१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बलात्कारका घटना बढे

३२ वटा बलात्कार घटनामध्ये २० बालिका बलात्कारमा परेका छन् ।
भरत जर्घामगर

सिरहा — जन्मदिनको पार्टी दिने बहानामा बोलाएर लहान नगरपालिका–११ स्थित भोटियाटोलको फूलबारीमा दुई युवती सामूहिक बलात्कारको सिकार भइन् ।

बलात्कृत लक्ष्मीपुर पतारीकी १५ वर्षीया बालिका र २० वर्षीया युवतीलाई चिनेका दुई युवकले जन्मदिनको पार्टी छ भनेर भाइटीकाको साँझ लहानतर्फ ल्याउँदै गर्दा बाटोमा पर्ने भोटियाटोलको आँपको फूलबारीमा बलात्कार गरे । फूलबारीमा थप पाँच जना युवक थिए ।

बलात्कृत हुने क्रममै राति १० बजे भागेकी २० वर्षीया युवतीले नजिकको गाउँमा खबर गरेपछि गाउँलेले इलाका प्रहरी कार्यालय लहानलाई खबर गरेको थियो । खबर पाउने बित्तिकै घटनास्थल पुगेको प्रहरी टोलीले १२ बजे राति नाबालिकाको उद्धार गरेका थिए ।


प्रहरी पुग्दा भने बलात्कारमा संलग्न सबै भागिसकेका थिए । पीडित दुवैको बयानअनुसार लहान नगरपालिका–११ का हरिकान्त चौधरीले आफ्नो जन्मदिन भएकाले घरमा आउनुपर्‍यो भन्दै गाउँकै अनिस चौधरी र सुनिल चौधरीलाई लिन पठाएका थिए । हरिकान्तसँग दुई वर्षदेखि बलात्कृत युवतीको चिनजान भएको थियो ।


सिरहाको सुखिपुर नगरपालिका २ मा कात्तिक २७ गते २६ वर्षीया महिला बलात्कृत भइन् । महिला बलात्कृत भएको दुई दिनपछि प्रहरीले सोही वडाका ३० वर्षीय मोहमद समशुललाई पक्राउ गर्‍यो । यस्तै बरियारपट्टीका १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भारत मधुवनी भरचौराहाका २५ वर्षीय विजय यादव, उगन सहनी, ३१ वर्षीय मुकेश सहनी र ३७ वर्षीय काशिनाथ सहनीलाई प्रहरीले पक्राउ गर्‍यो ।


दुर्गा मेला हेरेर घर फर्किरहेकी लहान नगरपालिका २४ की १९ वर्षीया युवती कात्तिक २ गते सामूहिक बलात्कृत भइन् । बलात्कार आरोपमा युवतीले तीन युवकमाथि प्रहरीमा उजुरी दिइन् । सिरहामा बालिका र युवतीमाथि यौन दुव्र्यवहार र बलात्कार घटना बढदो छ । इन्सेक र जिल्ला प्रहरीको तथ्यांकअनुसार एक महिना कात्तिकमा मात्र सात वटा बलात्कार घटना भएका छन् । तथ्यांक अनुसर गत पुसदेखि १० महिना अवधिमा ३२ वटा बलात्कार घटना भएका छन् ।


त्यसैगरी २२ वटा बलात्कारका प्रयास भए । जिल्लामा ३२ वटा बलात्कार घटनामध्ये २० बालिका बलात्कारमा परेका छन् । बलात्कार घटना आठ वर्षीयादेखि १६ वर्षमुनिका बालबालिकामाथि भएका छन् । ती अवधिमा ७ बालिकामाथि यौन दुव्र्यवहार र बलात्कारको प्रयास भए । बलात्कारमा संलग्न अधिकांश १५ वर्षीय बालकदेखि ४५ वर्ष उमेर समूहका पुरुष छन् ।


गत वर्ष सिरहामा २४ बलात्कारका घटना भएका थिए । अधिकांश बलात्कार घटनका आरोपीलाई प्रहरीले पक्राउ गरी कारवाहीको दायरामा पुर्‍याए पनि घटना बढदै जानु समस्या भएको इन्सेक सिरहा प्रतिनिधी दुर्गा परियारको भनाइ छ ।


उनका अनुसार बलात्कारका घटनामा प्रहरी, प्रशासनले कारवाहीको दायरामा ल्याउँदा पनि घटना कमी हुनुुको साटो बढदै जानु आश्चर्य छ । तर अधिकारकर्मीहरू प्रहरी, प्रशासनले तत्कालीन मुलुकी ऐन ११ औं संशोधनले जवरजस्ती करणीको अपराधमा मुद्दा दायर नगरेका कारण पछिल्लोपटक बलात्कार घटनामा कमी हुन नसकेको बताउँछन् ।


अधिकारकर्मी राजकुमार राउत कुर्मीले बलात्कारीलाई मुलुकी ऐनको आधारमा नभई गोलमोटोल तरिकाले प्रहरीले केही सार्वजनिक अपराध मुद्दा लगाउने गरेको र बलात्कारीले थोरै रकम धरौटीमा राखी उन्मुक्ति पाउने गरेका कारण बलात्कारीको मनोबल बढन गई घटना वृद्धि भएको बताए । भदौदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १८ को दफा २१९ देखि २२९ सम्म करणीसम्बन्धी स्पष्ट कानुन बनेकाले अब बलात्कारी जोगिन नसक्ने उनको विश्वास छ ।


महिला मानव अधिकार रक्षक संजाल सिरहाकी अध्यक्ष देव कुमारी महराले प्रहरी प्रशासनले जवरजस्ती करणी अपराधअनुसार मुद्दा चलाउन नमान्ने र राजनैतिक संरक्षण समस्या भएको बताइन् ।

प्रकाशित : मंसिर ५, २०७५ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?