टिपरको धूलोले सास्ती

पवन यादव

सिमरा — निर्माणाधीन मटिअर्वा(कलैया(मानमथ सडकमा गुडेका टिपर, ट्रक, बस, अटो लगायतका सवारीले उडाएको धूलोले दिउँसै बाटो देखिँदैन । पैदल, साइकलयात्री, मोटरसाइकल यात्रीलाई सबैभन्दा बढी समस्या परेका छन् । 

टिपरको धूलोले सास्ती

निर्माण कम्पनीले सडकमा पानी नहाल्दा धूलोले पूरै सेतो बन्नु परेको गुनासो कलैया उपमहानगरपालिका श्रीपुर निवासी श्रीलाल प्रसाद यादवले गुनासो गरे ।


‘सडकमा निस्कने बित्तिकै गाडीले उडाएको धूलोले सास फेर्न पनि मुश्किल पर्छ,’ उनले भने, ‘धूलो उडेको समयमा आँखा पनि देख्दैन ।’ सडक बन्नु राम्रो कुरा हो । तर सडक निर्माणको नाममा मान्छे मार्ने, मानिसलाई बिरामी पार्ने गरी काम गर्नु हुँदैन । निर्माण कम्पनीले जनता मार्ने काम गरिरहेको उनले आरोप लगाए ।


निमाण कम्पनीले समयमै सडकको निर्माण सम्पन्न गर्न सकेको छैन । धूलोले कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिका डेढ दर्जनभन्दा बढी गाउँका बासिन्दा सबैभन्दा बढी मारमा परेका छन् । वर्षायाममा हिलैहिलो र सुखा याममा धुलैधूलोबाट आजित बनिरहँदा समेत समस्या समाधान गर्न सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयले आरोप लगाएका छन् ।


उक्त सडकको निर्माण हुन्छ भन्दाभन्दै बारावासी वर्षौंदेखि आश लगाएर सुन्दै हेर्दै आएका छन । ‘एक वर्ष होइन, दुई वर्ष होइन एक दशकभन्दा बढी नै वितिसक्यो निर्माण सुरु भएको तर अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।’


भारत सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त सडक केही वर्ष पहिला भारतकै भिस्वा वीभीयसआर (जेभी) हैदराबाद कम्पनीले सडकको नाप नक्सासँगै काम सुरु गरेको थियो । निर्माण सुरु भएको केही दिनमै उक्त कम्पनी एक्कासि बेपता भएपछि झन विजोग भएको थियो ।


अहिले नेपाली कम्पनीले काम सुरु गरे पनि निर्माणले गति लिन नसकेको स्थानीयले आरोप लगाएका छन् । निर्माण कहिले सम्पन्न हुन्छ र धूलोरहित सडकमा हिँड्न पाउने कहिले हो कलैया उपमहानगरपालिका २ औंधापुरका किशोरी भगतले बताए ।


‘हामीले कहिलेसम्म यसरी धूलो खाने ?,’ उनले भने, ‘धूलोले मर्न लागिसकेका छौं ।’ धूलोका कारण रुघाखोकी, खोक्दा खाकार कालो निस्कने, आँखामा चिलाउने, रातो हुने लगायतका समस्या भएको स्थानीयले भोग्न थालेको उनले बताए ।


सडकको दुबै छेउमा बसोबास गर्ने बासिन्दालाई २४ सै घण्टा आवतजावत गर्ने साना तथा ठूला सवारीका साधनहरूले उडाएको बाक्लो धूलोले समस्या परेको स्थानीय धर्मेन्द्र साहले जानकारी दिए । खानाका लागि सुकाउने धान लगायत अनाजमा समेत धूलो जमेर समस्या खेप्नु परेको उनीहरू बताउँछन् ।


त्यति मात्र नभई घरको छत, झयाल, ढोका, ओछयान लगायतको ठाउमा समेत धुलैधूलोले भरिएको हुन्छ । घरमा बस्न समेत निकै कठिनाइ हुने स्थानीयको भनाइ छ ।


उक्त सडक खण्ड भएर दैनिक सयौंको संख्यामा सवारी साधन आवतजावत गर्दछन् । ती ‘सवारीका साधनले गर्दा वर्षायाममा ठाउँठाउँमा एक फिटभन्दा बढी गहिरो खाल्डाखुल्डीमा जमेको पानी तथा हिलोका कारण झन समस्या भोग्यौं,’ बारा छोटकी फुलवरियाका प्रभु यादवले भने, ‘सुख्खा मौसममा धूलोको कहर खेप्नु परेको छ ।’


कम्तीमा बस्ती र विद्यालय रहेको स्थानमा सडकमा पानी हाली दिनुपर्‍यो । सडकमा पानी हालेर धूलोलाई कम गर्न सम्बन्धित निकाय वा निर्माण कम्पनीले चासो नदिएको उनले आरोप लगाए । धूलोको कारण श्वासप्रश्वास रुघाखोकी लगायत रोग लागी वार्षिक दर्जनौं व्यक्तिहरू बिरामी हुँदै आएका छन् ।


निर्माण कम्पनी र सम्बन्धित नगरपालिकालाई सडकमा पानी हालेर धूलो कम गर्न पटकपटक ताकेता गरिएको बराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले बताए । ‘निर्माण कम्पनी र ठेकेदारबीच समन्वय गरेर सडकमा पानी हाल्न भनेका छौं,’ उनले भने, ‘दिउँसोको बेला पानी हाले धेरै सहज हुन्छ ।’ १६ किलोमिटर सडक नगरपालिकाभित्रै पर्छ । यसमा नगरपालिकाले पनि चासो लिनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित : मंसिर १, २०७५ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?