लागूऔषध नियन्त्रणमा दल

रवीन्द्र उप्रेती

महोत्तरी — लागूऔषध सेवन तथा ओसारपसार नियन्त्रण गर्न सुरक्षा निकायले सीमा क्षेत्रमा पहल सुरु गरेको छ । सुरक्षा निकायको नियन्त्रण अभियानलाई सघाउन सोमबार प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठकले समेत सर्वसम्मत निर्णय गरेको छ । 

सुरक्षाकर्मीले लागूऔषध ओसारपसार र भण्डारण गर्नेलाई पक्राउ गरी मुद्दा चलाउन थालेपछि यसका दुव्र्यसनी आफैं भारतीय बजार पुगेर सेवन गरी फर्कने गर्नाले प्रमाणको अभावमा रोकथाममा समस्या परेको थियो । बैठकमा सेवन गरेर फर्केका दुव्र्यसनीलाई अभिभावक बोलाएर जिम्मा लगाउने सहमतिसमेत भएको जनाइएको छ ।


लागूअ‍ौषध सेवनकर्ताबाट सीमा क्षेत्रका सुरक्षाकर्मी पनि आजित छन् । सेवन गरी भारतीय बजारबाट फर्कनेलाई सोधपुछ गर्दा ‘खाएर आएका छौं के गर्न सक्छौ प्रमाण भए पक्रेर देखाउ’ भनी उल्टै हप्काउने गरेको सीमास्थित ड्युटीमा रहेका एक सशस्त्र प्रहरीले बताए ।


‘उल्टै चोर कोतवाल के डाँटे’ नजिकै रहेका नेपाल प्रहरीका एक सईले थपे, ‘लट्ठ आँखा, लरवरिएको बोली, सुकेको मुख र कापेको जस्तो शरीर देखेर लागूअ‍ौषध खाएको सहजै बुझिन्छ तर साथमा नबोकेको हुँदा कारवाही गर्न सकिँदैन ।’


प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार ‘सेवन गरी फर्कने’ समस्या लागूऔषधविरुद्ध सुरक्षा निकाय आक्रामक भएर लागेको संकेत हो । जेठदेखि अहिलेसम्म प्रहरीले लागूऔषध ओसारपसार र भण्डारण गर्ने ४४ जनालाई पक्राउ गरी कारबाही चलाएको छ । सवै पुर्पक्षका लागि जेलमा छन् ।


उनीहरूको साथबाट कोरेक्स झोल, सुई, एम्पुल र ट्याबलेट गरी ३ हजार ६ सय १० थान लागूऔषध तथा २ सय २४ केजी गाँजा बरामद गरिएको कार्कीले जनाए । उनका अनुसार जहाँजहाँ प्रहरीले ओसारपसार र भण्डारणमा कडाइ गर्छ त्यहाँका दुव्र्यसनीले सेवन गर्ने नयाँ रणनीति अपनाउँछन् ।


‘अहिले सिन्धुलीदेखि लागूऔषध सेवन गर्नकै लागि भारतीय बजार पस्ने तर साथमा बोकेर नआउने प्रवृत्ति पनि त्यही रणनीति हो’, कार्कीले भने, ‘भदौ १ गतेदेखि लागू भएको नयाँ संहिताले त बिनाप्रमाण प्रहरीले पक्राउ गर्नै नसकिने भएपछि दुव्र्यसनीलाई सेवन गरी फर्कन सहज भएको हो ।’

प्रकाशित : मंसिर १८, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?