१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

तराई–पहाड जोड्दै छठ

रवीन्द्र उप्रेती

महोत्तरी — छठको व्रत बसेकी गौशाला ९, भरतपुरकी ईश्वरीदेवी यादवलाई काठमाडौं नयाँ बानेश्वरकी सरिता कार्कीले कपडा पठाइदिइन् । उनले त्यही सारी–चोलो लगाएर मंगलबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन् ।

तराई–पहाड जोड्दै छठ

पति वैदेशिक रोजगारीका लागि खाडी गएका ईश्वरीलाई छठको प्रसाद बनाउन र पूजा सामग्री मिलाउन छिमेकी अनीता अधिकारी र उनकी छोरी आशनाले सघाए । मंगलबार पनि ईश्वरीको घरमै पुगेर आमाछोरीले प्रसादका लागि ठेकुवालगायतका सामग्री बनाएर सहयोग गरे ।


सिन्धुपाल्चोकको लामोसाँघुबाट छठ मनाउन ५२ वर्षीया लक्ष्मी श्रेष्ठ पनि अहिले भरतपुर आएकी छन् । भरतपुर उनको माइत हो । ३ दाजुभाइकी एक्ली चेली लक्ष्मी भाइतिहारमा आइनन् । तर, छठमा भने व्यस्त समयका बाबजुद आइन् । उनका दाजु रितबहादुर यसपटक छठको व्रत बसेका छन् । उनैलाई सघाउन र छठ पूजाका लागि माइत आएको उनले सुनाइन् । सिन्धुलीकी सानु श्रेष्ठ पनि ७ वर्षीया छोरी लिएर सोमबार आइन् । ३ वर्षदेखि दुबई बस्दै आएका सोही गाउँका नागेन्द्र साह पनि छठ मान्नकै लागि अहिले भरतपुर आएका छन् ।


यी परिदृश्यले समाजमा

सद्भाव कायम गर्दै लगेको छठ अब तराईको मात्र नभएर मुलुककै पर्व बन्दै गएको मान्न सकिन्छ । नेत्र चिकित्सक वासुप्रसाद अधिकारीको भनाइमा यो पर्वको नेपथ्यमा समतामूलक समाजको सूत्रधार पनि लुकेको छ । उनीसँग छठबारे बाल्यकालका थुप्रै स्मृति पनि छन् ।


आधा दशकअघि हजुरबुबाकै समयमा आफ्नै घरमा छठ हुने गरेको उनले सुनाए । ‘बुबा नै छठको व्रत बस्नुहुन्थ्यो,’ उनले भने, ‘प्रसादमा थुकको छिटा नपरोस् भनेर हजुरआमाले गम्छाले मुख बाँध्न लगाएर ठेकुवा पकाउने पीठो मुछ्न लगाउनुहुन्थ्यो ।’ यो पर्वप्रतिको आस्था र विश्वास उनी र उनका परिवारमा अझै छ ।


तराई–पहाड जोड्ने छठ उल्लास एवं भक्तिपूर्ण मनाइँदै छ । सूर्यको आराधना गरी मनाइने यो पर्वका व्रतालुले मंगलबार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरे । बुधबार (आज) उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ ।


छठ मनाउन जिल्लाभरका नदी तथा तलाउका सजिसजाउ घाटमा व्रतालुको भीड पनि उस्तै छ ।


व्रतालुले घाटस्थित जलाशयमा स्नान गरी भगवान् सूर्यलाई जलार्पण गरे । धूप–दीप प्रज्वलित गरी पूजा गरे । जलासयका घाट सूर्यउपासनाका भजन तथा छठी मैयाको लोकलयले गुन्जियो ।

‘उगहु न सुरुज देव भइयो अरग के वेर...। काँच ही बाँस के बहंगिया, बहंगी लचकत जाय, बाट जे पुछेला बटोहीया बहंग केकरा के जाय...’ जस्ता लोकधुनले छठी घाट परिसरको माहोल रंगियो । मध्य तराईमा अति महत्त्वसाथ मनाइने छठमा सबैको सहभागिता हुने भएकाले अपराह्नदेखि जिल्लामा सार्वजनिक यातायात न्यून चले । बजार एवं व्यापारिक केन्द्र बन्द रहे । सबै छठको तयारीमा जुटेकाले सडक सुनसान देखिए ।


अपराह्न ३ बजेपछि गाउँको भीड जलाशयमा बढयो भने बस्ती सुनसान बन्यो । सझिया घाटको रात जलाशयका किनारमा जाग्राम रहने परम्पराअनुसार राति विविध भक्तिमय कार्यक्रमको व्यवस्था मिलाएको जलेश्वरस्थित छठ आयोजक समितिले जनाएको छ ।


चाडपर्व र सामाजिक रीतिलाई सभ्यताको अनुपम उपहार मान्ने डा. अधिकारी छठलाई प्रकृतिमा समर्पित पर्व मान्छन् । छठ सामाजिक सद्भाव र स्वच्छताको संदेशवाहक रहेको उनले बताए । ‘यो हाम्रो सांस्कृतिक पहिचान पनि भएकाले छठले तराई, पहाड र हिमालको दूरीलाई निकट पार्दै लगेको छ,’ उनले भने ।


प्रकाशित : कार्तिक २८, २०७५ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?