१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

घोषको शालिक पुन:स्थापना

शंकर आचार्य

पर्सा — आधुनिक वीरगन्जका सफल परिकल्पनाकार स्वर्गीय पशुपतिनाथ घोषको शालिकको पुन:स्थापनापछिको अनावरण कार्यक्रम सोमबार वीरगन्जमा भएको छ । वीरगन्ज महानगरका मेयर बिजय कुमार सरावगीले घोषको शालिकको अनावरण गरे । 

घोषको शालिक पुन:स्थापना

महानगरमा सञ्चालित एसियाली विकास बैंकको लगानीको परियोजनाअन्तर्गत सडक निर्माणका क्रममा गत वर्ष घोषको शालिक आदर्शनगर चोकबाट हटाइएको थियो । हाल सडक बनेपछि महानगरपालिकाको कार्यालयले करिब १० लाखको लगानीमा शालिक पुन:स्थापना गर्नुका साथै शालिक राखिएको स्थललाई नयँ स्वरूप दिएको छ ।


मेयर सरावगीले घोषको योजना अनुरूप बसेको वीरगन्जको आदर्शनगर मुलुककै योजनाबद्ध सहरी क्षेत्रमध्येकै एक रहेको दाबी गरे ।


हाल पनि वीरगन्जको आदर्शनगर बाहेक अन्य क्षेत्र अव्यवस्थित हुनुले आदर्शनगरको उति बेलाको परिकल्पनाको महत्वलाई दर्शाएको उनले बताए । आधुनिक वीरगन्जका प्रणेता घोषले ५ दशकअघि गरेको योजना जस्तै हाल महानगरपालिकाको कार्यालयले ६ सय बिघा जग्गामा आदर्शनगरकै शैलीमा योजनाबद्ध अर्को बस्ती बसाउने योजना बनाएको उनले दाबी गरे ।


उद्योगी गणेश लाठ, सांसद ओमप्रकाश शर्मा लगायतकाले ५ दशकअघि एक सय बिघा जग्गामा बसाइएको आदर्शनगर हालसम्म पनि वीरगन्जको व्यवस्थित र आकर्षक आवाशिय तथा व्यावसायिक क्षेत्रको रुपमा चिनिनुले घोषको दुरदर्शीता साबित गरेको बताए । घोषकी छोरी कमला घोषले वीरगन्जलाई आधुनिकता दिने आफ्ना पिता आफ्ना र वीरगन्जवासीका लागि सधंै प्रेरणाको श्रोत रही रहने बताइन् ।


रेडक्रस सोसाइटीका संस्थापक सदस्य गजेन्द्रदेव ठक्कुले तत्कालीन समय आदर्शनगरको उद्घाटन गर्न आएका राजा महेन्द्रले सार्वजनिक समारोहमै आदर्शनगरको निर्माणमा आफ्नो कुनै योगदान नरहेको बताउँदै शिलालेखमा महेन्द्र आदर्श नगरको ठाउँमा पशुपति आदर्शनगर लेख्न भनेपछि उनकै निर्देशनमा शिलालेखमा संशोधन गरिएको बताए । घोषले बीपी कोइरालासँगै नेपालको स्वतन्त्रता आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए ।

प्रकाशित : कार्तिक २८, २०७५ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?