कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लेखनदासको मिलेमतोमा किर्ते

लेखनदास गुप्तालाई अदालतले पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ
लक्ष्मी साह

बारा — जग्गा खरिदबिक्री गर्ने लिखत (रजिष्ट्रेसन फारम) बाटै लेनदेन मुद्दा गरिएको पाइएको छ । बारा जिल्ला मालपोत तथा भूमिसुधार कार्यालयमा जग्गा पास गराउन भरिएको फारमबाट जग्गै पास नगराई त्यही फारमबाट जिल्ला अदालत पर्सामा लेनदेन मुद्दा गरिएको पाइएको हो ।

फारममा लिनेदिनेले सहीछाप गरेर फारमबाट जग्गा पास नगराई त्यतिकै छाडेपछि उक्त फारम तमसुक सरह हुने कानुनी व्यवस्था छ ।


जग्गा लिनदिन सहीछाप गराई जग्गाको १ करोड १० लाख (पछिबाट थपेर) रुपैयाँ थैली राखेर वीरगन्जकी प्रतिमा मिश्र सिंहले कलैया ४ की गीतादेवीमाथि पर्सा जिल्ला अदालतमा गत २०७५ जेठ २७ मा मुद्दा गरेकी हुन् । मुद्दाको समन आउँदा गीताले त्यसो गरिएको थाहा पाएकी थिइन् । किर्ते गरी फारम भरेको आरोपमा बारा जिल्ला अदालतले जिल्लाको फेटा गाउँपालिका ५ का लेखापढी व्यवसायी सुरेश गुप्तालाई पुर्पक्षको लागि गत असोज ११ मा थुनामा पठाउने आदेश दिएको छ ।


जग्गा बिक्री गर्ने गीतालाई झुक्याएर फारममा विवरण भराई सहीछाप गराएको आरोपमा थुनामा पठाउने आदेश भएको स्रेस्तेदार कौश्लेश्वर ज्ञवालीको भनाइ छ । ‘जग्गा खरिदबिक्री गर्ने लिखतबाट लेनदेन मुद्दा गर्ने बिरलै पाइन्छ,’ अदालतका स्रेस्तेदार ज्ञवालीले भने, ‘जसको नियत खराब हुन्छ । प्राय: त्यसैले यस्तो मुद्दा गर्छ ।’ जिल्लाको हकमा यो नौलो र अनौठो घटना भएको उनले बताए ।


यसरी झुक्याए

भारत, रक्सौलका सन्तोष दास कलैया उपमहानगर(४ का रंजित चौधरीसित व्यापारिक सम्बन्ध जोडे । रंजितले सञ्चालन गरेको चिरान मिलबाट कमाउने उद्देश्यले उनले रंजितलाई ५० लाख दिए । व्यवसायमा नाफा भएन । त्यसैले रंजितले लिएको रकम परा फिर्ता गर्न सकेन । रकममध्ये १४ लाख मात्र फिर्ता गरे ।

रुपैयाँ फिर्ता गर्न नसकेपछि रंजितले आफ्नी आमा गीता देवीलाई मालपोत लगे, साविक गन्जभवानीपुर ५ मा रहेको कित्ता नम्बर १२५७ को १ कठ्ठा १९ धुर ११ कन्वा जग्गा सन्तोषको नाममा पास गर्न । तर सन्तोष नेपाली नागरिक नभएकाले उनले आफ्ना विश्वासपात्र वीरगन्जको प्रतिमा मिश्र सिंहकी नाममा पास गर्ने सहमति दिए ।


सहमति अनुसार लिखत फारम (रजिष्ट्रेसन फारम) भरियो । थैली कति र जग्गाको क्षेत्रफल फारममा उल्लेख गरिएन । पछि सन्तोषले थैलीको रकम नपुगेकोले लिखत आफैं बोकेर गए, जुन लिखतमा गीताले सहीछाप गरिसकेकी थिइन् ।


भोलिपल्ट उनी मालपोतमा जग्गा पास गराउन फेरि आएनन् । बरु त्यही लिखतमा १ करोड १० लाख थैली र ३५५ नम्बर कित्ताको साढे तीन कठ्ठा अर्को पनि जग्गा थपेर (किर्ते गरी) पर्सा जिल्ला अदालतमा असुलउपर गर्न गीतामाथि प्रतिमाबाट लेनदेन मुद्दा गराए । प्रतिमा मिश्र सिंहको नामले गरिएको मुद्दाको समन गीता कहाँ पुगेपछि उनी झस्किइन् । र प्रहरीमा उजुरी दिइन् ।


त्यसपछि लिखतबाट लेनदेन मुद्दा गरिएको रहस्य खुल्यो । प्रहरीले लेखनदास गुप्तालाई पक्राउ गरी मुद्दाको अनुसन्धान गरी सरकारी वकिलमा पेस गर्‍यो । सरकारी वकिलको कार्यालयले लेखनदासकै मिलेमतोमा यो किर्तेको घटना भएको भन्दै अदालतमा मुद्दा दायर गर्‍यो । लेखनदास गुप्तालाई अदालतले पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ ।

प्रकाशित : कार्तिक २६, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?