कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

गाउँभरि समाचकेवा

शिव पुरी

रौतहट — दाजुभाइको दीर्घायुको कामना गर्दै तराईमधेसका गाउँभरि समाचकेवाका गीत गुन्जिएका छन् । महिला, वृद्धाहरू गीत गाउँछन् । साथमा किशोरीहरू पनि हुन्छन् ।

गाउँभरि समाचकेवा

बगही गाउँमा रहेका आफ्ना दाजु शिवनारायण चौधरीको दीर्घायुको कामना गर्दै चन्द्रपुर ८ स्थित सन्तपुर गाउँकी ७५ वर्षीया वृद्धा उर्मिलादेवी चौधरी आइतबार राति गीतको माध्यमबाट दीर्घायुको कामना गर्दै थिइन् ।

उनि लगायत गाउँभरिका थारू महिला भेला भएर गीत गाए । अघिअघि किशोरीहरू फटाहा, कुरौटे प्रबृत्तिका मानिसको मूर्ति टाउकोमा बोकेर बजार घुमाउँदै सार्वजनिक स्थल पुगे । र कुचोमा आगो सल्काए । जुंगे मूर्तिमा झोसे । यसले दुस्मनको नाश हुने अनि दाजुभाइको दीर्घायु हुने धार्मिक विश्वास छ ।

तराई, मधेसमा रहेका थारू लगायतका समुदायका दिदी बहिनीले मनाउने समाचकेवा पर्व मैथली क्षेत्रमा सुरु भएको छ । दिदी बहिनीले कुरौटे फटाहा प्रवृत्तिका मानिसले समाजमा जरा गाड्न नपाउन भन्ने सन्देश दिन र सम्बन्धमा सधैं सुधार रहोस् भन्नाका लागि समाचकेवा पर्व मनाउँदै आएको वृद्धा उर्मिलाले बताइन् ।

‘दाजु बहिनीको सम्बन्धलाई प्रगाढ बनाउँदै पर्वको एक पात्र चुङ्गलाको खराब छविलाई इङ्गित गर्दै कृतिम दाडी जुङ्गा जलाएर समाचकेवा खेल्ने गरिन्छ,’ उनले भनिन्, ‘लोपन्मुख यस पर्वलाई संस्कृतिकै रूपमा जिवन्त राख्नुपर्छ ।’ दाजुबहिनीको प्रेमको प्रतीकका रूपमा रहेको तराई मधेसको मौलिक पर्व समाचकेवाको गाउँमा रौनक छाएको छ ।

अहिले विभिन्न गाउँमा किशोरीहरू समूह बनाएर समाचकेवा खेल्न थालेका छन् । मिथिलाञ्चल क्षेत्रमा बसोबास गर्ने थारू समुदाय र पूर्वका ब्राम्हण जातिले पर्वलाई विशेष धुमधामका मनाउँदै आएका छन् । यतिखेर थारू गाउँहरू गीतमय भएको छ । दाजुभाइको आयुको कामना सहित आशिक दिने काम गरिन्छ । दसैं, तिहार, छठपछि तराई, मधेसमा यो नै मुख्य पर्व हो ।

पर्व सुरु भएपछि दाजुभाइ, दिदीबहिनीको प्रतीकका रूपमा माटोको समाचकेवा बनाइने प्रचलित चलन छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले आफनो बाल्यकाल गोकुलमा बिताई मथुरामा आएपछि राधिका र भगवान् कृष्णका १६ हजार गोपिनीले कृष्णको सम्झनामा मनाउने समाचकेवा कालान्तरमा दाजु बहिनीको प्रेम, सदभावको मौलिक पर्वमा रूपान्तरित भएको चन्द्रपुर नगरपालिकाका उपमेयर रामरति चौधरीले बताइन् ।

‘कार्तिक पूर्णिमाको दिन चेलीबेटीले दाजुभाइलाई मीठो परिकार खुवाएर चिरायुको कामना सहित आशीर्बाद दिने र भोलिपल्ट विधिवत अन्त्य गरिने चलन छ,’ उनले भनिन्, ‘तिहारमा टीका लगाई दाजुभाइको दीर्घायुको कामना गरे जस्तै थारू समुदायमा यसरी पर्व मनाएर आशिक दिइन्छ ।’

पर्व सुरु हुनु अगावै टाढाका दिदी बहिनी आउने गर्छन् । पर्वका लागि बजारमा थरीथरीका माटाका मूर्तिहरू बिक्री गरिन्छ । गोवर्धन पूजादेखि गाउँमा समाचकेवा खेल्न थालेका हुन् । कार्तिक पूर्णिमासम्म खेलिने यो मौलिक पर्वले रौतहट, बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, नवलपरासीमा रौनक छाएको छ ।

प्रकाशित : मंसिर ४, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?