१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मापदण्ड मिचेर बालुवा

अवधेशकुमार झा

राजविराज — सप्तरीको पूर्वी र पूर्वीदक्षिणी भागको दु:खका रूपमा रहेको खाँडो नदीबाट जथाभावी बालुवा निकाल्ने क्रम बढेको छ । अप्राविधिक रूपमा नदीबाट बालुवा निकाल्दा बाढी आए बाँध कटानको खतरासँगै राजविराज–हनुमानगर सडक खण्ड समेत बग्ने जोखिम बढेको छ । 

मापदण्ड मिचेर बालुवा

यसका अतिरिक्त नदीबाट बालुवा निकाल्ने ट्रयाक्टरहरूले पछाडिको डाला नलगाउने तथा अत्यधिक बालुवा लोड गरी पाल समेतले नछोप्ने गरेका कारण राजविराज–हनुमाननगर सडक खण्डको खाँडो पुलदेखि झल्हीसम्म सडकमै बालुवा थुप्रिँदा दुर्घटनाको जोखिम समेत बढेको छ ।


खाँडो खोलाको क्षेत्र र खोला भित्रै रहेको व्यक्तिको निजी नम्बरी जग्गाबाट पछिल्लो एक महिनायता जथाभावी रूपमा बालुवा,माटो निकाल्ने काम भइरहेको हो ।


दैनिक रूपमा ५० वटाभन्दा बढी ट्रयाक्टरले पाँच सय ट्रिपभन्दा बढी बालुवा खाँडो खोलाबाट अप्राविधिक रूपमा निकाल्ने गरेका छन् । नियन्त्रणका लागि स्थानीय तह र स्थानीय प्रशासनको ध्यान नपुगेको स्थानीय बताउँछन् ।


राजविराज–हनुमाननगर सडक खण्डअन्तर्गत रहेको खाँडो पुलदेखि पूर्व सडक छेउबाट माटो र बालुवा जथाभावी रूपमा निकालिदा नदीको क्षेत्रमा सडक छेउमै पोखरी नै बनेको छ । अहिले बाढी आए जुनसुकै बेला सडक समेत बगाएर खाँडोखोला बस्ती पस्ने खतरा बढेको तोपाका सत्यनारायण यादवले बताए । उनले भने, ‘जसरी सडक छेउ,बाँध छेउ लगायतका स्थानबाट अप्राविधिक रूपमा बालुवा निकाल्ने कार्य भइरहेको छ यसले नदी बस्ती पस्ने जोखिम बढेको छ ।


नदीभित्रै माटो काटने र ट्रयाक्टरमा लोड गर्ने चारवटा मेसिन नै राखेर ट्रयाक्टरमा बालुवा लोड गरिएको छ । सडक छेउबाट बालुवा निकाल्ने गरिएकाले उक्त स्थानहरूमा रहेका बिजुलीका पोलहरू पनि जुनसुकै बेला ढल्ने स्थितिमा पुगेको छ । खाँडो नदी नियन्त्रण आयोजनाले भने उक्त कार्यको नियन्त्रण स्थानीय तहले गर्नुपर्ने बताउँदै आएको छ ।


अप्राविधिक र जथाभावी रूपमा नदीको दोहन हुँदा नदी बस्ने खतरा सँगै तत्कालै सडक दुर्घटनाको जोखिम अत्यधिक बढेको छ । नदीबाट बालुवा लोड गरी निस्कने ट्रयाक्टरहरूले पछाडिको डाला नलगाउने,बालुवा त्रिपालले नछोप्ने गरेका कारण ट्रयाक्टरबाट बालुवा सडकमा झरी थुप्रिएको छ ।


जसका कारण कुनै ठूला सवारी साधन सडक पार गर्ने बित्तिकै तल बालुवा थुप्रिएका कारण सडक धुलाम्य भई बाटो हिँडन समेत ग्राहो भएको र दुर्घटनाको जोखिम समेत बढाएको तोपाका सफिक मंसुरीले बताए ।


खाँडो नदी नियन्त्रण आयोजना राजविराजका प्रमुख सिनियर डिभिजनल इन्जिनयर विष्णुदेव यादवले खाँडो नदीबाट अव्यवस्थित रूपमा बालुवा निकालिने गरिएकाले बाँधमाथि जोखिम बढेको बताए ।


उनले नदीको पूर्वी भागबाट अव्यवस्थित रूपमा बालुवा निकालिने गरिएकाले नदीले धार परिवर्तन गर्ने खतरा बढेको र अहिले बगिरहेको भन्दा नदी पूर्वतर्फबाट बगे बस्ती पस्ने खतरा बढने बताए । उनले सडक किनारबाट पनि अव्यवस्थित रूपमा बालुवा निकालिएकाले सडक समेत नदीको बाढीको जोखिममा परेको जानकारी दिए ।

प्रकाशित : मंसिर ३, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?