वैदेशिक रोजगारबाट फर्केकामा एचआईभीको संक्रमण

रासस

बर्दिवास — महोत्तरी जिल्लामा वैदेशिक रोजगारीमा गएका र तीनका परिवारजन बढीजसो एचआईभी संक्रमित पाइएका छन् ।

एचआईभी जाँच रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन संघ महोत्तरी परियोजना बर्दिवासले जनाएको छ ।


विश्व एड्स दिवसका अवसरमा परियोजना प्रमुख धीरज पौडेलले हालसम्म आफ्नो ल्याबको परीक्षणबाट संक्रमित पाइएका ५० मध्ये ३१ पुरुष वैदेशिक रोजगारबाट फर्केका पाइएको जानकारी दिए ।


संक्रमित १९ महिला मध्ये ६ जना संक्रमित पुरुष (पति) का पत्नी रहेको परियोजनाले जनाएको छ । जिल्लामा कूल संक्रमित संख्या मध्येका पाँचजना बालबालिका भने गर्भदेखि नै संक्रमित पाइएको परियोजना प्रमुख पौडेलको भनाइ छ ।


सन् २००७ देखि एचआईभी र विभिन्न यौन रोगबारे परामर्श, स्वेच्छिक रक्त परीक्षण र उपचार सेवासमेत दिँदै आएको परियोजनाले सन् २०१३ यता भने एचआईभी संक्रमण न्यूनीकरणमा राम्रो सुधार आएको जनाएको छ । सन् २००७ देखि २०१२ सम्म प्रत्येक वर्ष दुई/चार संख्या संक्रमित भेटिए पनि २०१३ यता भने यसै वर्ष गत अक्टुबरमा एक मात्र संक्रमित भेटाइएको परियोजना प्रमुख पौडेलले जानकारी दिए ।


विभिन्न स्वास्थ्य संस्था, स्वयंसेवी संस्था, एड्स तथा यौन रोगविरुद्धका सघन सचेतना अभियान र कण्डमको प्रयोग बढेसँगै एचआईभी संक्रमित घटेको परियोजनाको ठम्याइ छ ।

जिल्लामा संक्रमितको तथ्यांकअनुसार सबै नै असुरक्षित यौन सम्पर्कको कारण पाइएको परियोजना प्रमुख पौडेलले बताए । संक्रमण पनि भारत र मलेशियाबाट फर्केका बढी पाइएको परियोजनाले जनाएको छ ।


यसैबीच स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका सामाजिक संघ संस्थाले विदेशबाट फर्कनेलाई विमानस्थल र दुईदेशीय सीमा क्षेत्रमा अनिवार्य एचआईभी परीक्षण गरेर मात्र प्रवेशको व्यवस्था गर्न राज्यसँग माग गरेका छन् ।

प्रकाशित : मंसिर १७, २०७५ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?