कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मधेसमा झोलुंगे पुल

लागत कम र निर्माण कार्य चाँडै हुने हुँदा सरकारले यस्ता पुल निर्माणलाई प्राथमिकता दिएको हो । 
शिव पुरी

रौतहट — पछिल्लो समय मधेसमा झोलुंगे पुल निर्माण हुने क्रम बढेको छ । झोलुंगे पुल भन्नासाथ पहाडलाई मात्रै सम्झिन्थ्यो । अहिले मधेसका नदीहरूमा पनि यस्ता पुलहरू निर्माण हुन थालेका छन् । यस्ता पुलहरू आकर्षण बनेको छ । 

मधेसमा झोलुंगे पुल

प्रदेश २ का रौतहट, बारा, पर्सा,सर्लाही लगायतका जिल्लामा पछिल्ला वर्षमा झोलुंगे पुल निर्माणले आवतआवतमा सहजता ल्याएको छ । लागत कम र निर्माण कार्य चाँडै हुने हुँदा सररकारले यस्ता पुल निर्माणलाई प्राथमिकता दिएको हो ।


बृन्दावन नगरपालिका २ स्थित परसौनी र बलरी गाउँको बीच सिमानामा पर्ने चादी नदीमा झोलङगे पुल निर्माण गरिएको छ । अहिले त्यस भेगका स्थानीयलाई आवतआवतमा सहज भएको छ ।


चन्द्रपुर १ को नुनथरस्थित बागमती, गौर नपास्थित कोइरीटोलको बरहवा खोला, नरकटियाको बरैघाट, सरुअठाको रामजानकी घाटमा झोलुंगे पुल निर्माण भएका छन् । गौरको झोलुंगे पुल उद्घाटन गर्न तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई आएका थिए । उनले मधेसमा झोलुंगे पुल निर्माण हुन थालेकोमा खुसी लागेको बताएका थिए ।


मौलापुर, पिपरिया, गैडाटार, मिठुअवा,सरुअठा,मानपुर लगायतका स्थानमा एक दर्जन बढी झोलुंगे पुल निर्माण भएको जिल्ला समन्वय समितिका इन्जिनियर दिपेन्द्र झाले बताए । ‘निर्माण खर्च पनि कम लाग्ने र चाँडै बन्ने हुनाले यसको महत्त्व बढेको छ,’ उनले भने, ‘पछिल्लो समय मधेसका जिल्लाहरूमा यस्तो पुलको माग बढदो छ ।’


स्पानको अवस्था हेरी एउटा झोलुंगेले पुल निर्माणका लागि २२ देखि २५ लाखसम्म खर्च लाग्ने झाले सुनाए । पुल निर्माणका लागि ३२ देखि ४० मिटरसम्म स्पानको निर्माण गरिन्छ । २ महिना भित्रमा एउटा पुल निर्माण भइसक्ने इन्जिनियर झाले जानकारी दिए ।


नुनथरमा निर्माण गरिएको झोलुंगे पुल पर्यटकका लागि आकर्षण बनेको छ । पर्यटकीय स्थल जोड्ने उद्देश्यले बागमतीमा झोलुंगे पुल निर्माण भएको हो । उक्त क्षेत्रमा धार्मिक तथा पर्यटकीयस्थल भएकाले घुम्न आउनेहरूको आकर्षणको केन्द्र बन्दै आएको छ । पर्यटकहरूलाई पुलले लोभ्याएको छ ।


चन्द्रपुरकै गैडाटारको चादी नदी, रतौली खोला र फूलबारीस्थित हर्दिया खोला, मिठुअवास्थित झाँझखोला र गुजरा नपाको कनकपु स्थित सिम्रीटोलको धन्सार खोलामा झोलुंगे पुल निमार्णको चरणमा रहेको छ ।


स्थानीय विकास मन्त्रालयको सहयोगमा तत्कालीन जिल्ला विकास समितिमार्फत पुलहरू निर्माण भएका हुन् । चादी नदीमा पुल नहुँदा आवतजावतमा कठिनाइ हुँदै आएको बलरीका सिकन्दर दासले बताए । ‘वर्षाका बेला मानिसलाई निकै कठिनाइ हुन्थ्यो,’ उनले भने, ‘अहिले दुबै गाउँका स्थानीयले राहत पाएका छन् ।’


झोलुंगे पुलले साइकल, मोटरसाइकल र पैदल यात्रुहरूलाई बढी सुविधा दिएको छ । पुलले गाउँमा उत्पादन भएका तरकारी, अन्न, दूध नजिकैको बजारसम्म पुर्‍याउन सजिलो भएको छ । यस्ता पुलहरूमा युवायुवतीहरू फोटो खिच्न व्यस्त देखिन्छन् । यो समय काट्ने माध्यम समेत बनेको छ ।


यस्ता पुलमा किशोर किशोरीहरू सेल्फी लिदै गरेको प्रशस्त भेटिन्छन् । ‘पहाडमा झोलुंगे पुल धेरै देख्न पाइन्थ्यो,’ बृन्दावन नगरपालिकाका मेयर रामस्नेही रायले भने, ‘अहिले मधेसमा पनि यस्ता पुल बन्न थालेको छ । यसले थप आकर्षण बनाएको छ ।’

प्रकाशित : मंसिर ३, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?