१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

ट्रेडमार्क चोरी, उद्योगी चिन्तित

‘बहुराष्ट्रिय कम्पनीको नाममा नेपालमा ट्रेडमार्क दर्ता गरिएको उद्योगको न त उत्पादन छ न त अस्तित्व नै’
भूषण यादव

वीरगन्ज — ६ वर्ष अगाडि बहुराष्ट्रिय कम्पनी कन्साई नेरोल्याक पेन्ट्ससँग वीरगन्जको शालिमार पेन्ट्सले ज्वाइन्ट भेन्चरमा कन्साई नेरोल्याक पेन्ट्सको ब्रान्डले नेपालमा पनि उत्पादन थाल्यो । 

केही महिनापछि बहुराष्ट्रिय कम्पनीका विरुद्धमा ट्रेडमार्क चोरी गरेको भन्दै उद्योग विभागमा मुद्दा दर्ता भयो । बहुराष्ट्रिय कम्पनी कन्साई नेरोल्याकको ट्रेडमार्क नेपालमा अर्कै व्यक्तिले उद्योग विभागमा दर्ता गराइसकेका रहेछन् । मुद्दा परेपछि कम्पनीले अहिले ‘केएनपी’ जापानको नाममा उत्पादन बजारमा ल्याइरहेको छ ।


झन्डै एक सय वर्ष पुरानो र ६० देशमा साझेदारीमा सञ्चालन रहेको बहुराष्ट्रिय कम्पनीको नाम अर्कै व्यक्तिले दर्ता गराइसकेको पाएपछि नेपाली साझेदार सँगसँगै जापानिज र भारतीय साझेदार पनि चिन्तित बनेका छन् । नेपाली साझेदार अशोक वैद्यका अनुसार हालसम्म उक्त कम्पनीले ९६ करोड रुपैयाँ राजस्व सरकारलाई दाखिला गरिसकेको छ ।


‘बहुराष्ट्रिय कम्पनीको नाममा नेपालमा ट्रेडमार्क दर्ता गरिएको उद्योगको न त उत्पादन छ न त अस्तित्वनै,’ वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका वैद्य भन्छन्, ‘यसले गर्दा कतिपय विदेशी कम्पनी नेपालमा लगानी गर्न डराइरहेका छन् ।’ बहुराष्ट्रिय कम्पनीको नाममा विगतमा उद्योग विभागले दर्ता गरेको ट्रेडमार्क ६ महिनाको समय अवधि दिएर नयाँ नाम दर्ता गराई विदेशी कम्पनीलाई नै नाम फिर्ता दिनुपर्ने

उनले सुझाए ।


गत साता भारतको चेन्नइमा सम्पन्न भएको सार्क देशका उद्योग वाणिज्यसंघको भेलामा पनि बहुराष्ट्रिय कम्पनीको ट्रेडमार्क चोरीको विषयमा गम्भीर छलफल भएको वैद्यले बताए । कन्साई नेरोल्याक पेन्ट्सले विश्वभरि नेरोल्याककै ट्रेडमार्कमा उत्पादन गर्दै आएको छ । नेपालमा भने केएनपी ट्ेरडमार्क प्रयोग गर्न बाध्य छ ।


यसैगरी, भारतीय सिमेन्ट उत्पादक कम्पनी रिलायन्स ग्रुप पनि ट्रेडमार्क चोरी भएकै कारण नेपालमा लगानी नगरेको उद्योगी बताउँछन् ।


करिब ४ वर्ष अगाडि ४० अर्ब रुपैयाँमा लगानी गरी दैनिक ७ हजार टन सिमेन्ट उत्पादन गर्ने प्रस्ताव गरेको रिलायन्सले नेपालमा उक्त ट्रेडमार्क अर्कैको नाममा दर्ता भइसकेको थाहा पाएपछि अन्तिम समयमा पछाडि हटेको थियो । ‘ट्रेडमार्क उद्योगीको ठूलो सम्पत्ति हो,’ वैद्य भन्छन्, ‘सरकारले त्यसको संरक्षण गर्नुपर्छ । चर्चित ब्रान्डको ट्रेडमार्क नक्कल गर्ने बढो प्रवृत्तिलाई रोक्न जरुरी छ ।’


उद्योगीका अनुसार चिरपरिचित विदेशी कम्पनीको नाम नक्कल गरी नेपालमा ट्रेडमार्क दर्ता गराउने प्रवृत्ति बढ्दै गएको छ । विदेशी कम्पनीको नाममा दर्ता गराई आगेटेर बस्ने र विदेशी ब्रान्डको नाममा नक्कली सामान उत्पादन गर्ने प्रवृत्ति बढेको छ ।


कतिपयले बहुराष्ट्रिय कम्पनीको ट्रेडमार्क दर्ता गराई सम्बन्धित कम्पनीसँग बार्गेनिङ समेत गर्ने गरेका छन् । उद्योग विभागमा ६ सय १७ उद्योग तथा कम्पनीले ट्रेडर्माक चोरीको उजुरी दर्ता गराएका छन् । चालु आर्थिक वर्षको तीन महिनामा मात्र एक सय २५ वटा त्यस्ता उजुरी परेको विभागले जनाएको छ ।


ट्रेडमार्क दर्ताको प्रमाणपत्रका आठवटा शर्तमध्ये छैटौँ नम्बरमा ‘साविकमा कसैले आवेदन गरेको वा प्रचलनमा ल्याई ख्याती कमाइसकेको व्यहोरा प्रमाणित भएमा वा पेरिस महासन्धि अनुसार संरक्षण गरिदिनुपर्ने चिन्ह भएमा यो ट्रेडमार्क जुनसुकै बेला खारेज हुन सक्नेछ,’ भनी उल्लेख छ ।


विभागले यही शर्तमा प्रत्येक कम्पनीलाई ट्रेडमार्क दर्ताको प्रमाणपत्र दिए पनि सम्बन्धित कम्पनीको उजुरी पर्दा कानुनी प्रक्रिया साह्रै नै लामो र झन्झटिलो हुने गरेको उद्योगीले गुनासो गरेका छन् ।


पेटेन्ट, डिजाइन र ट्रेडमाको ऐन २०२२, उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार बौद्धिक सम्पत्ति संरक्षण बमोजिम चोर्ने कम्पनी र व्यक्तिविरुद्ध कानुनी उपचार खोज्न सकिन्छ । उद्योग मन्त्रालयले ट्रेडमार्क सम्पत्तिसम्बन्धी कानुन संशोधनमा गृहकार्य सुरु गरेको लामो समय बितिसक्दा पनि हालसम्म नयाँ कानुन नआएको वैद्यले बताए ।

प्रकाशित : कार्तिक ३०, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?