साल संरक्षणमा जुटे स्थानीय

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिका–४ स्थित वैज्ञानिक वन क्षेत्रमा सालको रूख संरक्षणमा स्थानीय जुटेका छन् । हातेमालो सामुदायिक वनमा लागू भएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गतका समिति र स्थानीय संरक्षणमा लागेका हुन् । 

साल संरक्षणमा जुटे स्थानीय

अहिले त्यस क्षेत्रमा सालका साना रूखहरू हुर्किन थालेका छन् । वर्षेनी चोरी कटानबाट यो जातको रूख मासिँदै गएको बेला बैज्ञानिक वन क्षेत्रमा बाक्लै गरी साल हुर्किन थालेको हो ।


चन्द्रपुर ४ र ६ नम्बर वडाको सामुदायिक वनको ३.५ हेक्टर क्षेत्रमा हुर्किदै गरेका झन्डै १० हजार बढी रूख संरक्षणमा स्थानीयको सक्रियता बढेको हो । यहाँ बिरुवा रोपिएको हाइन । सालको रूखबाट झरेको दानबाट हुर्केका हुन् । यसरी दाना झार्ने रूखलाई ‘मदरट्री’ का रूपमा वनले संरक्षण गरेको छ । हुर्किन लागेको साना बिरुवा जोगाउन स्थानीय लागी परेका छन । उनीहरूले संरक्षण क्षेत्रलाई तारबार गरी भित्र पशु चरन, घाँस, दाउरा गर्न दिएका छैनन् । यो समयमा साना सालको बिरुवा हुर्काउन निकै चुनौती हुन्छ ।

कलिलो बिरुवालाई आगोबाट जोगाउनु समिति र स्थानीयबासी दिनहुँ त्यस क्षेत्रको रखवारी गर्छन् । वन क्षेत्रलाई वैज्ञानिक र दिगो व्यवस्थापन गर्दा उत्पादनशिलता वन क्षेत्रबाट काठ दाउराको आपूर्ति बढ्न गई काहालीलाग्दो मूल्य बृद्धिमा शिथिलता आउने तथ्य सहित बैज्ञानिक वनको अवधारणा अघि सारिएको हो । बजार भाउ स्थिर र न्यूनीकरण गरी सर्वसाधारणलाई केही हदसम्म भए पनि राहत पुग्न सक्ने बैज्ञानिक वनको अवधारणा हो ।


बुढापाका, कमसल र सेपमा परेका रूख विरुवा काटछाट गरी वनको प्राकृतिक पुनरुत्पादन वा रोपण गरी नयाँ पुस्ताका लागि स्वस्थ र गुणस्तरयुक्त वन सृजना गर्ने लक्ष्य हो । गत चैतको पहिलो साता पहिलो पटक बैज्ञानिक वन व्यवस्थापन भनेर हातेमालोलाई चुनेको थियो । त्यहीअनुसार पुरानो, कमसल, सेपमा परेका साल लगायतका २ सय ३६ वटा रूखहरू कटान गरी बैज्ञानिक वनको सुरुवात गरेको हातेमालो सामुदायिक वनका अध्यक्ष रामलाल ठोकरले बताए ।


‘यो ८० बर्षे योजना हो,’ उनले भने, ‘अहिले साना/साना सालका बोटहरू हुर्किन थालेको छ । अब साँच्चिकै बैज्ञानिक वन जस्तै देखिएको छ ।’ अहिले स्थानीय आफैं सालको रूख हुर्काउन लागिपरेका छन् ।


यस क्षेत्रमा झन्डै १० हजारभन्दा बढी साना साल लगायतका रूखका बिरुवा हुर्किदै गएको छ ।ंं हातेमालोले १० वटा ब्लक बनाई १० बर्षे योजना अघि सारेको छ । त्यस क्षेत्रमा ५५ वटा पुराना र माउ रूख छाडिएको छ । यसले दाना र हुर्किन मद्दत पुग्ने वनका प्राविधिकको भनाइ छ ।


पुराना रूख काटेर त्यसलाई व्यवस्थापत गरिएको छ । स्थानीय उपभोक्ताले त्यही काठको सदुपयोग गर्नेछन् । पुराना रूख कटान गरिएको क्षेत्र अहिले हराभरा भएको छ । जताततै सालका साना बोट हुर्किदै गएको देख्न पाइन्छ ।


समूहले उपभोक्तालाई ज्यालादारीका रूपमा खटाएर भित्रको झाडी सफा गर्न लागेको छ । अहिले दैनिक २५ जना उपभोक्ताहरू खटिएका छन् । उनीहरूलाई समूहले दैनिक ४ सयका दरले ज्याला उपलब्ध गराएको छ । झाडी हटाए पछि अहिले भित्र सफा देखिएको छ ।


यसको सुरुवातीमा चोरी नियन्त्रण, अवैध कटन, र काठ तस्कर रोक्न छाडेर डिभिजन वन कार्यालय बैज्ञानिक वनको नाममा काँचो सालको रूख काटेको भन्दै तीव्र आलोचना खेप्यो । वैज्ञानिक वन व्यवस्थापन र बाटो निर्माणको नाममा व्यापक काँचो रूख कटान गरिएको आरोप लाग्यो । पहिला नबुझेर विरोध गरेको समूहको भनाइ छ । अहिले सालको बोट हुर्किदै गएको देखेर सबै खुसी भएको उनीहरूको दाबी छ । समूहका मानिस डटेर संरक्षण्मा लागेका छन् ।


वन क्षेत्रको दिगो र वैज्ञानिक व्यवस्थापन हुन नसके जैविक विविधताको ह्रास हुने, जलवायु परिवर्तनको असर बढ्ने, विकास र वातावरण बीचको सन्तुलनता बिग्रने डिभिजन वन प्रमुख बिनोद सिंहले बताए । ‘नेपालको ४० प्रतिशत भूभाग ओगट्ने वन क्षेत्रलाई वैज्ञानिक र दिगो रूपमा व्यवस्थापन गरी सामाजिक, जैविक, आर्थिक र वातावरणीय लाभ लिन यो स्तम्भ ज्यादै महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘यो अवधारणालाई सफल पार्नका लागि संरक्षणलाई विशेष ध्यान दिनुपर्छ ।’


नेपालमा केही सामुदायिक वन, वृक्षरोपण क्षेत्र र केही मात्र साझेदारी तथा राष्ट्रिय वन बाहेक अधिकांश वनको वैज्ञानिक व्यवस्थापन हुन नसकेको वन विभागले जनायो । सबै खाले वन, सामुदायिक, साझेदारी, सरकारद्वारा व्यवस्थित वन क्षेत्रको दिगो एवं वैज्ञानिक व्यवस्थापन गर्दा वर्षेनी लाखौंका लागि रोजगारीको थप अवसर सृजना हुने वनले लक्ष्य लिइएको छ ।


यसका लागि वन प्राविधिक, उपभोक्ता, मजदुर, व्यवस्थापकहरूको क्षमता बृद्धि अनुसन्धान, नीति निर्माण, सञ्चारजगत, आमनागरिक समाज सबैलाई वैज्ञानिक व्यवस्थापनको महत्त्व र उपलब्धिका बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको अधिकृत सिंहको भनाइ छ ।


यहाँ चोचा र चेतनगर वन सेक्टरअन्तर्गत ६ वटा बैज्ञानिक वनको व्यवस्थापन क्षेत्र बनाइएको छ । गत आवमा हातेमालो, जनएकता र नमुना सामुदायिक वन उपभोक्ता समूहमा व्यवस्थापनको काम सम्पन्न गरिसकेको छ । यी समूहमा समेत सालका साना रूख हुर्किदै गएको छ । यस आवमा तिलेश्वर, भोर्लेनी र देउराली सामुदायिक वन उपभोक्ता समूहमा बैज्ञानिक वनको कार्ययोजना सुरु गरिन लागेको सहायक वन अधिकृत अरूण कर्णले जनाए ।


संरक्षणमा चुनौती

चैत बैशाखको महिनामा देशभरिका राष्ट्रिय वनमा डढेलो लाग्ने गरेको छ । यसले जंगलभिका काँचो,सुखेको काठ दाउरा र साना बिरुवालाई हानि पुर्‍याउँदै आएको छ । ‘बैज्ञानिक वन संरक्षणका मुख्य चुनौती भनेकै डढेलो हो,’ वन अधिकृत सिंह भन्छन्, ‘यसबाट जोगाउन सके ८० वर्षमा पूरै वनभरि सालको रूख मात्र देख्न पाइन्छ ।’ सरकारले वर्षेनी डढेलो नियन्त्रणका लागि करौडौंको रकम खर्चेको छ । तर उपलब्धि भने शून्य छ ।


बैज्ञानिक वन व्यवस्थापनमा डढेलो समस्या बढी देखिएको छ । त्यसैले यस क्षेत्रको चारैतिर फायरलाइन बनाइएको छ । यसले आगोभित्र प्रवेश गर्न पाउँदैन । डढेलोको समयमा समूहका सदस्यहरू रखबारी गर्न जान्छन् ।


बैज्ञानिक वन जोगाउनका लागि मुख्य चुनौत डढेलो भएको अध्यक्ष ठोकरले बताए । ‘गएको सुख्खा मौसममा डढेलोबाट जोगाउन सफल भयौं,’ उनले भने, ‘साना सालका बोट राम्ररी नहुर्केसम्म संरक्षणलाई मजबुत बनाउनुपर्छ ।’

प्रकाशित : कार्तिक ३०, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?