२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सांस्कृतिक सम्बन्ध जोड्दै मिनाप

श्यामसुन्दर शशि

जनकपुर — त्रेतायुगमा राम–सीताबीच भएको विवाहपछि नेपाल र भारतको रोटीबेटीको सम्बन्ध गाँसिएको हो । पछिल्लो समय जनकपुरको मिथिला नाट्यकला परिषद् (मिनाप) ले नाटकमार्फत नेपाल–भारतबीच सांस्कृतिक सम्बन्ध जोडेका छन् ।

सांस्कृतिक सम्बन्ध जोड्दै मिनाप

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्ले भारतको राजधानी नयाँदिल्ली र राजस्थानको जयपुरमा आयोजन गरेको चौथो अन्तर्राष्ट्रिय रामायण महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै परिषद्ले सीताको चरित्रमा आधारित ‘जानकीलीला गीतिनाटक’ को प्रदर्शन गरे ।


दिल्लीको बहुचर्चित कमानी प्रेक्षागृहमा कात्तिक १३ गते र जयपुरको मसालाचोकस्थित रामवागमा निर्मित आकर्षक एमफी थिएटरको खुला आकासमा ‘जानकीलिला गीति’ नाटक प्रदर्शन गरेको थियो । दर्शकका रूपमा भारतका चर्चित नाट्यकर्मीसँगै भारतका विभिन्न सहरमा कार्यरत तथा अध्ययनरत प्रेक्षागृह पुगेका थिए ।


मिनापका कलाकार यसअघि पनि भारतको नयाँदिल्ली, पटना, मधुवनी, सहरसालगायत सीमावर्ती गाउँनगरमा नाटक तथा सांस्कृतिक कार्यक्रममा गरिसकेका छन् । मिनाप अध्यक्ष परमेश झा यसलाई सुनौलो अवसरका रूपमा व्याख्या गरेका छन् । ‘महोत्सवमा सहभागी भएर हामीले विश्व रंगमंचको अवस्था, सिल्प तथा शैलीबारे जानकारी प्राप्त गर्‍यौं । हामीले सिक्यौं अनि नेपालको रंगमंचबारे अरू मुलुकका सहभागीलाई पनि सिक्ने मौका प्राप्त भयो, झाले भने ।


भारतका विभिन्न सहरमा रोजीरोटी गरेर बस्दै आएका तथा अध्ययन अनुसन्धानमा संलग्न नेपाली आफ्नो मुलुकको नाटक हेर्न पाउँदा हुरुक्कै भएका थिए । ‘वर्षांैपछि आफ्नो मातृभाषाको लोकगीत आँखासामु हेर्न पाएको छु । रामसीताको चरित्रलाई रंगमंचमा साकार देखेको छु । खुसी लाग्नु स्वाभाविक हो,’ जवारलाल नेहरू विश्वविद्यालय, दिल्लीमा राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै गरेकी नेहा झाले भनिन् ।


जनकपुर मामा घर भएको झा जानकीलीलाको प्रदर्शनबाट दुई देशबीचको सम्बन्ध अझ प्रगाढ

हुने बताइन् । धनुषा, नगराइन नगरपालिकास्थित गंगुली गाउँमा माइती भई हाल जयपुरमा बस्दै आएकी अनुराधा झा जानकीलीला देखेर भावुक बनिन् ।


आफ्ना श्रीमान्, दुई छोरी, एक छोरा र आधा दर्जन हिन्दीभाषी छिमेकीसहित जयपुरको मसाला चोकस्थित एमफी थिएटर पुगेकी अनुराधाको प्रतिक्रिया थियो, ‘मैले त रामलीला, रामायण तथा विभिन्न धर्मग्रन्थहरूमार्फत राम जानकीको चरित्रबारे पढे र देखेको छु । तर नयाँ पुस्ताका युवायुवतीका लागि जानकीलीला अत्यन्तै उपयोगी छ ।’ अन्य नाट्य समूहहरू ट्रयाक (रेकर्डिङ गीत संगीत) का आधारमा नाटक प्रदर्शन गरेका थिए भने मिनापले मिथिलाञ्चलका नगाडा, झाइल, टंकी, मजीरालगायतका पारम्परिक बाजाहरूको मदतले लाइव गीत, संगीत तथा अभिनय गरेका थिए ।


दिल्लीको बहुचर्चित नाट्य संस्था मेलोरंगका अभिनेता मायानन्द झा यस नाटकलाई आधुनिक र पारम्परिक नाटकको फ्युजनको संज्ञा दिएका थिए । उनले भने, ‘आधुनिक नाटकको युगमा मिनापले पारम्परिक नाट्य शैली र लोकगीत संगीतलाई जगेर्ना गरेको छ ।’


साहित्य समीक्षक नित्यानन्द मण्डल मिनापको नाटकले दुई देश बीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउँछन् । उनले भने,‘ जानकीलीला जनकपुरको मौलिक कथा हो । नाटकमा जानकीको शास्त्रीय तथा लोक चरित्र दुबैलाई प्रदर्शन गरिएको छ ।’


महोत्सवमा सहभागी आयोजक भारतसहितका अन्य मुलुकका नाट्य समूहहरूले रामको चरित्रमा आधारित रामलीला प्रदर्शन गरेका थिए भने नेपालको प्रतिनिधित्व गर्दै मिनापले भने जानकीलीला प्रदर्शन गरेको थियो । जानकी जन्मपूर्व मिथिलामा परेको बाह्र वर्षको अनिकालबाट जोगिन वर्षाको कामना गर्दै राजा जनकले हलेष्ठी यज्ञ गर्दा वर्षा भएको र हलोको सीत (अग्रभाग) को स्पर्शबाट सीताको जन्म भएको प्रशंगबाट नाटक सुरु भएको थियो ।


नाटकमा जानकीको जन्म, फूलबारीलीला, धनुष यज्ञ, जानकी विवाह तथा कोबरसम्मको कथा वर्णन छ । पारम्परिक रामलीला शैलीको यस नाटकमा सोहर, बधैया, पमरिया, झुला, जटजटीनलगायतका पारम्परिक गीत संगीतसँगै आधुनिक गीत संगीत तथा कीर्तनिया, नौटंकी, विदापद तथा रामसीता विवाह संकीर्तण जस्ता लोक नाच शैलीहरूको समेत प्रयोग गरिएको छ ।


संगीतकार तथा गायक सुनिल मल्लिकले मिथिला क्षेत्रमा विद्यमान पारम्परिक नाच तथा नौटंकी लोप हुने अवस्थामा रहेकाले पारम्परिक लोक नाचहरूको संरक्षण तथा आधुनिक नाट्य सिल्पको विकास गर्ने जमर्को गरेको बताए ।

प्रकाशित : मंसिर १, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?