले पोखरी बनेको गुनासो गर्दा कोही कसैले जिम्मेवारी नलिएको कलैया १ का ७५ वर्षीय गंगालाल श्रेष्ठले बताउँछन् । उनकै घर अगाडि ढलले पोखरी बनेको छ ।

नगरका मेयर राजेश राय यादवले पर्वले पहिलाभन्दा अहिले फोहोर उत्पादन बढी भएकाले समस्या भएको बताउँछन् । ढल बगेकै छेउमा छठ पर्वका लागि स्वागत द्वार बनाइँदैछ । तर त्यहींको ढललाई मर्मत नगर्दा ढलको पानी जमेर कहिले बाटौ नै अवरुद्ध हुने गरेको छ । त कहिले त्यही पानी सर्वसाधारणको घरमा पस्न थालेको छ । र कहिले पोखरी झैं बनेको खाल्डोमा परी कैयौं दुर्घटना हुने गरेको छ । ढलको पानीले रोगको संक्रमण फैलिने त्यतिकै डर भएको त्यहाँका स्थानीय बासिन्दाहरू बताउँछन् ।

श्री ३ चन्द्र मावि र राम मन्दिरसँगैको पानीट्यांकी छेउमा जताततै फोहोरको डंगुर थुपारिएको देखिन्छ । बजारको अरू भागमा त्योभन्दा कम अवस्था छैन । फोहोरले सिंगो बजार क्षेत्रमा दुर्गन्ध फैलिएको छ । फोहोरको दुर्गन्ध थामि नसक्नुले नगरवासीहरू पीडित बनेका हुन् । चुनावबाट जनप्रतिनिधि चुनिएको वर्ष विते पनि कलैयाको मुख्य भरत चोकलगायत बजारको खाल्डाखुल्डी पुर्न सकिएको छैन ।

९६ सरसफाइकर्मी रहेको कलैया उपमहानगरको बजारमा छाडा ककुर, गाई, गधा र घोडाको आतंक फैलिएको छ । ‘जनप्रतिनिधि आएको एक वर्ष वित्दा पनि २९ वडामध्ये आधा दर्जन वडा रहेको कलैयाको मूल बजारमा पर्ने क्षेत्रको खाल्डाखुल्डी न पुर्न सकिएको छ, न त कुकुर, गधा, गाईबाच्छा, घोडासहितको चौपायाको व्यवस्थापन गर्न सकिएको छ,’ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साहले भने, ‘ढलको पानी बाटोमै बगिइरहेको छ । फोहोर नालाको त कुरै गर्न साध्य छैन ।’ उपमहानगरमा लाजमर्दो व्यवस्थापनले नगरवासी पीडित भएको उनको भनाइ छ ।

फोहोर उठाउँदा प्रयोग गरिने गेम्बु जुत्ता, पोसाक, पंजा र मास्क उपलब्ध गराउनुपर्ने माग राख्दै लामो समयदेखि सरसफाइकर्मीले संघर्षरत भए पनि उनीहरूको माग पूरा नभएकाले फाहोर उठाउन आनाकानी गर्ने गरेको उपमहानगरका कर्मचारीहरू बताउँछन् ।

प्रकाशित : कार्तिक २५, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?