१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

घरलौरी रकमले गाउँमै स्नातक

भरत जर्घामगर

सिरहा — स्थानीयले घरलौरी रकम सञ्चालन गरेर सप्तरीको सुरुंगा नगरपालिका १ स्थित शिशुवारीमा स्नातक तहसम्म कक्षा हुने क्याम्पस सञ्चालन गरेका छन् । 

सिरहा, सप्तरी र उदयपुरका बहुसंख्यक बिपन्न परिवारका विद्यार्थीले आर्थिक अभावमा उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छ वर्षदेखि घरलौरी रकम उठाएरै क्याम्पस सञ्चालन गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजकुमार राउतले बताए । उनका अनुसार त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा शिशुवारी क्याम्पसमा स्नातक तहतर्फ चार वर्षे शिक्षा संकाय र +२ तर्फ वाणिज्य तथा शिक्षा विषयको अध्यापन भइरहेको छ ।


जिल्ला सदरमुकाम राजविराज, सिरहाको लहान र उदयपुरको गाईघाट तीन वटै ठाउँका बिपन्न विद्यार्थीहरूले आर्थिक रूपले पढ्न नसक्ने भएपछि गाउँमै क्याम्पस सञ्चालन गरिएको क्याम्पसका संस्थापक अध्यक्ष रामबहादुर राउतले सुनाए । गाउँमा क्याम्पस सञ्चालनका लागि स्थानीयले घरलौरी र व्यक्तिगत रूपमा १० हजार रुपैयाँ नगददेखि ३ लाख रुपैयाँसम्मको जग्गा दान दिएका छन् ।


स्थानीय नारायणप्रसाद पराजुलीले अहिलेको बजार मूल्य अनुसार करिब ३ लाख रुपैयाँ बराबरको २ कठा जग्गा क्याम्पसको नाममा रजिष्ट्रेशन गरिदिएका छन् । स्थानीय गाउँले, सांसद्, छिमेकी उदयपुर र सिरहाका मनकारीहरूले १० हजारदेखि ५१ हजार रुपैयाँसम्म नगद सहयोग गरेको क्याम्पस प्रशासनले जनाएको छ ।


अध्यक्ष राउतका अनुसार क्याम्पस सञ्चालनका लागि सुरुंगा नगरपालिका क्षेत्रका सामान्य किसानदेखि सरकारी सेवामा कार्यरत कर्मचारी, सर्वसाधारण, शिक्षक, विद्यालयहरूले आर्थिक सहयोग गरेका छन् । क्याम्पसका लेखापाल ज्ञानेन्द्र धमलाका अनुसार स्थानीयले ६ वर्षको अवधिमा १३ लाख रुपैयाँ नगद, सुरुंगा नगरपालिकाले १० लाख, १ नम्बर वडा कार्यालयबाट १ लाख ५० हजार र २ नम्बर वडाले ५० हजार आर्थिक सहयोग गरेका छन् ।


‘क्याम्पसको आफ्नै भवन छैन, स्थानीय जनता माविले बनाइदिएको भवनमा दाताहरूले गरेको आर्थिक सहयोगको भरमा क्याम्पस चलाइरहेका छौं,’ क्याम्पस प्रमुख धनबहादुर कटुवालले भने, ‘शिक्षकहरूले समयमा तलव नपाए पनि दु:ख झेलेरै नियमित कक्षा सञ्चालन गर्दैछौं ।’ उनका अनुसार स्नातकतर्फ नेपाली, अंग्रेजी र जनसंख्या विषय र १०+२ तर्फ शिक्षा र व्यवस्थापन संकायको कक्षा चलाउन तीन पूर्णकालीन र १० जना आंशिक शिक्षकहरूले मिहेनत गरिरहेका छन् ।


‘पछिल्लो साउनदेखि असोजसम्मको कसैले पनि तलव पाएका छैनौं’, उनले भने ‘गाउँठाउँकै लागि हो भन्दै पढाउँदै छौं ।’ अहिले क्याम्पसमा बिपन्न परिवारका स्नातकतर्फ १ सय ५० र +२ तर्फ ३ सय गरी साढे ४ सय विद्यार्थी अध्ययनरत छन् ।


प्रदेश सभा सदस्य गोविन्द न्यौपाने, रुवी कर्णले क्याम्पसका लागि १ करोडको लागतमा भवन बनाइदिने प्रतिबद्धता जनाए । ‘क्याम्पसको व्यवस्थित पुस्तकालय, शौचालयका लागि आगामी मंसिरभित्र २५ लाख रुपैयाँ उपलब्ध गराउने छु’, मन्त्री साहले भने, ‘आर्थिक वर्ष २०७६/०७७ मा क्याम्पस भवन निर्माणका लागि एक करोड रुपैयाँ छुट्याइने छ ।’


पूर्व विद्यार्थी र सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले आधुनिक प्रविधिबाट शिक्षण सिकाइ सञ्चालनका लागि गाउँपालिकाबाट तत्काल ६ वटा प्रोजेक्टर उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : कार्तिक २६, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?