२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नगर प्रहरीमा महिला

‘अशक्त महिला सेवाग्रहीलाई सघाउन र महिलालाई स्थानीय सरकारमा पहुँच बढाउन महिला प्रहरी भर्ना गरिएको हो’
लक्ष्मी साह

बारा — ‘टैङ्गो वन’, ‘अल्फा वन’, ‘अल्फा टु’ । यी शब्दावली हुन्– महागढीमाई नगरपालिकाका महिला नगर प्रहरीहरूको । दिनहुँ यिनै सांकेतिक भाषा प्रयोग गरेर आफ्ना ‘डिउटी’ पूरा गर्छिन् उनीहरू । ‘चार्ली र रोजर’ भन्दै उनीहरूले अह्राइएका/खटाइएका काम गर्छिन् ।

नगर प्रहरीमा महिला

कुनै कामबारे थप निर्देशन वा जानकारी लिनुदिनुपर्‍यो भने तिनै कोड भाषा प्रयोग गर्दै नगर प्रमुख वा प्रशासन प्रमुखसित वाकीटीबाट सोधी हाल्छिन् ।


नगर क्षेत्रभित्र रहँदा नगर प्रमुख र प्रशासन प्रमुखले पनि वाकीटी बोकी रहन्छन् । वाकीटी बोक्ने सबै ‘एलर्ट’ रहन्छन् । कुल ३१ नगर प्रहरीमध्ये ४ महिला छन् । एक हातमा डन्डा, अर्कोमा वाकीटी बोक्दै दिनैपिच्छे यिनै कोड वाक्य रटान गर्दै उनीहरू दिनभरिको जिम्मेवारी पूरा गर्छिन् ।


‘टैङ्गो वन चार्ली’ भनेको नगर प्रमुख, ‘अल्फा वन रोजर’ भनेको प्रशासन प्रमुख र ‘अल्फा टु रोजर’ भनेको नगर प्रहरीलाई बुझाउँछ । जिल्लाको १६ स्थानीय तहमध्ये पहिलोपटक यिनै नगरपालिकाले आठ महिनाअघि नगर प्रहरी भर्ना गर्‍यो, जसमा चार जना महिला छिन् । ‘नगर प्रहरीमा समावेशी र लैङिगक समानता ल्याउन महिला नगर प्रहरीको अवसर दिएको छु,’ नगर प्रमुख उपेन्द्रप्रसाद यादवले भने ।


‘नेपाल प्रहरी बन्ने धोको थियो । तर म्यादीसम्मको जागिर खाएर अहिले नगर प्रहरीमा चित्त बुझाइरहेको छु,’ गत बैशाखमा एक्ली भर्ना भएकी महागढीमाई नगरपालिका–२ की २५ वर्षीया नमिताकुमारी कुसवाहाले भनिन्, ‘म पछि अन्य तीन जना साथी नगर प्रहरी भएर सँगै साथ दिएकी छिन् ।’


घरबाट महिला प्रहरी बनाउने बाआमाको सोंच थियो । तर प्रहरीमा जागिरका लागि कोही सहयोग नगरिदिएर नगर प्रहरीमै जागिर खाएकी उनले बताइन् । उनी एसएलसी पास छिन् ।


महिला प्रहरी भएर खुला शौच गर्ने महिलालाई सम्झाउनमा सघाउनेदेखि महिलाबीच भएको झगडा छुटाउनेसम्मको काम गरेकी छु,’ महिला नगर प्रहरी नमिताले भनिन्, ‘घरबाटै नगरपालिका आउजाउ गर्छु । २०७४ को चुनावमा म्यादी प्रहरी भएको थिएँ ।’ चारै जना महिला नगर प्रहरी स्थानीय हुन् । ‘अशक्त महिला सेवाग्रहीलाई सघाउन र महिलालाई स्थानीय सरकारमा पहुँच बढाउन महिला प्रहरी भर्ना गरिएको छ,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद चापागाईंले भने ।


तीन पटक मयादी प्रहरीमा भर्ना भइसकेर वर्दी लगाउन रूचाएकी महागढीमाई नगरपालिका–५ की अर्की नगर प्रहरी ३५ वर्षीया पुष्पा चौधरीलाई नमिता जस्तै प्रहरीको जागिर खाने धोको थियो । तर उनले पनि प्रहरीमा जागिर खान सकिनन् ।


उनले पनि नगरपालिकाले दिएको महिला नगर प्रहरीको अवसर छोपिइन् । ‘वर्दी लगाउने र वाकीटी बोक्ने चाहना पूरा नगर प्रहरी भएर गर्दैछु,’ चौधरीले भनिन्, ‘नगरले महिलालाई प्राथमिकता दिएकोमा अवसर पाएकी छु ।’

प्रकाशित : मंसिर ७, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?