१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

छठमय तराई–मधेस

स्थानीय उत्पादनको प्रयोगमा अर्थविदहरूको जोड 
स्थानीय कृषि उत्पादन, बाँस र माटाका भाँडाको प्रयोगले स्थानीय सिल्पी तथा किसानहरू लाभान्वित हुन्छन् । 
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले मनाइने सूर्य आराधनाको यस पर्वलाई ‘छठ’ भन्ने चलन छ ।
प्रदेश ब्युरो

जनकपुर — पुत्र, पति र परिवारको कल्याणको कामना गरिने छठपर्व मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाइँदैछ । चार दिनसम्म हुने छठपर्वको रौनकले तराई–मधेसलाई छोपेको छ । बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठपर्वको समापन हुन्छ । 

छठमय तराई–मधेस

छठपर्वमा स्थानीय स्तरमा उत्पादन हुने केरा, नरिवल, उखु, सुन्तला, बेसारसँगै चामल र गहुँको आँटा तथा गुँडबाट निर्मित ठकुवा, भुसुवा, पिरूकिया, गुणालगायतका परिकार प्रसादका रूपमा चढाइन्छ । पूजा सामग्रीहरू स्थानीय स्तरमा निर्मित माटाको भाँडो तथा बाँसको टोकरी, राखेर पूजास्थलसम्म पुर्‍याउने परम्परा छ । यसरी स्थानीय कृषि उत्पादन, बाँस र माटाका भाँडाको प्रयोगले स्थानीय सिल्पी तथा किसानहरू लाभान्वित हुन्छन् ।


तर पछिल्लो समय माटाका भाँडा तथा बाँस निर्मित वस्तुको सट्टा पितल, प्लास्टिक तथा हुनेखाने परिवारका व्रर्तालुले चादीका भाँडाको प्रयोग समेत गर्न थालेका छन् । पूजा सामग्री निर्माणका क्रममा घिउको स्थानमा आयातित तेल तथा माटोको दियोको स्थानमा विद्युतीय दियोको प्रयोग हुन थालेको छ ।

अर्थविद प्राध्यापक डा.सुरेन्द्र लाभ मिथिलाञ्चलमा मनाइने छठपर्वमा स्थानीय उत्पादनको मात्र प्रयोग गर्ने चलन रहेको बताए ।


औद्योगिक क्रान्ति हुनुभन्दा धेरै अघि सुरु भएका यस्ता पर्व त्यौहारको लक्ष्य स्थानीय उत्पादनलाई टेवा दिनु पनि रहेको उनको कथन छ । ‘छठ पर्वमा प्रसादका रूपमा चढाउने ठकुवा, भुसुवा होस् कि केरा, नरिवल वा दूध, पूजा सामग्री ओसारपसार गर्न प्रयोग हुने बाँस र माटोको भाँडा सबै स्थानीय उत्पादनहरू हुन् ।


यसको विकल्प खोज्नु भनेको पर्वको मौलिकता गुमाउनु हो,’ प्राडा लाभले कान्तिपुरसँग भने ।

छठ मान्न ओइरो काठमाडौं चन्द्रागिरि नगरपालिकाकी ४५ वर्षीया मुना निरौला छठ पर्व मान्न आइतबार बिहान वीरगन्ज आइपुगिन् । गतवर्ष काठमाडौंमै पहिलोपटक व्रत लिएकी उनले यसवर्ष मधेसमै पूजा गर्ने तयारीमा छिन् ।


उनी जस्ता थुप्रै व्रर्तालुहरू छठ पर्व मान्न पहाडका विभिन्न जिल्लाबाट मधेसका गाउँ/सहर झरेका छन् । दशकयता पहाडी समुदायले पनि यो पर्व मान्ने क्रम बढेको छ । मधेसको महान पर्व छठको विधि आइतबारबाटै सुरु भएको छ । उल्लासमय वातावरणमा मनाइने यस पर्वको पहिलो दिन आइतबार व्रतालुहरू नुहाएर चोखो भई आफंैले बनाएको सात्विक भोजन गरेका छन् ।


पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने सूर्य आराधनाको यस पर्वलाई ‘छठ’ भन्ने चलन छ । यो पर्वलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठी मइया पूजा पनि भन्ने गरिन्छ । यो व्रत लिँदा पुत्र प्राप्ति हुने, चर्म रोग निको हुने, धनोधान्य हुने जस्ता धार्मिक विश्वास रहेको छ ।


सामान्यता पर्वअन्तर्गत साँझको घाट व्रतालुहरूले रातभरि भजन कीर्तनसहित छठमाईको पूजाआजा गरी भोलिपल्ट सप्तमी तिथिमा उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर यो पवित्र पर्वको समापन गरिन्छ । त्यसपछि आफन्त र इष्टमित्रलाई छठीमाईको पूजाको प्रसाद ठेकुवा, कसार आदि खुवाउने चलन छ ।

छठ पूजाले आफ्ना परिवारलाई एक ठाउँमा भेला हुने अवसर प्रदान गर्छ । यस अवसरमा नयाँनयाँ वस्त्र धारण र चेलीबेटीलाई आमन्त्रण गरिन्छ ।


जुनसुकै जाति र धर्मका मान्छेले मनाउन सकिने यो पर्व आर्थिक अभाव रहेकाहरूले भिक्षा मागेर पनि मनाउने गरेका छन् । दलित र गैरदलित एउटै थलोमा बसेर श्रद्धापूर्व यो पर्व मान्दछन् । वीरगन्जको घडिअर्वा, मुर्ली, नगवा, छपकैंया, तेजारथटोल, रानिघाट छठ घाटमा छठ व्रतालुहरूको तथा दर्शनार्थीहरूको भीड लाग्ने गरेको छ । यहाँका छठ घाटहरू पर्वका निम्ति बेहुलीझैं सिंगारिएका छन् ।


नदी,पोखरीमा आकर्षण छठको तयारीमा मधेसका नदी, पोखरी, हाटबजार, गाउँघर छठमय बनेको छ । जलाशय किनारमा छठीमातालाई पवित्र सामग्री नैवेद्य चढाएपछि उदाउँदो र अस्ताउँदो सूर्यदेवलाई अघ्र्य दिनका लागि मधेसका नदी, पोखरी सिंगार्न थालिएको छ ।


घाट बनाउन नदी, पोखरीमा घुइँचो लागेको छ । नदी पोखरीमात्र होइन छठी मातालाई पवित्र सामग्री केरा, मुला, अदुवा, नरिवल, पान, सुपारी, नांगलो, ढकी, चंगेरी, माटाको हात्ती किनमेलका लागि आउनेको भीडले सिरहाका हाटबजार भरिएका छन् । छठमा मात्र माटोको सामग्रीले अत्यधिक बजार पाउँछ ।


छठकैं लागि भनेर लहान नगरपालिका ६ का जितेन्द्र पण्डितले यसपटक नौ सय माटोको हात्ती बनाएका छन् । यसबाट ९० हजार आम्दानी हुने उनले सुनाए । ‘छठ पर्वमा मात्र बिक्री हुने माटोको हात्ती सय रूपैयाँ गोटामा बिक्री गर्छु,’ उनले भने, ‘यसपटक तीन दिन अवधिमा सात सय माटाको हात्ती बिक्री गरिसकें ।’ बढदो प्लास्टिकका सामग्री प्रयोगले आफूहरूको व्यवसाय धरमराउन थाले पनि दीपावली र छठपर्वमा माटाको सामग्री बिक्रीले पुख्र्यौली पेसा धानेको उनले बताए । छठ पर्वमा माटोको हात्ती अनिवार्य मानिन्छ ।


सूर्यदेवको आरधना, उपसना र पूजाको यो पर्वमा केरा, उखु, नरिवल लगायतका फलफूल, बासद्वारा निर्मित नाङ्लो, ढकी, चंगेरी आवश्यक पर्छ । त्यसैगरी, माटोबाट निर्मित पाला, हात्ती, घैला लगायत सामग्री र महिलाले लगाउने वस्त्र, गरगहना चाहिन्छ । पर्वमा यी सामग्रीको खरिद बिक्रीले राम्रो कारोबार पाउँछ । छठ पर्वमा अघ्र्यका रूपमा ठेकुवा, भुसुवा चढाइन्छ ।


छठको किनमेल

छठपर्वका लागि सोमबार किनमेल गर्न बजार, हटिया र पसलमा ग्राहकको भीड लागेको छ । मंगलबार र बुधबार छठपर्व मनाइँदैछ । छठपर्वमा अन्न, तरकारी र फलफूल नै पूजा सामग्रीमा प्रयोग गरिन्छ । धनुषाको क्षीरेश्वर नगरपालिकाको महेन्द्रनगरमा सोमबार विहानैदेखि लागेको हाट बजारमा तरकारी, फलफूल र छठका अन्य सामग्री किन्नेको भीड छ ।


घरबाट लिस्ट नै बोकेर जनकपुरबाट महेन्द्रनगरको हाटबजार पुगेका बिमलेश सिंहले छठ पर्वमा प्रयोग हुने पूजा सामग्री खरिद गरे । उनले एकैथलोमा सबै सामान पाइने भएकाले किनमेलको लागि महेन्द्रनगरको हाटबजार पुगेको बताए । ‘तरकारी सस्तो र ताजा पाइन्छ,’ उनले भने, ‘छठका सामग्री प्रायजसो हटियामै उपलब्ध हुन्छ ।’


धनुषाको पुष्वलपुरबाट बयलगाडामा तरकारी बोकेर आएका सरोज महतोले छठपर्वमा बिक्री हुने तरकारीकै पैसाले आफ्नो घरमा पनि छठ मनाउने गरेको बताए । छठ पर्वमा केरा, सखर, नरिवल, उखु, फलफूल, मुला, ठूलो कागती लगायतमा सामग्री आवश्यक पर्छ । व्रतालुलाई छठ सकिएपछि खानाको थुप्रै परिकार बनाएर खुवाइन्छ । तरकारी, साग, तरुवा (पकौडा), दही लगायतका परिकार बनाइन्छ ।


चाडपर्वमा तरकारीको भाउ अकासिन्छ । ठूलो परिमाणमा तरकारी खरिद गर्नुपर्ने भएकाले सस्तो हाटबजार ग्राहकको रोजाइमा पर्छ । महेन्द्रनगरको हाटबजारमा परवल ६० रूपैयाँ, काउली ४०/५० रूपैयाँ, गोलभेडा ६० रूपैयाँ, भन्टा १२ रूपैयाँ, मुला १० रूपैयाँ किलोमा बिक्री भएको छ ।


छठ पर्वमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवाको प्रसाद राखिन्छ । प्रसादका यी सबै प्रकार वर्षौं अघिसम्म सकभर आफ्नै घरखेतको प्रयोग गरिन्थ्यो । तर, अहिले छठपर्वको प्रसादको सबै सामग्री बजारमा खरिद गर्नुपर्छ ।


गहुँ पिसाउनेको घुइँचो

सोमबार बिहानैदेखि पानीले सफा गरिएको कुटानी पिसानी मिलमा गहुँ पिसाउनेहरूको घुइँचो लागेको छ । पिठो पिसाउन उनीहरूले लाइन पर्खेर बस्नु परेको छ ।


मिलमा ढिलो पुगेको कारण लाइनमा पछि परेका उत्तरझिटकैयाका पन्नालाल प्रसाद यादवले गहुको बोरा पालो लगाएर घर फर्किएका थिए । ‘डेढ घण्टापछि मेरो पालो आउँछ,’ उनले भने, ‘तबसम्म अर्को काम भ्याउन सकिन्छ ।’ त्यसले घरतिर हिँडेको उनले बताए । पालो आउने बेलासम्म मिलमा फर्किहाल्ने उनले जानकारी दिए ।


आइतबार दिनभरि सर्तकता र शुद्धतापूर्वक सुकाइएको थियो । उक्त गहुँ चराचुरुङगीले समेत मुख हालेर बिटुलो पार्नु हुन्न । बिटुलो पारी हाले तुरुन्त सम्पूर्ण गहुँ पखालेर मात्र सुकाउने अन्यथा छठी माता रिसाउनु हुन्छ भन्ने जन विश्वास रहेको छ । बारा सदरमुकाम कलैया लगायत जिल्लाको १६ वटै स्थानीय तहमा छठ पूजा भइरहेको स्थानीयले बताएका छन् ।


जीवीकापार्जनका लागि राजधानी काठमाडौं लगायत नेपालकै कुनाकप्चा तथा भारतको दिल्ली, मुम्बई, लुधियाना लगायतका सहरहरूमा कमाउन गएका बाराका युवाहरू छठ पर्वका लागि घर आइपुगेका छन् । गाउँ बाहिर बस्नेहरू घर फर्किपछि गाउँ युवा जमातले भरिभराउ भएको छ । अहिले गाउँमा निकै चहलपहल बढेको स्थानीयले बताएका छन् । अहिले छठघाटहरूमा छठीमाताको गितरू चोक चौराहामा घन्किरहेको छ । यहाँका छठीघाटहरू दुल्हीझैं सिंगारिएका छन् । धेरै स्थानमा अहिले पनि छठ घाट सिंगार्ने काम जारी रहेको स्थानीयले जानकारी दिएका छन् ।


‘छठपछि प्रदेशमा संघीय कर्मचारी’

धनुषा– विज्ञान प्रविधि तथा तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले छठ पर्वपछि प्रदेशमा आवश्यक कर्मचारी आउने बताएका छन् । ‘प्रदेशमा कर्मचारी नहुँदा काम गर्न समस्या भएको चौतर्फी गुनासो बढेको छ’, मन्त्री पोखरेलले भने, ‘संघीयताको सुरुवातमा स्थानीय, प्रदेश र संघीय सरकारलाई कानुन र कर्मचारी अभावमा काम गर्न समस्या भएको छ ।’


महोत्तरीको गौशालास्थित एक रेडियोले आयोजना गरेको छठ तथा समाचकेवा पर्वका अवसरमा अन्तरक्रियामा मन्त्री पोखरेलले मुलुकमा नयाँ संरचना कार्यान्वयका क्रममा रहेकोले काम गर्न कठिनाइ उत्पन्न भएको बताए ।


‘म मन्त्रीकै रूपमा सन्तुष्छ छुँइन । तर पनि संघीयताको नयाँ अभ्यासमा पूर्वाधार नभएको अवस्थालाई ध्वस्त हुनबाट जोगाउन अहिलेको प्रमुख आवश्यकता हो,’ उनले भने । मुख्यमन्त्री तथा स्थानीय सरकारको उपस्थितिमा शिक्षा नीति बनाउने तयारी गरेको जानकारी गराउँदै नयाँ प्रणालीको अभ्याससँगै शिक्षामा परिवर्तन आवश्यकताअनुसार गरिने बताए ।


विकासका लागि अनुकूल वातावरण, समूह र सञ्जाल भएमात्र विकास सम्भव रहेकोले उपयुक्त वातावरणमा विकास लागि अपरिहार्य रहेको बताए ।


(श्यामसुन्दर शशि/जनकपुर, भरतजर्घा मगर/सिरहा, पवन यादव/बारा र शंकर आचार्य/पर्साको सहयोगमा)

प्रकाशित : कार्तिक २७, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?