कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

घरेलु मदिराले धानेको ‘जीवन’

शिव पुरी

रौतहट — चन्द्रपुर ४ स्थित गौर चन्द्रनिगाहपुर खण्डमा एक महिलालाई इलाका प्रहरीको टोलीले केही समयअघि घरेलु मदिरासहित पक्राउ गर्‍यो । गरुडा बजारमा बिक्रीका लागि लैजान लाग्दा पक्राउ परेकी थिइन् । उनी जरिवाना तिरेर रिहा भइन् ।

घरेलु मदिराले धानेको ‘जीवन’

त्यसको एक महिनापछि उनको घरमा मदिरा बनाउन राखिएको कच्चा पदार्थ बरामद गरी नष्ट गर्‍यो । प्रहरी आएको थाहा पाई उनी फरार भइन् । जिल्लाका अधिकांश सुकुम्बासी बस्तीमा मदिराले जीवन धानेको छ । रोजगारी अभाव र आर्थिक विपन्नताका कारण मदिरा उत्पादन र बिक्रीमा महिलाको संलग्नता बढेको छ ।


उनी एक पात्र हुन् । यहाँका अधिकांश गाउँका महिला मदिरा उत्पादनमा लागिपरेका छन् । सुकुम्बासी र गरिब बस्तीका महिलाको जीवन मदिराले धानेको छ । खास गरी जनजाति बसोबास रहेको क्षेत्रमा घरेलु मदिराको उत्पादन र बिक्री बढी हुने गरेको पाइएको छ । उनीहरू गाउँघरका मानिसलाई साँझबिहान मदिरा बिक्री गर्छन् । त्यही रकमबाट जीविका चलाउँछन् ।


यो क्रम पछिल्लो समय बढेको छ । प्रहरीले जिल्लाभरि मदिरा नष्टको अभियान चलाउँदै आएको छ । तर यसको उत्पादनमा कमी आएको छैन । अहिले पनि जिल्लाभरि ५ सय बढी घरमा मदिरा उत्पादन हुने अनुमान छ । आर्थिक विपन्नता र चेतनाको कमीले यस्तो काममा लाग्ने गरेको पाइएको छ । प्रहरीले पटक पटक मदिरा बरामद गर्ने र मानिस पक्राउ गरी जरिवाना तिराई छाड्ने गरेको छ ।


तर यस्तो कार्यमा कमी आउन सकेका छैनन् । प्राय गरी महिला अबैध मदिरा उत्पादनमा सक्रिय भएको पाइएको छ । जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले अबैध मदिराले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने र समाजमा विभिन्नखाले समस्या ल्याउने बताउँछन् । ‘हामीले सभ्य समाज र शान्तिसुरक्षालाई प्राथमिकतामा राखेका छांै,’ उनले भने, ‘गाउँघरमा हुने अधिकांश झैझगडा मादक पदार्थकै कारण हुने गरेको छ । अबैध मदिरा उत्पादनमा कडाइ गर्दै आएका छौं ।’


केही दिनअघि इलाका प्रहरीले ई रिक्सा, बस तथा अन्य सवारीमा बोराभित्र लुकाएर लैजान लागेको १ हजार ५ सय लिटर घरेलु रक्सी बरामद गरेको थियो । यति धेरै परिणाम प्रहरीले अबैध घरेलु मदिरा बरामद गरेको यो पहिलो पटक हो । केही समय यता जिल्लाभरि घरेलु मदिरको अबैध ओसार पसार बढेको छ । प्राय: ग्रामीण र सुकुम्बासी बस्तीका महिलाले उत्पादन गर्दै आएको पाइएको छ ।


उत्तरी भेगको भोलनटार, ईपिलीघरी, अरुणबस्ती, चन्द्रनिगाहपुर, मैरा, नयाँबस्तीलगायत क्षेत्रका बस्तीको घर/घरमा घरेलु मदिरा उत्पादन हुने गरेको छ । यस्ता मदिरा जिल्लाभरिका हाटबजारमा खुलेआम बिक्री गरिन्छ । प्रहरीले कैयौंपटक छापा मारी नष्ट गरेको थियो । तर स्थानीयले उत्पादनलाई निरन्तरता दिने गरेको पाइएको छ । पर्वका बेला रमाइलाका लागि मानिसले बढी मदिरा पिउने र विभिन्नखाले घटना हुने हुँदा यस्तो समयमा बढी ध्यान दिनुपर्ने प्रहरीको भनाइ छ ।


अहिले गाउँमा अबैध मदिरा उत्पादन गर्ने भट्टी र मदिरा बिक्री गर्ने गरेको पाइन्छ । यसपटक प्रहरीले पर्वमा मदिरा बिक्री तथा उत्पादनमा कडाइ गरेको थियो । मैराका एक महिलाले आर्थिक संकटका कारण मदिरा उत्पादन गर्दै आएको बताइन् । ‘रोजगारी केही छैन । जग्गाजमिन पनि छैन,’ उनले भनिन्, ‘रक्सी पार्नुबाहेक विकल्प छैन । यसैले जीवन धानेको छ ।’ चरम गरिब बस्तीका महिला सामान्य खाजाको होटल खोलेर घरेलु मदिरा बिक्री गर्छन् ।


एक बोतलको ३० देखि ५० रुपैयाँसम्ममा बिक्री हुन्छ । यहीबाट आएको रकमले घरखर्च र बालबालिकालाई पठनपाठन गराउँछन् । यस्तो पेसामा लागेका महिलाका श्रीमान बेरोजगार भएको पाइएको छ । अन्य मदिराको तुलनामा सस्तो र चाँडै असर गर्ने हुनाले गाउँघरका प्राय: सामान्य परिवारका मानिसले सेवन गर्छन् । उनीहरूको रोजाइमा घरेलु मदिरा परेको हो । भारतीय सीमा क्षेत्रमा समेत यसको माग अत्यधिक छ ।


इलाका प्रहरी चन्द्रपुरका अनुसार अघिल्लो आर्थिक वर्षमा यस क्षेत्रमा १ हजार २६ लिटर अबैध मदिरा र ३ सय लिटर कच्चा पदार्थ बरामद गरेको थियो । मदिरा ओसारपसारको आरोपमा २८ जना पक्राउ परे । उनीहरूबाट १ लाख ४४ हजार ५ सय जरिवाना असुल गरिएको प्रहरीले जनायो । चेकजाँचको क्रममा प्रहरीलाई देख्नासाथ रक्सी बोक्ने मानिस भने फरार हुने गरेको छ । यसअघि जिल्ला प्रहरीले २ सय बढी अबैध भट्टी नष्ट गरेको थियो । प्रहरीको अभियान सकिएलगत्तै त्यस्ता भट्टी पुन: सञ्चालनमा आउने गरेको छ ।


ओसारपसार र उत्पादनमा महिला

प्रहरीको आँखा छल्न मदिरा ओसारपसारमा महिला संलग्न हुने गरेको पाइएको छ । महिलामाथि प्रहरीको शंका नहुने भन्दै उनीहरूको संलग्नता पाइएको हो । इलाका प्रहरीले अबैध रक्सीसहित २८ जनालाई पक्राउ गरेकामा १६ जना महिला छन् ।


यसअघि जिल्ला प्रहरीले पक्राउ गरेकामध्ये अधिकांश महिला नै थिए । मदिरा ओसारपसारमा महिलाको संलग्नता बढी हुने गरेको प्रहरीको भनाइ छ । ओसारपसार र उत्पादन गर्नमा पनि महिला नै अग्रसर भएको पाइएको प्रहरीको भनाइ छ ।


डीएसपी युवराज खडकाले अबैध घरेलु रक्सीले समाजमा विभिन्न खाले विकृति ल्याउने गरेको बताए । ‘हामीले जिल्लाभरि अबैध मदिरा उत्पादन गर्ने भट्टी नष्टको अभियान चलाएका छौं,’ उनले भने, ‘प्रहरीको आँखा छलेर कतै सञ्चालन गरिएको पाइए पक्रेर कारबाही गर्छौं ।’ पछिल्लो केही समययता मदिरा ओसारपसारमा महिला नै बढी संलग्न भएको पाइएको उनले जनाए ।

प्रकाशित : कार्तिक २९, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?