कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

२० प्रतिशत सोलार बत्ती बेकामे

ठेकेदारले पहिलो २ वर्ष नि:शुल्क मर्मतसम्भार गर्ने अवधि मर्मतै नगरी सकेका छन्
शंकर आचार्य

पर्सा — नियमित मर्मतसम्भार नगरिँदा ३ वर्षअघि वीरगन्ज महानगरका सडकमा जडान गरिएका सोलार बत्ती बिग्रँदै गएका छन् ।

आर्थिक वर्ष ०७३/७४ मा महानगरका विभिन्न क्षेत्रमा गरी ५ सय ५९ सोलार बत्ती जडान गरिएको थियो । त्यसपछि मर्मतसम्भारको काम भएकै छैन । कतिपय पोल बांगिएका र लडेका छन् ।


राजधानीको बालुवाटारस्थित सन पावर प्रालि ठेकेदारमार्फत वीरगन्ज महानगरपालिकाको कार्यालयले ती सोलार बत्ती जडान गरेको हो । मनपासँग ठेकेदार कम्पनीले गरेको सम्झौताअनुसार कम्पनीले ३ वर्षसम्म बत्तीको मर्मतसम्भार गर्नु पर्छ । त्यसमध्ये पहिलो २ वर्ष नि:शुल्क र १ वर्ष सशुल्क मर्मतसम्भार गर्नुपर्नेछ । तर ठेकेदारले पहिलो २ वर्ष नि:शुल्क मर्मतसम्भार गर्ने अवधि मर्मतै नगरी सकिएको छ ।


३ वर्षअघि महानगरका विभिन्न टोलमा उपभोक्ता समितिमार्फत सोलार बत्ती जडान गर्ने लहर चलेको थियो । ग्रिनसिटी उपभोक्ता समितिबाट सुरु भएको यो लहर पानीटंकी उपभोक्ता समिति, चिनीमिल उपभोक्ता समिति, शान्तिटोल उपभोक्ता समिति, भन्सार सौर्य बत्ती उपभोक्ता समिति, तेजारथटोल उपभोक्ता समिति, मुर्ली टोल उपभोक्ता समिति, बहुअरी उपभोक्ता समिति, शिरोमणि नगर विकास समितिसम्म बिस्तार भएको थियो ।


संस्थागत रूपमा पनि नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्ज उद्योग वाणिज्य संघ, गुरुद्वारा आदिले पनि सोलार बत्ती जडान गरेका थिए । उपभोक्ता समितिलाई सरकारले महानगरपालिकाको कार्यालयमार्फत सहुलियत दरमा पोल सहितको सोलार बत्ती उपलब्ध गराएको थियो । प्रत्येक सोलार बत्ती पोलको ९७ हजार २६ रुपैयाँ ५० पैसा लागत रहेको थियो ।


जसमा नेपाल सरकारले ६५, वीरगन्ज मनपाको कार्यालयले २० र उपभोक्ताले १५ प्रतिशत रकमको दायित्व वहन गरेका थिए । उपभोक्तालाई प्रत्येक पोलको करिब १५ हजार मात्र लागत पर्न गएको थियो । जसले गर्दा टोलटोलमा सस्तो र सहुलियत दरमा पाइएको सौर्य बत्ती पोल जडान गर्ने लहर चलेको थियो ।


वीरगन्ज महानगरपालिकाको कार्यालयका इलेक्ट्रिक इन्जिनियर सुरेन्द्र प्रसाद साहले ५ सय ५९ मध्ये झन्डै २० प्रतिशत बत्ती हाल बिग्रेर काम नलाग्ने भएको बताए । ‘कम्तीमा २० प्रतिशत बत्तीमा कुनै न कुनै समस्या छ, धेरै ठाउँबाट जनताको गुनासो आएको छ,’ उनले भने, ‘आदर्शनगर, चिनीमिल आवास क्षेत्र, तेजारथ टोल आदि ठाउँबाट बढी गुनासो आइरहेको छ ।’


आफूले व्यक्तिगत रूपमा तथा कार्यालयबाट संस्थागत रूपमा समेत ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गरिएको साहले बताए । हाल मर्मतसम्भारको सम्झौता अवधि थप एक वर्ष बाँकी रहेकाले मनपाको कार्यालयका प्राविधिकले ती सोलार बत्तीको मर्मत गर्न नमिल्ने अवस्था रहेको उनले बताए ।


पटकपटकको ताकेतापछि हाल ठेकेदार कम्पनी मर्मतका लागि आफ्ना प्राविधिक पठाउन तयार भए पनि उसले प्राविधिकको खर्च मनपाको कार्यालयले व्यहोर्नुपर्ने माग गरिरहेको उनले बताए । उक्त कम्पनीले मनपाको कार्यालयमा धरौटीस्वरूप १४ लाख जम्मा गरेकोमा त्यसै रकमबाट प्राविधिकलाई खर्च स्वरूप केही रकम दिएर मर्मतमा खटाउने गृह कार्य पनि भइरहेको उनले बताए ।

प्रकाशित : मंसिर १, २०७५ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?