२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

देउसीको रकम खानेपानी योजनामा

दुरबिनडााडावासी घरलौरी रकम संकलन गरी जनश्रमदानमा
भरत जर्घा मगर

सिरहा — खानेपानीको चरम समस्या झेल्दै आएको सिरहाको उत्तरवर्ती चुरे क्षेत्र दुरबिनडाँडामा खानेपानी योजनाका लागि स्थानीयले देउसी खेलेर रकम संकलन गरेका छन् । 

देउसीको रकम खानेपानी योजनामा

सिरहाको धनगढीमाई नगरपालिका १३ का वडाध्यक्ष सूर्यमान तामाङको नेतृत्वमा देउसी खेलेर खानेपानी योजनाका लागि ५७ हजार रुपैयाँ नगद संकलन गरेका हुन । दुरविन डाँडामा खानेपानी निर्माणका लागि युनिसेफले २५ लाख, नगरपालिकाले ७ लाख र स्थानीयले नगद संकलन र जनश्रमदान १८ लाख गरी ५० लाख लागत्तमा आयोजना सुरु गरिएको थियो ।


आयोजनाको ७० प्रतिशत काम सम्पन्न भइसकेपनि पाइपलाइन बिच्छाउन र मोटर जडान गर्न रकम अपुग भएपछि देउसी खेलेर रकम संकलन गर्नुपरेको वडाध्यक्ष तामाङले बताए । ‘दुई दिनसम्म देउसी खेल्यौं’ उनले भने ‘खानेपानी घर घरमा पुर्‍याउन र मौलिक देउसीलाई जीवन्त राख्नपनि सामूहिक देउसी खेलेका हौं ।’ यसबाट खानेपानीका लागि रकम संकलन पनि भयो भने मादल ठोकेर देउसी खेल्ने परम्परा पनि कायम भएको उनको भनाई छ ।


पूर्व पश्चिम राजमार्गदेखि ८ किलोमिटर उत्तरमा अवस्थित दुरविन डाँडा क्षेत्रमा ८६ घरपरिवार मगर, तामाङ समुदायको बसोबास छ । बस्तीका स्थानीय एक किलोमिटर पर सर्रे खोलाको पानी पीउथे । वर्षायामभरी तीन महिना बाढीको पानी पीउन बाध्य थिए भने चैतवैशाखमा खोलामा पानी कम हुँदा जंगल क्षेत्रको खोल्साखोल्सीको पानी पिउनुपथ्र्यो ।


युनिसेफ र नगरपालिकाले खानेपानीका लागि रकम उपलब्ध गराएपछि दुरबिनडाँडावासीले घरलौरी रकम संकलन गरी जनश्रमदानमा जुटेको वडाध्यक्ष तामाङले सुनाए । पछिल्लो भदौ २२ गते दुरबिनडाँडा खानेपानी उपभोक्ता समिति गठन गरी असोज ६ गतेबाट गाउँले जनश्रमदानमा जुटेको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर तामाङले बताए ।


खानेपानीका लागि दुरबिनडाँडामा २० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गरिएको छ ।

ट्यांकीमा पानी ल्याउन ६ सय मिटर तल सर्रे खोला किनारमा इनार खनी त्यहाँबाट विद्युतीय मोटरका माध्यमबाट ओभरहेड ट्यांकीमा पानी जम्मा गरी वितरण गरिने व्यवस्था मिलाइएको छ ।


खानेपानीको चरम समस्या झेलेका स्थानीयले खानेपानी योजना निर्माणका लागि आफ्नै घरको खाजा खाना खाएर खटिरहेको स्थानीय जितबहादुर तामाङले सुनाए । घरमा जस्तोसुकै आपतविपत् परे पनि पानी ल्याउन खोला झर्नैपर्ने कष्ट झेल्दै आएका गाउँलेहरू घरघरमै पानीको धारा आउने भएपछि दिनरात नभनी श्रमदानका लागि खटिएको उनले सुनाए ।


जिल्लाको उत्तरवर्ती चुरेसँग जोडिएका बरदमार, आहालेलगायत चार दर्जन गाउँका बासिन्दा अझै पनि खानेपानी समस्या झेलिरहेका छन् ।

प्रकाशित : कार्तिक २९, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?