सेकुवाको धूवाँले सताइए कलैयावासी

व्यस्त बजारमा धूवाँको मुस्लो र सेकुवाको वास्नाबाट जोगिन कतिपय बटुवाहरू नाकमुख छोप्दै आउजाउ गरेको देखिन्छन् ।
लक्ष्मी साह

बारा — सेकुवाका लागि कलैया दशकौंदेखि प्रसिद्ध छ । जिल्लाको सदरमुकामसहित उपमहानगरपालिका रहेको कलैयाको भरत चोकसँगै आसपासमा दिनहुँ दिउँसोदेखि राति ९ बजेसम्म सेकुवा चलिरहन्छ । 

सेकुवाको धूवाँले सताइए कलैयावासी

सबै प्राय: सेकुवा पसलमा सेकुवा पारखीहरूको घुइँचो लागेको हुन्छ । सेकुवाका लागि यहाँ दिउँसो १/२ बजेदेखि नै घुइँचो लाग्न सुरु हुन्छ । जाडो, गर्मी, बर्षात या जुनसुकै सिजन होस् त्यसै समयदेखि सेकुवा खाने शौखिन ग्राहकहरू भरत चोकमा भौंतारिन थाल्छन् । तर सेकुवा खाने पारखीहरूको जति घुइँचो लाग्छन्, जति ग्राहक बढ्छन्, त्यतिकै सेकुवा पसल बाहिर सडक पेटीमा धूवाँको मुस्लो निस्किन थाल्छ । र ती धूवाँबाट नगरवासीसँगै बटुवाहरू पीडित हुन्छन् ।


व्यस्त बजारमा धूवाँको मुस्लो र सेकुवाको वास्नाबाट जोगिन कतिपय बटुवाहरू नाकमुख छोप्दै आउजाउ गरेको देखिन्छन् । कलैया सहरको मुटु भरतचोक वरपर, उत्तरमा देवकोटा चोक, पश्चिममा भरत चोकदेखि कलैया–वीरगन्ज सडकको टेलिकम कार्यालय र ट्राफिक कार्यालयसम्म, हनुमान मन्दिर छेउछाउ र पूर्वमा बरियारपुर सडकमा मुख्य बजारको बाटोको पेटीमै दर्जनौं त्यस्ता सेकुवा पसलहरू छन् । त्यहाँबाट निस्किने सेकुवाको धूवाँले बटुवा र नगरवासी पीडित बन्नु परेको बटुवाहरू बताउँछन् ।


‘धूवाँ व्यवस्थापनका लागि चिमनी नबनाउँदा बजारभरि धूवाँ फिजिने गरेको छ । जसबाट व्यापारी, नगरवासी र बटुवालाई समस्या हुन्छ,’ स्थानीय दिनेश महतोले भने, ‘खास गरेर साकाहारी व्यक्ति, दम र आँखाका रोगीहरू, बजार निस्किएका चेलीबेटीहरू सेकुवाको धूवाँले हैरानी खेप्नु परिरहेको छ ।’


लामो समयदेखि यो समस्यालाई उपमहानगरपालिकाले व्यवस्थापन गर्न नसकेकोले धूवाँले बजारभरि असर गरिरहेको ‘त्यही पुरानो सुकदेवा साह’ ब्रान्डको सेकुवा पसल सञ्चालक ध्रुव साहले बताउँछन् ।

‘नगरपालिकाले व्यवस्थापन गर्न सक्यो भने हामी सबैले आफ्नै ढंगले धूवाँको व्यवस्थापन गर्न चिमनी लगाएर व्यवस्थित गर्न सक्छाैं । तर मैले एक्लैले गरेर हुँदैन । नगरपालिकाले सबैमाथि त्यस्तो नियम लगाउनुपर्छ,’ ध्रुवले भने, ‘केही वर्षअघि आफूले जिल्ला प्रशासन र नगरपालिकाले कडाइ गर्दा सडक पेटीबाट उठाएर घरभित्र सेकुवा सेक्यौं ।


तर अरू सेकुवा पसलेले नमानेपछि मैले पनि फेरि सडक पेटीमै सेकुवा सेक्न बाध्य भएको उनले बताए । ‘लहरै रहेको सेकुवा पसलमा सेकुवा सेक्दा धेरै धूवाँ निस्किन्छ, सेक्दा हाम्रो पनि आँखा खराब भएकै छ । तर के गर्ने ? उनले प्रश्न गरे,’ ‘पैसा कमाउनलाई व्यवसाय गर्नै पर्‍यो ।’


परम्परागत परिकार मानिने सेकुवा खान वीरगन्जसहित धेरै ठाउँबाट कलैया आउने गरेको सेकुवा पसले धु्रवले बताए । प्रशासक, पर्यटक, सरकारी, गैरसरकारी संघसंस्था वा कार्यालयका उच्च स्तरका कर्मचारी सेकुवा खान आए पनि सेकुवाको धूवाँबाट सडकमा देखिने असरबारे कोही कसैले ध्यान नदिएको उनको भनाइ छ ।


‘धूवाँ रोक्न जनप्रतिनिधि आउनु अघि कर्मचारीबाट धेरै प्रयास भयो तर सफल भएन,’ कलैया उपमहानगर कार्यालयअन्तर्गत वातावरण शाखाका नायब सुब्बा रामजी मण्डलले भने, ‘जनप्रतिनिधिले चाह्यो भने धूवाँले फैलिएको दुर्गन्ध रोक्न सकिन्छ । तर रोक्ने इच्छा शक्ति र प्रयास भएको छैन ।’ गाउँ घरमा रहेको स्थानीय भट्टीबाट परम्परागत परिकार सेकुवाको सुरुवात भएको पाइन्छ ।


चार दशकअघि कलैया–४ का स्वर्गीय सुकदेव साह कलवारले आफ्नै नामले सेकुवा पसल सञ्चालन गरेका थिए । उनले नै प्रचलनमा ल्याएका सेकुवा अहिले पारखीहरूका लागि लोकप्रिय बनेको छ ।


मासुको दर प्रतिकिलो ४५ रूपैयाँ भएदेखि नै उनले सेकुवा पसल सुरु गरेका थिए । उनी मीठो सेकुवा बनाउन र खान माहिर थिए । पछि घरको आर्थिक अवस्था कमजोर भई परिवार धान्न गाह्रो भएपछि उनले सेकवा बनाउन व्यवसायका रूपमा रोजे ।


‘बुवाले बनाएको सेकुवाको मीठो स्वाद विस्तारै ग्राहकले च्याख्दै जाँदा व्यवसाय फस्टायो,’ स्वर्गीय सुकदेवका छोरा ध्रुव साह (पसल सञ्चालक) ले भने, ‘अहिले दर्जनौं सेकुवा पसल खुलेका छन् ।’ यसरी सेकुवाका सौकिन सुकदेव स्वाद च्याख्दा च्याख्दै व्यवसायतिर लागेर सफल भएका थिए ।

प्रकाशित : मंसिर ४, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?