कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आफैं व्रतालु आफैं पुजारी

भूषण यादव

वीरगन्ज — नेपालीजनको हरेक चाड पर्वमा पुजारीको आवश्यकता पर्छ । भगवान् र भक्तजनको मिलन पुजारीले गराउँछन्, सम्पकर् सेतुका रूपमा । तर, छठ पर्व मात्र एउटा यस्तो पर्व हो जहाँ भक्तजनले सीधै भगवानको पूजा गर्छन्, अर्घ अर्पण गर्छन् । 

श्रद्धा, भक्ति तथा धार्मिक सहिष्णुताको संयुक्त मिलन मानिने लोकपर्व छठ आइतबारदेखि सुरु भएको छ । व्रतालुले मगंलबार अस्ताउँदो सूर्यलाई र बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएर यो महान् पर्व मनाउँदै छन् । चार दिनसम्म मनाइने पर्वको दोस्रो दिन सोमबार दिनभरि निराहार रही साँझ सक्खरबाट बनेको खिर र रोटी सेवन गर्छन् । तिहार समापन लगतै सुरु हुने छठ पर्वका लागि पूजा सामग्रीहरू एकीकृत गर्न व्रतालुमा चटारो छ ।


काठमाडौँ, पोखरा, नारायणगढ र छिमेकी मुलुक भारतको दिल्ली, पन्जाब, हरियाणा लगायतका सहरमा मजदुरी गर्न गएका आफन्तहरू घर फर्केका छन् । केही फर्किने क्रममै छन् । जलासय किनार चिटिक्क पारिएका छन् । छठको प्रारम्भ भएदेखि छठको गुन्जिने लोकभाका वीरगन्जको सहर, गल्ली, पसल तथा स्थानीय एफएमहरूमा समेत गुन्जिन थालेका छन् ।


छठी मैया र सूर्य आराधनासम्बन्धी गीत अत्यन्तै मौलिक र लोकप्रिय हुन्छन् । छठको तयारीदेखि समापनसम्म हरेक चरणमा गीत गाइन्छ । महिलाले सामूहिक रूपमा गाउने परम्परा भए पनि पछिल्लो समयमा यी गीत सिडीमा उपलब्ध हुने गरेका छन् ।


धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव एवं सहिष्णुताको प्रतिवम्बका रूपमा स्थापित छठ पर्व सबै जातजाति, धर्म र सम्प्रदायको साझा आस्था र विश्वासको केन्द्रका रूपमा रहेको छ । छठ पर्वका लागि चाहिने पूजा सामग्री केरा, कोनिया, नरिवल, अदुवा, सख्खर, ल्वाङ, सुकमेल, छोहडा, सुपारी पान, अलैची मरिच, निम्बु, बाँसको सुपली तथा माटोका भाँडा खरिद गर्नेहरूको भीड अत्यधिक रहेको छ ।


पूजन सामग्रीको मूल्य आकासिएका कारण व्रतालु मारमा परेका छन् । पर्वका बेला बजार व्यवस्थित नहुँदा र मूल्य नियन्त्रित नहुँदा ब्रतालु मारमा परेका हुन् । पर्वमा चाहिने पूजा सामग्रीहरू सडकपेटीमै बसेर बेच्न थालेपछि बाटो अवरूद्ध हुँदा आवतजावतमा कठिनाइ भोग्नुपरेको छ ।


पारिवारिक सुख, समृद्धि र शान्तिको कामनाका लागि मनाइने छठमा श्रद्धालुहरू सूर्य देवतासँग पूजा गर्छन् । यसका अलावा आफ्नो दु:ख, कष्ट र रोगव्याधीको नास होस् भन्ने कामनाका साथ पनि यो पर्व मनाइन्छ । पूजा सामग्री, ढकी, डाला, माटाका हात्ती, केराको घरी, नैवेद्यका रूपमा भाती भातीका परिकार तथा फलफूलहरू समावेश गरिन्छ ।


छठका प्रमुख पकवानहरूमा ठकुवा, भुसुवा, खजुरी र पेरूकीया उल्लेखनिय छन् । यो समस्त जातजातिले मनाउने पर्व पनि हो । समान रूपमा एउटै पोखरी वा जलासयको किनारमा सूर्यको पूजा गर्ने चलन जातीय समन्वयको ज्वलन्त उदाहरण हो । समाजमा जातीय छुवाछूत र भेदभाव अझै पनि यथावत् छ ।


छठ पर्वमा प्रयोग गरिने सुपली, ढकी, ढाला निर्माणमा दलित समुदायको सहभागिता हुन्छ । यसले सामाजिक सद्भाव र सामञ्जस्यको सन्देश दिन्छ । तराईवासीको पर्व भनेर चिनिए पनि छठमा पहाडी समुदायको सहभागिता र आकर्षण बढदो छ ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?