२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

छठमा बढ्यो चुडी र कपडा व्यापार

पवन यादव

सिमरा — छठ पर्वलाई लक्षित गरेर बारा सदरमुकाम कलैया लगायत जिल्लाको प्रमुख बजारमा लत्ताकपडा, चुडा लगायतको कारोबार बढेको छ । जिल्लाको जितपुर, सिम्रौनगढ, निजगढ, प्रसौनी, कोल्हवी, सिमरा लगायतको बजारमा अर्बौंको कारोबार भएको व्यापारीले अनुमान गरेका छन् । 

छठमा बढ्यो चुडी र कपडा व्यापार

कलैया बजारमा चुडीको मात्रै एक साता यता दैनिक डेढ लाख रुपैयाँभन्दा बढीको कारोवार भएको व्यापारीले बताएका छन् ।


चाडको बेलामा दैनिक ५ देखि १० हजार रुपैयाँ बराबरको चुडी बिक्री गर्दै आएको कलैयाका चुडी पसले कासिम सिद्धीकीले बताए ।


‘चाडबाड र लगनको बेला सबैभन्दा बढी चुडीको कारोवार हुन्छ,’ उनले भने, ‘हाम्रो व्यापार चल्ने बेला यही हो ।’ अरू बेला चुडी, कँगनको खासै बिक्री हुँदैन । चाडबाड र विहावारी भएको बेलामा मात्र चुडीको व्यपार बढी हुने गरेको उनले आफ्नो अनुभव सुनाए । उनले २० वर्षदेखि चुडी बेचेरै परिवार धान्दै आएको बताए ।


कलैया बजारमै चुडी पसल सञ्चालन गरेकी अर्का पसले सकिमा खातुनले छठको बेला चुडीको कारोवार बढेको बताइन् । उनको पसल महिला ग्राहकले भरिभराउ देखियो । उनले ५० रुपैयाँदेखि १० सय रुपैयाँको चुडी बिक्री गरिरहेको बताइन् ।


छठ, तिहारलाई लक्षित गरेर यहाँका चुडी व्यापारीले नयाँ भेराइटीका चुडी लिएर आएको व्यापारीले जानकारी दिएका छन् । कलैया बजारमा २ दर्जनभन्दा बढी चुडी पसल सञ्चालनमा छन् ।

बाराको दोहरीबाट चुडी खरिद गर्न ललिता मण्डल बजारमा आइपुगेकी थिइन् । ३ दर्जन चुडी आफूले छठ पर्वमा लगाउन खरिद गरेको उनले बताइन् ।


उनी मात्र होइन । उनी जस्तै चुडी खरिद गर्ने महिलाबाट चुडी पसलहरू भरिभराउ देखिन्थ्यो । सबैले चुडीको भाउ मोलतोल गरिरहेका थिए । केहीले आफूलाई सुहाउने चुडी, कँगन छानिरहेका थिए ।


सोमबार मात्रै कलैया बजारमा ३ लाख रुपैयाँभन्दा बढीको चुडीको कारोवार भएको व्यापारीले अनुमान गरेका छन् ।


त्यस्तै कलैया बजारमा मात्र करोडौं रुपैयाँ बराबरको रेडिमेन्ट कपडा जिन्स, भेस्ट, सरवाल समिज, साडी लगायत कपडाको कारोवार भएको स्थानीय व्यापारीले अनुमान गरेका छन् ।


कपडा किन्ने ग्राहकको कपडा पसलमा ठूलो घुइँचो लागेको थियो । एक जनाले कम्तीमा ५ देखी २५ हजार रुपैयाँ बरारबको रेडिमेन्ट कपडा मात्र खरिद गरेको कलैया बजारमा रहेको पोसाक रेडिमेन्ट पसलका सञ्चालक अजय सर्राफले जानकारी दिए ।


‘चाडबाड र लगनकै बेला कपडाको बिक्री बढी हुने गर्छ,’ उनले भने, ‘प्राय: सबै घरमा नयाँ कपडा खरिद गरिन्छ ।’ चाडबाडले आफूहरूलाई कपडा बिक्री गर्न र ग्राहकको चित्त बुझाउन भ्याइनभ्याइ भएको उनले बताए ।


ग्रहकको घरमा सधैं चाडबाड लागोस् र हाम्रो व्यापार राम्ररी सञ्चालन होस् भने चाहना व्यापारीको रहेको उनले बताए । छठका लागि किनमेल गर्नेहरू ग्राहकको घुइँचोले पूरै बजार भरिभराउ रहेको

उनले बताए ।


छठलाई लक्षित गरेर यहाँका व्यापारीले कपडा, कस्मेटिक सामान, नरिवल, अदुवा, मीठा लगायतको राम्रो कारोवार गरेको जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साहले बताए ।


‘ठ्याकै कतीको आर्थिक कारोवार भएको हो अहिले नै भन्न मिल्दैन,’ उनले भने, ‘करोडौंको कारोबार भएको अनुमान गर्न सकिन्छ ।’ पहिलाको तुलनमा जितपुर बजार बढेको र यहाँ सन्तोषजनक रूपमा व्यापार भएको उनले जानकारी दिए ।

प्रकाशित : कार्तिक २८, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?