२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

चापाकलबाट आफैं पानी

शंकर आचार्य

पर्सा — मुलुकका कतिपय स्थानमा खानेपानीको चरम अभाव छ । खान त परै जाओस् सिँचाइ गर्न पनि खोलानाला सुकेर काकाकुल हुन्छ । सहर बजारमा स्वस्थ्य खानेपानी नपाउँदा महँगो मिनरल वाटर खाने गरिन्छ ।

चापाकलबाट आफैं पानी

तर पर्साको केही गाउँमा भने एक पटक चापाकल गाडेपछि निरन्तर पानी आइराख्छ भन्दा धेरैले पत्याउँदैनन् । एक पटक चापाकलको पाइप गाडेपछि मानवीय प्रयासबिनै २४ सै घण्टा अनि ३ सय ६५ दिन नै एकनासले पानी आइराख्छ ।


कुरो पर्सागढी नगरपालिकाको हो । झट्ट हेर्दा जो कोही पनि यसरी चापाकलबाट निरन्तर पानी बगी राखेको दृश्य देख्दा जिब्रो टोक्छन् । नगरपालिकाको वडा नम्बर १, २ र ४ छतिवन टाँडी, कटारी, मनवामा गरी करिब ५० स्थानमा स्थानीयले गाडेको चापाकल र बोरिङमा यसरी निरन्तर पानी आउँछ ।


स्थानीय शिक्षक दिल्लीराम आचार्य विगतमा गाउमा फाट्टफुट्ट यस्ता चापाकल र बोरिङ रहेकोमा २०७२ सालपछि यिनको संख्या बढेको बताउँछन् । ‘विगतमा चापाकलहरूबाट थोरै परिमाणमा पानी आउथ्यो तर २०७२ को भूकम्प पछि चापाकलहरूबाट धेरै पानी बग्न थाल्यो,’ उनले भने, ‘खै किन यसो भएको हो, बुझ्न सकिएन, त्यसपछि नयाँ चापाकल र बोरिङ गाड्ने लहर नै चलेको छ ।’


अर्का स्थानीय रामबहादुर पासवानले टोलमा एक सय फिटमुनि पाइप गाडे लगत्तै पाइपबाट आफैं पानी फाल्ने बताए । ‘स्थानीयले डेढ देखि ८ इन्चसम्मको पाइप यसरी पानी तान्ने प्रयोजनका लागि गाडेका छन्,’ उनले भने, ‘अधिकांश स्थानीयले घरायसी प्रयोजन तथा बालीनालीमा सिँचाइका लागि यस्तो पानी प्रयोग गर्छन् ।’ छिमेकी जिराभवानी गाउँपालिकामा फाट्टफुट्ट यस्ता चापाकल छन् । यी बाहेक जिल्लाका अन्य भागमा यसरी चापाकलबाट आफैं पानि आउँदैन ।


टोलको उत्तरतर्फ घना राष्ट्रिय वन रहेकाले गाउँमा जमिनमुनि पानीको सतह राम्रो भएर यसरी थोरै लगानीमा नि:शुल्क पानीको सुविधा पाइएको उनले बताए । अर्का स्थानीय वीरेन्द्र प्रसाद कुशवाहाले आफूहरू जिल्लाका अन्य भेगका बासिन्दाभन्दा भाग्यमानी रहेको बताए ।


‘हामीले खान र सिँचाइ गर्न पानी किन्नु परेको छैन, यो हरियो वनजंगलकै कारण सम्भव भएको हो,’ उनले भने, ‘हामीले वनजंगलको महत्त्व बुझेका छौं, त्यसकारण वनजंगल मास्नु होइन जोगाउनुपर्छ, जसले हामीलाई मात्र होइन हाम्रा सन्ततिलाई पनि यसरी नै सुविधा दिन्छ ।’

प्रकाशित : मंसिर ३, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?