कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

विद्यालयको जग्गा हड्प्ने पुजारी समातिए

महँगो पर्ने जग्गाको नक्कली लालपुर्जा बनाएर बेच्न खोजेको आरोप
श्यामसुन्दर शशि

जनकपुर — नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस जनक हजारी विद्यापीठको भोगचलनको जग्गा एक पुजारीले हडपेका छन् । विद्यापीठको अढाई बिघा जग्गाको नक्कली लालपुर्जा बनाउने रत्नसागर मन्दिरका पुजारी अशोक शर्मालाई प्रहरीले पक्राउ गरेको छ । 

विद्यालयको जग्गा हड्प्ने पुजारी समातिए

धनुषाका प्रहरी उपरीक्षक गोबिन्द थपलियाका अनुसार शर्मामाथि सरकारी किर्ते मुद्दा चलाइएको छ । विद्यालयको जग्गा किर्ते गरी बेच्ने मनसाय बनाएका आरोपीलाई कार्वाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई भेटेरै विद्यापीठका प्राचार्य विजय चौधरीले रत्नसागर मठका महन्थ बैकुण्ठ दास वैष्णवको योजनामा पुजारी शर्माले नक्कली लालपुर्जा बनाएको आरोप लगाए ।


पछिल्लो पटक सार्वजनिक लालपुर्जामा जग्गाधनी महलमा रत्नसागर गुठीका महन्थ बैकुण्ठ दासलाई संरक्षक महलमा तथा मोही महलमा सोही मठका पुजारी शर्माको नाम उल्लेख छ ।


नक्कली लालपुर्जा छानबिन गर्न विद्यापीठले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको मुद्दा छानबिनका क्रममा मोही महलमा नाम उल्लेख भएको शर्मा पक्राउ परे पनि जग्गाधनी महलमा नाम रहेको रत्नसागर मठमा महन्थ दासलाई भने कार्वाहीको दायरामा ल्याइएको छैन ।


‘मोहीले त सीमित अंश पाउने हो । मुख्य अंशियारमाथि पनि कार्वाही हुनुपर्छ,’ प्राचार्य चौधरीले भने । उनका अनुसार २०५० सालदेखि विद्यालयको भोगचलनमा रहेको जनकपुर–८ स्थित सिट नम्बर १३५४/१४ को कित्ता नम्बर ६२ को २ कठा ११ धुर तथा सिट नम्बर १३५४/१५ को कित्ता नम्बर १,२, २८ तथा ४९ को २ बिघा ८ कठा १४ धुर जग्गा फर्जी लालपुर्जा बनाएर पुजारी शर्माले बेच्न खोजेका थिए ।


साविक नापीमा गुठी संस्थान अधिनस्त वराही कुटीको नाममा रहेको उक्त जग्गासँगै सडक पश्चिमको अन्य जग्गा गरी कुल ६ विग्हा ३ कठठा ५ धुर जग्गा २०५० साल जेठ १३ को मन्त्रिपरिषदको निर्णयअनुसार केन्द्रीय गुठी संस्थानले हजारी जनक विद्यापीठलाई भोगचलन गर्न उपलब्ध गराएको अभिलेख छ ।


केन्द्रीय गुठी संस्थानले विद्यापीठलाई उपलल्ध गराएको सडक पूर्वको अढाई बिघा जग्गालाई क्याम्पस व्यवस्थापनले घेराबेरा गर्नुका साथै सडक छेउको दक्षिणपट्टिको भागमा भौतिक संरचना समेत निर्माण गरेको छ ।


जनकपुर उपमहानगरपालिका–८ को घनाबस्ती र जग्गाको दुबैतर्फ ४२ फिटको पक्की सडक रहेको उक्त जग्गा धुरको २० लाख रुपैयाँसम्म पर्छ । हजारी जनक विद्यापीठको भोगचलनमा रहेको सडक पूर्वको अढाई बिघा जग्गाको विवाद भने नयाँ होइन ।


२०६८ सालमा पनि रन्नसागर मठका महन्थ बैकुण्ठ दास वैष्णवले गुठी कार्यालयका तत्कालीन प्रमुख राजाबाबु पाण्डे तथा मालपोत कार्यालयको मिलिमतोमा उक्त जग्गा आफ्नो नाममा लालपुर्जा बनाएका थिए ।


प्राचार्य चौधरीका अनुसार त्यति बेला विद्यापीठ प्रशासन तथा नागरिक समाजको पहलमा फर्जी लालपुर्जा बदर गराइएको थियो । मालपोत कार्यालय धनुषाले २०६९ साल असोज २४ गते टिप्पणी आदेशमार्फत रत्नसागर मठको नाममा जारी गरेको लालपुर्जा खारेज गरेको थियो । टिप्पणी आदेशमा गुठी तैनाथीमा बराहीकुटी नामबाट श्रेस्ता पुर्जा तयार गरी दर्ता नवीकरण समेत गरिदिने उल्लेख छ ।


२०४२/०४३ को सहरी नापीमा गुठी संस्थान वराही कुटीको नाममा दर्ता रहेको त्यो जग्गालाई मालपोत कार्यालय धनुषाले फर्जी श्रेस्ता खडा गरी २०६८ सालमा रत्नसागर मठको नाममा अर्को जग्गाधनी दर्ता श्रेस्ता बनाएको थियो । जसको संरक्षकमा मठका महन्थ वैकुण्ठ दास वैष्णवको नाम उल्लेख थियो ।


महन्थ दासले पछिल्लो पटक जग्गाधनी महलमा रत्नसागर गुठीको नाम तथा मोही महलमा आफ्नै मठका पुजारी शर्माको नाम उल्लेख गरी अर्को लालपुर्जा बनाएका छन् । रत्नसागरका महन्थ वैकुण्ठ दास वैष्णवले त्यो जग्गा आफ्नो मठको नाममा रहेको र आफू संरक्षक रहेको दाबी गरेका छन् । सरकारी कागज असली कि नक्कली हेर्ने निकाय अदालत भएको उल्लेख गर्दै उनले जिल्ला प्रहरी कार्यालय धनुषाले अनधिकृत रूपमा विवाद सृजना गरेको बताए ।


‘मुद्दा उच्च अदालतमा छ । मंगलबार पेशी पनि छ । अदालतको फैसला नआएसम्म लालपुर्जा नक्कली कि सक्कली भन्न मिल्दैन,’ उनले भने । गुठी कार्यालय जनकपुरका प्रमुख मनोज शर्मा भने यो जग्गा गुठी संस्थानको तैनाथी जग्गा भएको दाबी गरेका छन् । शर्माले उक्त जग्गामा कसैको मोही कायम नरहेको समेत बताएका छन् ।

प्रकाशित : मंसिर ४, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?