सडक निर्माणमा चलखेलको आरोप

जनकपुर — जनकपुर उपमहानगरपालिकाको पदाधिकारीको जग्गा जोगाउन प्रसिद्ध गंगासागरको डिल मासेर सडक निर्माण गर्न खोजिएको कांग्रेसले आरोप लगाएको छ । कांग्रेस नगर कमिटीले उपमहानगरपालिका र नापी कार्यालय, धनुषामा आर्थिक चलखेल गरेको आरोप लगाए ।

कांग्रेस नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गरेर एकीकृत सहरी विकास आयोजनाअन्तर्गत निर्माणाधीन शिवचोक–कदमचोक सडक निर्माण क्रममा निर्धारित मापदण्ड र आधिकारिक नक्सामा हेरफेर गरेर शिवचोकस्थित होन्डा शोरुमका सञ्चालक सतिश साहको निजी जग्गा जोगाउन खोजिएको नगर सभापति मनोज साहले आरोप लगाए ।


‘२०४४/०४५ सालको सहरी नक्सामा गंगासागरको डिल भनी प्रस्ट उल्लेख गरिए पनि नापी शाखा धनुषाले पछिल्लो पटक उक्त जग्गालाई सडकका रूपमा परिवर्तन गरेको छ अनि यसै नक्साका आधारमा जनकपुर उपमहानगरपालिकाले सडक निर्माण गर्न लागेको हो । यसमा आर्थिक चलखेल भएको हुनुपर्छ,’ नगर सभापति साहले भने ।


यसरी गंगासागरको डिललाई सडकका रूपमा नापी गर्दा सडकभन्दा उत्तरमा अवस्थित होन्डा शोरुम तथा यसभन्दा पूर्वका जग्गाधनीको ७, ८ धुर जग्गा जोगिने तथा गंगासागर डिलको त्यतिकै जग्गा सडकमा जाने कांग्रेस वडा २ का सभापति गणेश झाले बताए । झाका अनुसार शिवचौकमा अवस्थित उक्त जग्गा प्रतिधुर ५० लाखसम्ममा बिक्री हुन्छ । यसरी नापी शाखा र जनकपुर उपमहानगरपालिकाको बदनियतका कारण निजी व्यक्तिलाई साढे तीन करोडभन्दा बढी फाइदा हुने तथा धार्मिक महत्त्वको गंगासागरको डिल मासिने उनले बताए ।


पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको ०४४/४५ सालको प्रमाणित नक्सामा शिवमन्दिर उत्तरको कित्ता नम्बर ४ को जग्गा गंगासागरको डिलका रूपमा उल्लेख गरिएको छ भने पछिल्लोपटक नापी शाखाले उपलब्ध गराएको नक्सामा कित्ता नम्बर ४ लाई दुई भागमा विभाजित गरी सोही जग्गालाई सडकका रूपमा उल्लेख गरेको छ ।


एसियन विकास बैंकको सहयोगमा जनकपुरमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाअन्तर्गत शिवचौक–कदमचौक सडकको चौडाइ १३ मिटर कायम गरिएको छ । यसअघि उक्त सडक ३ मिटर ७० सेन्टिमिटर थियो ।


पुरानो सडकलाई विस्तार गर्दा उत्तरमा अवस्थित निजी जग्गा तथा दक्षिणमा अवस्थित शिवमन्दिरभन्दा पूर्वको गंगासागर डिलको जग्गाबाट ४ मिटर ६५ सेन्टिमिटर लिनुपर्नेमा नगर पालिकाले गंगासागर डिल मासेर निजी जग्गालाई जोगाउन खोजेको आरोप कांग्रेस नेताहरूले लगाए ।

प्रकाशित : मंसिर १, २०७५ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?