कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ज्येष्ठ नागरिकको घरमै परीक्षण

राजविराज — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाभित्र रहेका ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएका नागरिकले अब घरमै नि:शुल्क स्वास्थ्य परीक्षण गराउन पाउने भएका छन् ।

ज्येष्ठ नागरिकको घरमै परीक्षण

ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएकाहरूको हकमा गाउँपालिकाले घरघरमै स्वास्थ्यकर्मी पठाएर उनीहरूको स्वास्थ्य परीक्षण र नि:शुल्क मापदण्डका औषधि समेत वितरण गर्ने कार्य सुरु गरेको हो ।


गाउँपालिकाभित्र रहेको ८ वटै वडामा महिनाको एक पटक घरघरमै स्वास्थ्यकर्मीको टोली परिचालन गरिने तयारी गरिएको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए । ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएकालाई घर घरमै नि:शुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण कार्यक्रमको सोमबार वडा नम्बर ५ कोइलाडी बरसाइनमा अध्यक्ष सिंहले शुभारम्भ गरे ।


प्रत्येक महिना घरमै पुग्ने स्वास्थ्यकर्मीको टोलीले ज्येष्ठ नागरिकको ब्लड प्रेसर जाँच, तौल लिने सहितका सामान्य स्वास्थ्य परीक्षणका अतिरिक्त उनीहरूको शरीरमा प्रोटिनको स्तर, मधुमेह र मृगौलाको समेत परीक्षण गर्ने सिंहले जानकारी दिए ।


स्वास्थ्य परीक्षण टोलीले घरमा पुगेर ज्येष्ठ नागरिकलाई एउटा ‘स्टीक’ दिने र त्यसमा पिसाब परीक्षणबाट उनीहरूको प्रोटिनको स्तर मापनका अतिरिक्त सुगर, मृगौलाको अवस्थाबारे जानकारी प्राप्त हुने तिलाठी कोइलाडी गाउँपालिकाका स्वास्थ्य संयोजक सिअहेब शैलेशकुमार मिश्रले जानकारी दिए ।


गाउँपालिका अध्यक्ष सिंहले कार्यक्रमअन्तर्गत गाउँपालिकाका ८ वटै वडामा रहेका दलित महिला र पुरुष गरी ५ सय ४ जना ज्येष्ठ नागरिक र ८ सय ४८ अन्य ज्येष्ठ नागरिक तथा २ सय ३६ एकल ज्येष्ठ नागरिक गरी कुल ९ सय २ महिला र ७ सय १६ पुरुष ज्येष्ठ नागरिक गरी १ हजार ६ सय १८ जना ज्येष्ठ नागरिकको मासिक रूपमा घरमै गएर स्वास्थ्य परीक्षण गरिने बताए ।


छोरा वा अन्य व्यक्ति रोजागारीका लागि अन्यत्र जाने तर घरमा रहेका ज्येष्ठ नागरिक बिरामी भए पनि स्वास्थ्य संस्थासम्म पुग्न अप्ठ्यारो भई रोगको जटिलता बढ्दै जाने स्थिति सृजना भएपछि ज्येष्ठ नागरिकको हकमा घरघरमै गएर स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको अध्यक्ष सिंहले जनाए । उक्त कार्यक्रम ८ वटै वडामा सुरु भइसकेको बताउँदै अध्यक्ष सिंहले कार्यक्रम निरन्तर रूपमा सञ्चालन भइरहेने जानकारी दिए ।

प्रकाशित : मंसिर ४, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?