कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालमा मेसुको मनोमानी

प्रक्रिया मिचेर नियुक्ति
सन्तोष सिंह

धनुषा — सेवाबाट अवकाश पाउने मुखमा जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिडेन्टेन्ड डा.रामपरीक्षण यादवले प्रक्रिया मिचेर अस्पतालमा कर्मचारी नियुक्ति गरेका छन् । 

अस्पतालमा मेसुको मनोमानी

जनकपुर अञ्चल अस्पतालको विकास समिति भंग भएका कारण निजी स्रोतबाट कर्मचारी नियुक्त गर्न पाइँदैन तर मेसु डा. यादवले असोज १८ गते जुनियर मेडिकल रेकर्डर असिस्टेन्टमा डा. उदेशकुमार अधिकारीलाई नियुक्त गरेको छ । अर्को एक डाक्टरको नियुक्तिको तयारीमा उनी छन् ।


नियुक्त भएका डाक्टर जनकपुर अञ्चल अस्पतालमा कार्यरत लेखा अधिकृत रामविनय रायका छोरा हुन् । डा. यादवले लेखा अधिकृत रायका छोरा अधिकरीलाई अस्पतालमा जागिर लगाइदिने र रायले डा. यादवले भनेअनुसार प्रक्रिया मिलाएर रकम भुक्तानी गर्ने सहमति स्रोतले जनायो । लेखा अधिकृत रायका छोरा अधिकारीलाई कात्तिक १८ गते आइतबार चलानी नं.९७९ बाट मेसु डा. यादवले प्रक्रिया मिचेर नियुक्तिपत्र दिइएको छ ।


दुई साताअघि मात्रै जनकपुर अञ्चल अस्पतालमा हाजिर भएका लेखाअधिकृत राय र मेडिकल सुपरिडेन्टेन्ट यादव मिलेर अस्पतालको इन्धन र ल्याब बनाउने प्लाइ, सीसीटीभी खरिदमा समेत अनियमितता गरेको अस्पताल स्रोतको दाबी छ ।


डा.यादवले अस्पतालमा कर्मचारी भर्ना, प्लाइ खरिद, इन्धन, बिरामीको खाना, सिसिटीभी जडानमा प्रक्रिया मिचेर अनियमितता गरेको स्रोतले जनायो ।


अवकाश हुने समय नजिकिएपछि डा. यादवले जेरनेटर, गाडीमा खपत नै नगरी इन्धनको बिल जनकपुर डिजल सेन्टरको नाममा निकासा गरेको छ । अस्पतालमा असहाय व्यक्तिलाई सरकारबाट आएको अनुदान खर्च हुन्छ । तर, मेसु यादवले त्यो पैसा नियम विपरीत विकास समितिबाट ४ लाख १७ हजार निकासा गरेको छ । सस्तो सीसीटिभी जडान गरी महँगो बिल बनाएर डा. यादवले ४ लाख रकम निकासा गरी कमिसन लिएको अस्पताल स्रोतले जनाएको छ ।


क्षेत्रीय ल्याब बनाउन ६० हजार रुपैयाँमा खरिद भएको पुरानो प्लाइ प्रयोगमा ल्याएर ३ लाखभन्दा बढी रकम निकासा गरेको खुलेको छ । ०७३ पुस ७ गते पनि विकास समितिबाट १८ जना डाक्टरलाई मासिक १० हजार खाजा खर्च दिएर नियुक्ति गरेका थिए । तर, डा. यादवले विकास समिति भंग भएपछि ०७५ असोज २९ गतेसम्म प्रक्रिया नै पुरा नगरी अवैध रुपले ३६ जना कर्मचारी भर्ना गरेका छन् ।


नातागोता र आर्थिक लेनदेन गरी कर्मचारी भर्ना गर्दा सुपरिडेन्टेन्ट यादव र यहाँ कार्यरत कर्मचारीबीच मतभेदसमेत भएको छ । गोप्य सूचना सार्वजनिक गरेको भन्दै प्रशासन फाँटका कर्मचारीलाई जिम्मेवारीबाटै हटाइएको थियो ।


जनकपुर अञ्चल अस्पतालको निर्माणाधीन बहिरंग विभाग र आकस्मिक विभागको भवन काम पुरा नहुँदै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवबाट उद्घाटन गराएर अधुरो भवन हस्तान्तरण गरेर ठेकेदार कम्पनीबाट उनले कमिसन लिन खोजे ।


असोज १८ गते मन्त्री यादवले उदघाटन गरेको भवनमा अस्पतालको सेवा अझै सुरु भएको छैन । तर नयाँ भवनमा ल्याब, वार्डका लागि आवश्यक सामान खरिद गरी कमिसन खाने तयारीमा डा. यादव जुटेका छन् । ०७१ जेठ ३० गते सम्झौता गरी निर्माण सुरु गरेका प्रेरा/मुन्ना र अचार्य जेभिले अञ्चल अस्पतालको बहिरंग भवन र आकस्मिक विभागको भवन १९ करोड १२ लाख ५६ हजार ४ सय ९६ रुपैयाँमा ठेक्का सकारेको थियो ।


०७४ पुस मसान्तसम्म निर्माण सक्नुपर्ने भवन अझै अस्पताललाई हस्तान्तरण भएको छैन । तर, स्वास्थ्यमन्त्री यादवले भवन उद्घाटन गरेका थिए । भवन निर्माणबाट अस्पताललाई प्राप्त हुने कन्टिजेन्सी रकम करिब ३० लाख रुपैयाँ कुम्ल्याउन मेसु डा. यादव दौडधुपमा छन् । मेसु यादवले अवकाश पाउन केही साता रहेकाले आफूले विवादमा आउने काम नगरेको दाबी गरे । ‘५/७ दिनमै रिटायर हुँदै छु, विवादमा पर्ने काम गर्दिनँ,’ उनले भने ।


गाडीको दुरुपयोग

अञ्चल अस्पतालमा सुपरिडेन्टेन्ट यादवले सरकारी गाडीको दुरुपयोग गरेका छन् । अञ्चल अस्पताल व्यवस्थापनको जिम्मेवारी पाएर चालकसहित गाडी सुविधा पाएका डा. यादव अस्पताल समयमै गाडी लिएर निजी क्लिनिकमा पुगेर काम गर्दै गरेका भेटिए ।


डा. यादव सोमबार १ बजे निजी क्लिनिकमा बिरामी जाँच गरिरहेको बेला अस्पतालको उनी चढ्ने सरकारी गाडी क्लिनिकअगाडि पार्क गरिएको थियो । गाडीका चालक अस्पतालमा सहयोगीको रुपमा भेटिए ।


अञ्चल अस्पताल प्रमुख डा. यादव अस्पतलको जिम्मेवारी बहन गर्नुपर्ने समयमा सरकारी गाडीसहितै निजी क्लिनिकमा जाने गरेको छ । मेसु यादवले सडक खनेकाले अस्पतालसम्म गाडी जान नसकिने भएकाले क्लिनिकमै राखेको दाबी गरे ।

प्रकाशित : कार्तिक २९, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?