कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘मिडिया लोकतन्त्रको अक्सिजन’

अवधेशकुमार झा

सप्तरी — पूर्वराष्ट्रपति डा. रामवरण यादवले मिडियालाई संकुचन नगर्न सरकारलाई आग्रह गरेका छन् । मिडिया स्वतन्त्र नभए लोकतन्त्र बाँच्न नसक्ने बताउँदै डा. यादवले गणतन्त्रको आधारस्तम्भ नै मिडिया भएको उल्लेख गरे । 

‘मिडिया लोकतन्त्रको अक्सिजन’

०७४ साल साउन र भदौको बाढीका कारण विस्थापनमा परेका सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ४ स्थित मुसहरबस्तीमा न्युज २४ टेलिभिजनको संयोजनमा निर्माण गरिएको बस्ती हस्तान्तरण कार्यक्रममा पूर्वराष्ट्रपति यादवले भने, ‘मिडिया लोकतन्त्रको अक्सिजन हो, प्राणवायु हो, त्यसकारण मिडियालाई संकुचन नगर्न सरकारलाई आग्रह गर्छु ।’


मिडिया र लोकतन्त्रबीच नङ र मासुको सम्बन्ध रहेको यादवले उल्लेख गरे । उनले चुरे संरक्षणलगायत विषयमा निरन्तर आवाज उठाइदिन राष्ट्रियस्तरका सञ्चार माध्यमलाई आग्रह गरे । ‘राष्ट्रियस्तरका सञ्चार माध्यमले नउठाइदिए संघीय र प्रदेश सरकारका कानमा कुरा पुग्दैन,’ यादवले भने ।


ठूला नदीको व्यवस्थापन हुन नसकेकै कारण वर्षेनी देशका विभिन्न भाग डुबानमा पर्दै आएको उल्लेख गर्दै यादवले चुरेको संरक्षण हुन नसक्दा तराई मरुभूमि बन्दै गरेको बताए । नेपालमा पछिल्लो समय विकासका नाममा डोजर आतंक भइरहेको यादवले आरोप लगाए । ‘पहाडदेखि तराईसम्म विकासको नाममा डोजर आतंक छ,’ पूर्वराष्ट्रपति यादवले भने, ‘विकास हुनुपर्छ तर वातावरणमैत्री हुनुपर्छ, अध्ययन हुनुपर्छ ।’


अन्नको भण्डारका रूपमा रहेको चुरे र तराईको भूमिलाई बचाउन सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए । ‘अन्नको भण्डार कृषिप्रधान मुलुकका हामी अहिले आयातित खाद्यान्नमा निर्भर हुनुपरेको छ,’ यादवले भने, ‘एक वर्षका खाद्यान्नसहित खाने सामग्री मात्र नेपालमा १ खर्ब सवा १३ अर्बको आयात भएको छ, हाम्रो जीवन आयातित खाद्यान्नमा निर्भर हुनुपरेको छ, अन्नको भण्डारमा फिलिपिन्स र भियतनामबाट आयातित चामल खानुपरेको छ ।’ उनले ०२४ सालसम्म नेपाल संसारमै पाँचौं धान उत्पादक देश रहेको समेत उनले स्मरण गरे ।


पानी, जंगल र भूमि व्यवस्थापनको जिम्मा जनतादेखि सरकारसम्मको रहेको उल्लेख गर्दै उनले चुरे र तराईको भूमि संरक्षणका लागि संघीय संसद्, प्रदेश संसदहरू र स्थानीय सरकारमा गम्भीरतापूर्वक छलफल नहुनु दु:खद भएको बताए । ‘चुरे आली हो, त्यो आलीलाई नजोगाए तराईको भूमि मरुभूमि हुन बेर लाग्दैन,’ पूर्वराष्ट्रपति यादवले भने ।


‘अब तराईमा २ वटा मात्र जंगल छ, कैलालीको गोदावरीमा प्रदेश राजधानी बनाएर तथा निजगढमा विमानस्थल बनाउने नाममा सरकार जंगल समाप्त गर्न लागिपरेको छ,’ उनले भने, ‘विमानस्थल बन्नुपर्छ, राजधानी पनि बनाउनुपर्छ तर जंगल मासेर होइन ।’


यस्तै चुरेभन्दा तल ६ लेनको सडक निर्माण गरेर पनि थोरबहुत जंगल समाप्त हुने अवस्था सिर्जना भइरहेको उनले बताए । ‘सम्मानित नेता मदन भण्डारीका नामबाट राजमार्ग बनाइँदै छ, अहिले जुन डिजाइनबाट उक्त राजमार्ग बनाइँदै छ, त्यसले चुरे समाप्त भई तराई मरुभूमिमा परिणत हुन्छ,’ उनले भने, ‘दोहनका कारण चुरेको जंगल र वनस्पतिका अतिरक्त जीवजन्तु समाप्त भयो, अब बालुवा माटो भासेर जाँदै छ जसले तराईलाई अन्तत: मरुभूमिमा परिणत गर्छ ।’


कार्यक्रममा प्रदेश नम्बर २ का भूमि व्यवस्थापन तथा कृषि र सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले चुरेको विनाशकै कारण तराई मरुभूमीकरण हुँदै गएको बताउँदै बाढीजन्य विपदका कारण असुरक्षित र जोखिममा परेका बस्तीलाई सुरक्षित गर्नेतर्फ प्रदेश सरकारले योजना ल्याइरहेको बताए ।


मुसरहबस्तीमा ५२ घर हस्तान्तरण

कार्यक्रममा न्युज २४ का दर्शकबाट प्राप्त आर्थिक सहयोगबाट तिलाठी कोईलाडी ४ स्थित मुसहरबस्तीमा निर्माण गरिएको ५२ वटा पक्की घरको साँचो उक्त टेलिभिजनका अध्यक्ष अनिल जोसीले पूर्वराष्ट्रपति डा. यादवलाई हस्तान्तरण गरेका थिए ।


पूर्वराष्ट्रपति डा. यादवले उक्त साँचो स्थानीय मुसहर समुदायलाई हस्तान्तरण गरे । बाढीबाट घरवारविहीन दलित मुसहर पक्की घर पाएपछि हर्षित भएका छन् ।

प्रकाशित : कार्तिक २९, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?