‘जनकपुर भ्रमण मेरो लागि सांस्कृतिक यात्रा हो’ : योगी आदित्यनाथ
अयोध्या(भारत) — भारतीय राज्य उतर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुरमा मंसिर २६ गते विवाह पञ्चमीको अवसरमा अयोजना हुने रामजानकी विवाह महोत्सवमा सांस्कृतिक दूतका रुपमा भ्रमण गर्ने बताएका छन् ।
‘जनकपुरको भ्रमण मेरो लागि सांस्कृतिक यात्रा हो,’ उनले भने, ‘राजनीति र धार्मिक यात्राभन्दा सांस्कृतिक यात्राले झनै महत्व राख्छ । सांस्कृतिक यात्राले दुई सहर जनकपुर र अयोध्यालाई जोड्ने छ ।’
‘दुवै देशका सहमति भयो भने माता सिताको माइतीमा पुगेर श्रद्धा साथ पुजा गर्ने इच्छा छ,’ उनले थपे ।
उतर प्रदेशको राजधानी लखनउ भ्रमणमा रहेका जनकपुरका पत्रकारहरुसँग भेटघाट गर्दै मुखयमन्त्री योगीले आफू विवाह पञ्चमीमा जनकपुरधाम जान लालायीत रहेको बताएका हुन् ।
मुख्यमन्त्री योगीले माता जानकीको दर्शन गर्ने आफ्नो पुरानो इच्छा पुरा हुनेभएकाले खुसी व्यतm गर्दै डिसेम्बर १२ तारिखको प्रतिक्षामा रहेको बताएका थिए । जनकपुरमा मंसिर २७ गते अयोजना हुने विवाह पञ्चमीमा सहभागी हुने तयारी भइरहेको छ ।
मुख्यमन्त्री योगीले भगवान श्री रामको जन्मभूमि अयोध्या नगर र माता जानकीको जन्मभूमि जनकपुरधामको विकासका लागि आफू, आफ्नो पार्टी र स्वयं प्रधामन्त्री समेत नेपाल सरकारसँग हातेमालो गर्न तयार रहेको उनले बताएका थिए ।
दुवै सहरबीच सांस्कृतिक र धार्मिक सम्बन्धले बाँधिएकोले यसको विकासकै लागि भारत सरकार जनकपुरधाम–अयोध्या बस सेवा सञ्चालन गरेको र रेलसेवा शुभारम्भ भएपछि नेपाल भारतको सम्बन्धमा थप टेवा पुग्ने उनको धारणा थियो ।
जनकपुरमा योगिको स्वागतकालागि जानकी मन्दिर र प्रदेश २ सरकार तयारीमा जुटेका छन् । मुख्यमन्त्री लालबाबु राउतले मंसिर २७ गते योगिकालागि भण्डाराको अयोजना गरेका छन् ।