कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

तराई–मधेसमा खेल्दै समाचकेवा

‘दाजुभाइ–दिदी बहिनीको प्रेम सम्बन्ध झल्काउने पर्व हो समाचकेवा, यसले माया स्नेह बढाउँछ’
पवन यादव

सिमरा — दाजु–बहिनीको प्रेमको प्रतीकका रूपमा रहेको तराई मधेसको मौलिक पर्व समाचकेवाको रौनक बारामा छाएको छ । अहिले गाउँँगाउँँमा किशोरीहरू समूह/समूह बनाएर समाचकेवा खेल्न थालेका छन् । 

गोवर्धन पूजा (शुक्रबार) रातिदेखि उनीहरू समाचकेवा खेल्न थालेका हुन् । कार्तिक पूर्णिमासम्म खेलिने यस मौलिक पर्वले अहिले गाउँको रौनक बढाएको छ । यो पर्व विशेष गरी तराई मधेसका रौतहट, बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा, सप्तरी, धनुषा, महोतरी, नवलपरासी लगायत छिमेकी राष्ट्र भारत बिहारका विभिन्न गाउँ तथा सहरी क्षेत्रमा बसोबास गर्ने मधेसी तथा थारूमूलक अविवाहित किशोरीले मनाउने गर्छन् ।


द्वापरयुगमा भगवान् श्रीकृष्णले आफनो बाल्यकाल गोकुलमा बिताई मथुरामा आएपछि राधिका र भगवान् कृष्णका १६ हजार गोपिनीहरूले भगवान् कृष्णको सम्झनामा मनाउने समाचकेवा कालान्तरमा दाजु बहिनीको प्रेम र सदभावको मौलिक पर्वमा रूपान्तरित भएको कलैया उपमहानगरपालिका १६ उत्तरझिटकैयाका पुरोहित नन्दकिशोर मिश्रले बताए ।


‘यो पर्वमा पहिला दाजुलाई गीतिशैलीमा बहिनीले मार्ने र फेरि गीति शैलीको माध्यमले नै जीवित बनाउने गर्छन्,’ उनले भने, ‘यस दृश्यलाई सर्वसाधारणले अभिरुचिपूर्वक अवलोकन गर्ने र गीत सुन्ने गर्छन् ।’ आफूले पनि अभिरुचिपूर्वक किशोरीहरूले गाएको समाचकेवाको लोकगीत सुन्ने गरेको उनले बताए ।


दुई सातासम्म मनाइने यस सांस्कृतिक पर्वमा रातको समयमा गाउँ घरका खासगरी कुमारी कन्याहरू एकत्रित भई माटोले बनाइएको मूर्तिहरूको लोकगीत गाएर पूजाआजा गर्ने गर्दछन् । पर्वको अन्तिम दिन पूर्णिमाको रातमा उक्त मूर्तिहरूलाई परम्परागत गीत गाउँदै फुटाउँछन् । अनि गाउँ घर नजिकको नदी, जलाशय, पोखरी, सरोवरमा लगी सेलाएर आफ्ना दाजु भाइहरूलाई मिठाई पकवान आदि खुवाएर यो पर्व विधिवत रूपमा सम्पन्न गर्छन् ।


मूर्ति सेलाउने दिन किशोरीहरूले आआफ्नो अभिभावकबाट संकलन गरेको भेटीलाई एकत्रित गरी त्यसबाट दूध, चिनी, तरकारीको परिकार खरिद गर्छौं,’ कलैया उपमहानगरपालिका २ औधापुरकी किशोरी सोनी कुमारी ठाकुरले भनिन्, ‘घरमा उपलब्ध भएको चामल संकलन गर्छौं र पकाउँछौं ।’ यसरी पकाएको परिकार आफूसँगै गाउँका दाजुभाइलाई समेत बोलाएर श्रद्धापूर्वक खुवाउने गरेको उनले बताइन् ।


समाचकेवामा चकेवा (दाजु), समा (भाउजु), खिडलिच (बहिनी), बृन्दावन र चुङ्गला (भाइहरू) समेत गरी पाँच जनाको रंगीन मूर्तिहरू कुशले बनाइएको रंगीन भाँडोमा राखेर गाउँभरि घुमाएर घरघरै अन्न, नगद उपहारस्वरूप संकलन गर्ने गरिएको उनले जानकारी दिइन् ।


पर्वको अन्तिम दिन भेटीस्वरूप उठेको अन्नपात र नगदबाट भोजभतेर गरी गाउँभरिका मान्यजन र इष्ट मित्रहरूलाई एकत्रित गरेर खाने खुवाने चलन रहिआएको अर्का किशोरी खुशबु कुमारीले बताइन् । उक्त अवसरमा नाचगान गरेर मनोरञ्जन गर्ने चलन समेत रहेको उनले जानकारी दिइन् ।


यस पर्वका अवसरमा तराईका अधिकांस गाउँमा आर्केष्ट, लवण्डा नाच, बिहुलाको नाच, ड्रामाको आयोजना गर्ने गरिएको बारा उत्तरझिटकैयाकी किशोरी राधिका कुमारी मण्डलले बताइन् । ‘हामीले नाच नचाउने व्यवस्था मिलाएका छौं,’ उनले भनिन्, ‘त्यसको लागि गाउँबाट चन्दा संकलन गरेका छौं ।’ यस पर्वमा मूर्तिहरूको अलावा केसार, फूल, कचो, चुलेसी, गाजल बनाउने भाँडो (कजरौटा) आदि प्रयोग हुने गरेको उनले बताइन् ।


दाजु बहिनीको रक्त सम्बन्धलाई प्रगाढ बनाउँदै यस पर्वको एक पात्र चुङ्गलाको खराब छविलाई इङ्गित गर्दै उसको कृतिम दाडी जुङ्गा जलाउँदै समा चकेवा खेल्ने गरिन्छ । लोपन्मुख रहेको यस पर्वलाई जिवन्त राख्नका लागि सबै सचेत हुनुपर्ने बेला आइसकेको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बताए ।


‘दाजुभाइ र दिदीबहिनीको प्रेम सम्बन्ध झल्काउने पर्व हो समाचकेवा,’ उनले भने, ‘यसले माया स्नेह बढाउँछ ।’ विस्तारै हामीले लोकसंस्कृति झल्काउने यस्ता चाडपर्व हराउने क्रम बढेको उनको बुझाइ छ । सबैले आआफ्नो संस्कतिलाई झल्काउने चाडपर्वको जगेर्ना गर्नुपर्ने उनले जोड दिए ।

प्रकाशित : कार्तिक २६, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?