कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वीरगन्ज चिनाउने आत्मकथा

कान्तिपुर संवाददाता

पर्सा — मुलुकको प्रवेशद्वार तथा आर्थिक राजधानीका रूपमा चिनिने वीरगन्ज सहरका बारेमा यसअघि पुस्तक नलेखिएका होइनन् । तर यसपटक भने वीरगन्ज गाथा भिन्न रूपमा आएको छ ।

शनिबार साँझ वीरगन्जमा बिमोचन गरिएको यहाँका दिवंगत उद्यमी भगवति प्रसाद टेमानीको आत्मकथाले वीरगन्ज सहरको उत्पत्तिदेखि हालसम्मको आरोह अवरोहका कथालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । हिन्दीमा लेखिएको ‘मै और मेरा वीरगन्ज’ (म र मेरो वीरगन्ज) आत्मकथाको उनै भगवति प्रसादको पहिलो पुण्यतिथि पारेर यहाँ बिमोचन गरियो ।


टेमानी फाउन्डेशनले प्रकाशन गरेको पुस्तकको बिमोचन उद्यमी बाबुलाल चाचान, प्रदेश सभा सदस्य एवम् वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा र वीरगन्जका मेयर बिजय कुमार सरावगीले संयुक्त रूपमा गरे । टेमानीका कान्छा छोरा अशोक टेमानी, उद्यमी एवम् साहित्यकार गणेश लाठ र प्राध्यापक सचिदानन्द सिंहले संयुक्त रूपमा टेमानीसँग साक्षात्कार गरी लिपिबद्ध गरेर यो आत्मकथा तयार पारिएको हो ।


आत्मकथा तयार भए लगत्तै टेमानीले गत बर्ष ९१ ब्वर्षको उमेरमा देहत्याग गरेका थिए । सादा जीवन उच्च विचारका धनी उद्यमीका रूपमा चिनिने भगवती प्रसाद आफूलाई किसान भन्न रुचाउथे । उनी माटोसँग जोडिएको कृषि कर्ममा बढी रुचि राख्थे । हरपतगन्ज गाउँमा लामो समय किसानकै माझमा बिताएका उनी किसानको सुखदु:खमा साथ दिने गर्थे ।


बिमोचन समारोहमा चाचानले आफूभन्दा एक दशक जेठा भगवति प्रसादको नजरले देखेको वीरगन्जको उत्थानको कतिपय पक्षसँग आफू पनि अनभिज्ञ रहेकोमा पुस्तकबाटै जानकारी पाएको बताए ।


मेयर सरावगीले पुस्तकबाट वीरगन्ज निर्माणको प्रक्रियाबारे आफूलाई पर्याप्त जानकारी पाएको बताउँदै यसले आफूलाई भविष्यमा वीरगन्जको विकासका लागि काम गर्न सहज हुने बताए । सांसद शर्माले आफ्नो जन्मअघिको वीरगन्जको दृश्य पुस्तकबाट झल्किएको बताए ।


साहित्यकार एवम् उद्यमी गणेश लाठले पुर्खाको अनुभव संगालेर यसरी आत्मकथाका रूपमा सार्वजनिक गर्नु अत्यन्त सराहनीय कार्य भएको बताए । यसले पुर्खालाई सम्मान मिल्ने र वर्तमान तथा आउँदो सन्ततिले आफ्नो सहरका बारेमा पर्याप्त जानकारी समेत पाउने उनले बताए ।


हिन्दी साहित्य परिषदका पूर्वअध्यक्ष ओमप्रकाश सिकारियाले यो पुस्तक आत्मकथासँगै संस्मरण र साक्षात्कारका रूपमा समेत रहेको बताए । प्राध्यापक सुषमा तिवारीले भगवित प्रसादको जीवनकालमै यो पुस्तक आएको भए झनै सार्थक हुने बताइन् ।


टेमानी फाउन्डेशनका अध्यक्ष एवम् भगवति प्रसादका छोरा अशोक टेमानीले आफूले पितासँगको साक्षात्कारबाटै एक सय २५ वर्षअघिसम्म पनि वीरगन्ज सहरको अस्तित्व नरहेको जानकारी पाएको बताए । ‘उति बेला वीरगन्ज सहर नै थिएन, छपकैंया, श्रीपुर, रामटोल आदि गाउँको अस्तित्व थियो, पछि यी गाउँ एकीकृत गरेर वीरगन्ज सहरको जग बसालियो,’ उनले भने, ‘एक सय २५ वर्षअघि भारतको राजस्थान तथा अन्य सहरबाट तत्कालीन श्री ३ महाराज वीर शमशेरको आग्रहमा मारवाडी व्यवसायीहरू यहाँ व्यवसाय गर्न आएका थिए, पछि रक्सौल अमलेखगन्ज रेल सेवा सन्चालनमा आएपछि यहाँ व्यापार व्यवसाय फस्टाएको थियो ।’


समारोहका वीरगन्जका अग्रज उद्यमी व्यवसायीहरू मुरलीधर रूंगटा, महावीर पटवारी, हिरालाल केडिया, रामअवतार खण्डेलवाल, बाबुलाल चाचान, मधु राणा, उषा शाह, पशुपति विक्रम शाहलाई सम्मानित समेत गरिएको थियो ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?