कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

जन्मेदेखि ओछ्यानमा

भरत जर्घामगर

सिरहा — शरीरभन्दा टाउको अस्वाभाविक रूपमा ठूलो भएपछि सिरहाको उत्तरवर्ती धनगढीमाई नगरपालिका १४ बिहीबारेकी १२ वर्षीया एक बालिका उपचार अभावमा जन्मेदेखि नै ओछ्यान सुत्न बाध्य छिन् ।

जन्मेदेखि ओछ्यानमा

टाउको उठाउन नसक्दा निर्मलासिंह राजपुतकी माहिली छोरी रोजिता ओछयानमै सुतिरहन्छिन् ।

टाउको अस्वाभाविक भए पनि राजपुत परिवारले आर्थिक अभावमा छोरीको उपचार गराउन सकेका छैनन् । उपचार हुन नसक्दा रोजितालाई उनका आमा निर्मला रातदिन हेरचाहमा तल्लिन हुनुपरेको छ ।


‘जेठी छोरी सुनिता र कान्छी रचना दगुरी हिँडदा उनी पनि उठेर दगुर्न र खेल्न खोज्छिन्,’ रोजिताका आमा निर्मलाले सुनाइन् ‘टाउको उठाउन नसक्दा उनी रूएर बस्छिन् ।’


रोजिताले दिसापिसाव ओछ्यानमै सुतेको अवस्थामा गर्ने भएकाले उनको स्याहारसुसारमै दिन बित्ने गरेको उनले सुनाए ।


सुकुम्बासी परिवारका उनीहरू बिहीबारेमा एउटा सानो काठको घरमा बस्छन् । घर भएको जग्गा पनि

ऐलानी हो । निर्मलाका अनुसार जन्मदा टाउको ठूलो नभए पनि जन्मेको दुई महिनापछि अस्वाभाविक रूपमा टाउको बढेको हो ।


निर्मलाका पति सञ्जयले दिल्लीमा मजदुरी गरेर पठाएको रकमले उनीहरूको गुजारा जसोतसो चलेको छ । ‘पति दिल्लीमा मजदुरी गर्छन्, वर्षमा १५/१६ हजार लिएर आउँछन्, त्यही रकमले तीन छोरी र आफ्नो लालनपालन गर्नुपरेको छ,’ उनले दुखेसो गरिन् ‘छोरीको उपचार कहाँबाट गर्नु, उपचार गर्न पाएको भए हिँड्न सक्ने हुन्थिन कि भन्ने आशा छ नि ।’


छोरीले हिँड्न सक्ने कहिले हुन्छु मम्मी भन्दा निर्मला भक्कानिरहन्छिन् । ‘सवै कुरा बोल्छिन् । रेडियोमा गीत आउँदा रेडियासँगै गीत गाएर हात हल्लाई बस्छिन्,’ निर्मलाले भनिन्, ‘नाच्न खोज्छिन् तर नसक्दा घरीघरी रून्छिन् ।


‘छोरीको अवस्था दिनभरि टुलुटुलु हेरेर बस्न बाहेक केही उपाय छैन,’ निर्मलाले भनिन्, ‘गरिवलाई हजुर दैवले पनि दु:ख दिदो रहेछ, दैव पनि कति निष्ठुरी गरिवलाई नै सताउँदोरहेछ ।’ पिठो चामल किनेर छाक टार्छन् । जेठी छोरी सुनिता र कान्छी रचना विद्यालय जाँदा रोजिताले पढ्न मन गर्छिन् ।


बिहीबारे पुग्ने जोकोही रोजिताको अवस्था देखेर उपचारमा सहयोग गर्ने बताए पनि कसैले अहिलेसम्म सहयोग नगरेको उनले सुनाइन् । बाटो हिँड्नेलाई काका, दादा, मामा, काकी भनेर रोजिताले बोलाउँदा छोरीको साहै्र पीर लाग्ने गरेको निर्मलाले सुनाइन् ।

प्रकाशित : मंसिर २, २०७५ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?