मद्यपान छाड्न विद्यार्थीको आग्रह

‘१६ वर्षमुनिका केटाहरू मेरो पसलमा मदिरा पिउन आउने गर्थे, ‘मदिरा बिक्री–वितरणमा रोक लगाइएपछि आउन छाडेका छन्’
पवन यादव

सिमरा — बाराको कलैया उपमहानगरपालिका १६ उत्तरझिटकैयाका विद्यार्थीले कुलतमा फसेका आफ्ना अभिभावकलाई धूमपान–मद्यपान छोड्न भावुक आग्रह गरेका छन् । 

उत्तरझिटकैयमा एक निजी विद्यालयले आयोजना गरेको दिपावली तथा छठ पर्वको शुभकामना कार्यक्रममा विद्यार्थीहरूले धूमपान–मद्यपानले क्यान्सर लगायतका रोग निम्त्याउने गरेको भन्दै समयमै सचेत हुन आग्रह गरेका थिए । कक्षा ५ मा पढ्ने विद्यानगरकी किशोरी दिपीका कुशवाहाले धूमपान मद्यपानले लिन्छ ज्यान भने शीर्षकका सन्देशमूलक निबन्ध प्रस्तुत गर्दै अभिभावकलाई धूमपान–मद्यपानबाट टाढा रहन सचेत गराइन् ।


‘हाम्रा अभिभावकले धूमपान–मद्यपान दुबै सेवन गर्छन्,’ उनले भनिन्, ‘यसको सेवनाबाट हुने असरबारे धेरैलाई चेतना छैन ।’ हामीले स्कुलमा धूमपान–मद्यपान सेवन गर्दा लाग्ने रोग बारे पढेका छौं भन्दै उनले अभिभावकलाई अकाल मृत्युबाट जोगाउन यसको सेवन नगर्न अनुरोध गरेको बताइन् । दिपीका जस्तै उनका अन्य सहपाठी र शिक्षकले पनि धूमपान–मद्यपान सेवन रोक्न अभियान चलाएका छन् ।


पछिलो समय गाउमा धूमपान–मद्यपान गर्नेको संख्या अत्यधिक बढेको विद्यापीठ इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेश कुमार यादवले बताए । ‘कलिलै उमेरमा बालबालिकाहरू गाँजा, चुरोट, मदिरा, गुट्खा सेवन गर्न थालेका छन्,’ उनले भने, ‘गाउँका युवा तथा बालबालिका बिग्रिन थालेका छन् ।’


लागूपदार्थ सेवनकर्ताको संख्या बढ्न थालेपछि यसलाई रोक्न अभियान थालिएको उनले बताए । युवा तथा बालबालिकालाई देशको कर्णधार भनिन्छ । देशलाई डोर्‍याउने युवा बालबालिका कुलतमा फसेर जिवनलाई धरापमा पार्न थालेको उनले जिकिर गरे । गाउलाई नै धूमपान–मद्यपान रहित क्षेत्र बनाउन आफूहरू सक्रिय भएको उनले जानकारी दिए ।


गाउँमा सानै उमेरका केटाहरू गाँजा, मदिरा, चुरोट सेवन गरी बदमासी गर्न थालेको घटना बढेपछि गाउँलाई नै धूमपान–मद्यपान निषेधित क्षेत्र घोषणा गरिएको वडा सदस्य ओमप्रकास यादवले बताए । ‘गाउँमा धूमपान–मद्यपान सेवन तथा यसको बिक्री वितरणमा रोक लगाएका छौं,’ उनले भने, ‘गाउँको सर्वपक्षीय भेलामा यस्तो निर्णय गरेका हौं ।’ गाउँमा यसको सेवन तथा बिक्री वितरण गर्ने जो सुकैलाई सामाजिक तथा कानुनी कारवाही गरिने चेतावनी समेत उनले दिए ।


मदिरा सेवन गरी हो हल्ला गर्ने केही व्यक्तिलाई सामाजिक कारवाही गरी सचेत गराइएको छ । गल्ती दोहोर्‍याउनेलाई कुनै माफी पाइँदैन । सामाजिक र कानुनी दण्ड हुन्छ । जनप्रतिनिधि पनि यसप्रति गम्भीर भएर लागेका छन् । विद्यार्थीहरूले गरेको सचेतना कार्यक्रमबाट समेत सामाजलाई फाइदा पुगेको उनले बताए ।


गाउँकै मदिरा पसल सञ्चालक योगेन्द्र पटेलले बालबालिकाले धूमपान–मद्यपान रोक्न गरेको अनुरोध पूरै समाजकै हितमा भएको बताए । ‘१६ वर्षमुनिका केटाहरू मेरो पसलमा मदिरा पिउन आउने गर्थे,’ उनले भने, ‘मदिरा बिक्री वितरणमा रोक लगाइएपछि आउन छाडेका छन् ।’

प्रकाशित : कार्तिक २६, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?