२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मर्मत अभावमा जीर्ण बन्यो फोरलेन सडक

कान्तिपुर संवाददाता

पर्सा — नियमित मर्मतसम्भार अभावमा वीरगन्ज महानगरको घण्टाघरदेखि पावरहाउस चोकसम्मको फोरलेन सडक जीर्ण भएको छ ।

त्रिभुवन राजपथको समानान्तर पश्चिमतर्फ तत्कालीन वीरगन्ज उपमहानगरपालिका कार्यालयले करिब एक दशकअघि बनाएको यो सडकको अवस्था अहिले नाजुक छ । डेढ वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारी आगमनको समयमा टालटुल पारिएको यो सडक त्यसयता महानगरपालिका कार्यालयले मर्मतसम्भार गरेको छैन ।


घण्टाघरदेखि पावरहाउस चोकसम्म करिब ४ किमि लामो यो सडकमा २ दर्जन बढी खाल्डाखुल्डी परेका छन् । भारतीय महावाणिज्य दूतावास, मुर्ली चोक तथा तेजारथटोल क्षेत्रमा सडक बढी क्षतिग्रस्त भएको छ । सडकको करिब ४० प्रतिशत भाग क्षति भइसकेको छ । सडक जर्जर हुँदा विशेष गरी साइकल, मोटरसाइकल, इरिक्सा आदि हलुका सवारी चालकहरूलाई समस्या भएको छ ।


यसले दुर्घटनाको जोखिम समेत बढेको छ । महानगरपालिका कार्यालयले जीर्ण बनेको सडकको मर्मतसम्भारमा चासो नदेखाउँदा स्थानीय बासिन्दा आक्रोशित छन् । महानगरका मेयर विजयकुमार सराबगीको घर र कार्यालय ओहोरदोहार गर्ने बाटोसमेत यही भए पनि मेयरलगायत जनप्रतिनिधि मूकदर्शक बनेर बसेको गुनासो अधिकांश महानगरवासीको छ ।


मुर्लीका अविनाश झा यो सडकको दयनीय अवस्था देख्दा आफूहरूले महानगरमा जनप्रतिनिधि छन् भनी अनुभूति गर्न नसकेको बताउँछन् । ‘महानगरको मुख्य सडकसमेत हाम्रा जनप्रतिधिहरूले मर्मत गर्न सक्दैनन् भने हामीले उहाँहरूबाट के अपेक्षा गर्ने,’ उनले भने, ‘वीरगन्जवासीको दु:ख जो आए पनि नसक्किने भो ।’


यो मात्र नभई महानगरका अन्य सडकको अवस्थासमेत नाजुक बनेको विशेष गरी बाइपास सडक, लिंक रोड, मकालु चोकदेखि पुजन होटलको वनवे सडक तथा महानगरका अन्य भित्री सडकहरूसमेत जर्जर अवस्थामा छन् ।


वीरगन्ज महानगरपालिकाको कार्यालयका मुख्य प्रशासकिय अधिकृत डा. भीष्मकुमार भुसालले उक्त सडक सडक विभागको मातहतमा रहेकाले आफूहरू सडक विभागको बजेटको प्रतीक्षामा रहेको बताए ।

प्रकाशित : कार्तिक २९, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?