कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन वर्षमा पोखरी सौन्दर्यीकरण

श्यामसुन्दर शशि

जनकपुर — खानेपानी तथा सरसफाइ आयोजनासँग मिलेर जनकपुरको सरसफाइ तथा पोखरी संवद्र्धनको काम तीन वर्षभित्र पूरा गरिने जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले बताएका छन् ।

तीन वर्षमा पोखरी सौन्दर्यीकरण

आयोजनासम्बन्धी सम्झौताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेयर साहले नगर क्षेत्रका ३१ पोखरी तथा बाह्रबिघा रंगभूमि मैदानलाई अन्तर्राष्ट्रिय स्तरको मैदान निर्माण गर्ने सम्झौता सोही अवधिमा पूरा गरेर देखाउने दाबी गरे ।


‘इक्षाशक्ति सबभन्दा ठूलो कुरा हो । गतवर्ष हामीले कार्यभार सम्हाल्दा एकीकृत सहरी विकास आयोजनाको काम २५ प्रतिशत पनि सकिएको थिएन । एक वर्षमा ९० प्रतिशत काम भएको छ,’ मेयर साहले भने ।


खानेपानी तथा सरसफाइ मन्त्रालयअन्तर्गतको उक्त आयोजनाका निर्देशक विद्यानाथ भट्टराई तथा जनकपुर उपमहानगरपालिकाका मेयर साहबीच मंगलबार १ अर्ब १४ करोडको आयोजनाको सम्झदारीपत्रमा हस्ताक्षर भएको छ ।


समझदारीअनुसार आयोजनाबाट जनकपुर उपमहानगरपालिकाका साविकका १६ वडासँगै वडा नम्बर २५ लोहनाका गरी कुल ३७ हजार ५ सय घरधुरीका २ लाख ५ हजार मानिस लाभान्वित हुनेछन् । आव ०७५/७६ देखि सुरु भई उक्त आयोजना आव ०७७/७८ मा सम्पन्न गर्नुपर्नेछ ।


आयोजनाअन्तर्गत नगर क्षेत्रका करिब ३१ पोखरीको संवर्धन तथा सौन्दर्यीकरणसँगै ऐतिहासिक बाह्रबिघा रगभूमि मैदानलाई अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने, ३० वटा सार्वजनिक शौचालय निर्माणसँगै सरसफाइसम्बन्धी अन्य नियमित क्रियाकलाप गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।


यसैगरी जनकपुर उपमहानगरपालिका–२५ लोहना गाउँमा साढे तीन किलोमिटर अन्डरग्राउन्ड ढल तथा पक्की सडक निर्माण एवं त्यहाँका ३ धार्मिक तथा ऐतिहासिक पोखरीलाई सौन्दर्यीकरण गरिनेछ । मेयर साहले भने, ‘उपमहानगरपालिकामाथि ऋणको भार नपरोस् भन्ने हाम्रो चाहना थियो । शतप्रतिशत अनुदानमा काम हुने भएपछि हाम्रो २० करोड रुपैयाँ जोगिएको छ ।’


आयोजनाअन्तर्गत सम्पूर्ण शीर्षकको एकमुष्ठ ठेक्का बन्दोबस्त हुने भए पनि पहिलो चरणमा गंगासागर, धनुषसागर, अंगराजसर, महाराजसर, रत्नसागर, विहार कुण्डसहितका आठ पोखरीको सौन्दर्यीकरणको काम सुरु हुने मेयर साहले जानकारी दिए ।


आयोजनाअन्तर्गत पोखरीहरूको घेराबेरा, सरसफाइ, विद्युतीकरण । पार्क निर्माण, बोटिङको व्यवस्था लगायतका काम गरिनेछ । यस क्रममा गंगासागर, धनुषसागर र अंगराजसरमा अत्याधुनिक लेजरसहितको ‘जानकीलीला’ प्रदर्शन गरिने जानकारी पनि उनले दिए ।


लेजरलाइटमार्फत प्रदर्शन गरिने जानकी लीलामा सीता जन्मदेखि विवाह तथा रामराज्यको दृश्य तथा मिथिलाका पारम्परिक लोकगीत तथा नृत्यको अवलोकन गरिने मेयर साहले जानकारी दिए ।

प्रकाशित : मंसिर १५, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?