कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाँसपालनमा युवा

शंकर आचार्य

पर्सा — शिक्षा विषयमा स्नातकोत्तर गर्दै रहेका यहाँका २६ वर्षीय तन्नेरी अमित यादवले शिक्षण पेसा नभई व्यावसायिक हाँस पालनमा हात हालेका छन् । उनका पुर्खाले जातीय पेसा गाईभैंसी पालन गरे पनि उनले फरक बाटो रोजेका हुन् ।

हाँसपालनमा युवा

तराईमा थारुवान क्षेत्रमा बढी पालिने हाँसको व्यावसायिक पालनमा फाइदा देखेपछि उनले यो फरक बाटो अपनाएका हुन् ।


एकीकृत कृषि फार्म स्थापना गरी व्यावसायिक पशुपालनमा होमिएका उनले यसै वर्षको वैशाख २ गतेदेखि १ हजार हाँसका चल्ला आफ्नो फार्ममा हाले । हाँसलाई खेल्न उनले खोर छेउ नै पोखरी पनि बनाएका छन् । १ हजार हाँसमध्ये ५ सय ५० ले अहिले अन्डा दिन थालिसकेका छन् । भाले हाँस बिक्री पनि गर्न थालिसके ।


डेढ महिनायता हाँस र अन्डा बेचेर १ लाख ५० हजार रुपैयाँ कमाइ गरिसकेका छन् । हाँस किन्न फर्ममै ग्राहक आउने गरेकाले समस्या छैन । अन्डा गाउँघर, वीरगन्ज र धनुषाको महेन्द्रनगर, जनकपुर क्षेत्रमा समेत बिक्री भइरहेकाले अण्डाको बजारको समस्या पनि अब नरहेको उनले बताए । ‘तराईमा हाँसको मासु र अण्डा दुबै रुचाइन्छ, तर खोजेका बेला यी सहजै पाइदैनन्, थरुहट क्षेत्रमा घरघरै थोरबहुत पालिन्छ, तर त्यसले बजारको माग धान्न सक्दैन,’ यादवले भने, ‘यसरी हासको मासु र अण्डा दुबैको अत्यधिक माग र बजार देखेरै मैले हाँस पालनमा हात हाले र बिस्तारै सफलता पनि मिल्दै गएको छ ।’


यस वर्षको दशैं पर्वदेखि हाँस र अण्डा बिक्री गर्न थालेका उनले भाले हाँस प्रतिगोटा ६ सय रुपैयाँमा र अण्डा प्रतिगोटा १८ देखि १९ रुपैयाँमा बिक्री गरिरहेका छन् । खुद्रा र थोक दुबै भाउमा अण्डा बिक्री हुन्छ ।

१ बिघा जग्गामा फर्म स्थापना गरेका यादवले १८ कठ्ठा जग्गामा माछा पालन प्रयोजनका लागि पोखरी पनि खनेका छन् । लिजमा दिएका पोखरीबाट बर्षेनी १ लाख २५ हजार रुपैयाँ भाडा पनि आउँछ । गाईभैंसी पालनभन्दा हाँस पालन सहज भएको उनको अनुभव छ ।


आफ्नो घरायसी प्रयोजनको दुधदही खानका लागि घरमा एक दुई वटा गाईभैंसी पाल्न सहज भए पनि यसको व्यावसायिक पालन गर्न ठूलो जनशक्ति चाहिन्छ,’ यादवले भने, ‘तर हाँस पाल्न त्यति धेरै जनशक्ति नचाहिने परिवारका सदस्यले सामान्य रेखदेख मात्रै गरेपनि सम्भव छ ।’


व्यवसाय सञ्चालन गर्न उनले कृषि विकास बैंकबाट १५ लाख रुपैयाँ ऋण लिएका छन् । पहिलो प्रयासमै सफलता मिलेपछि उत्साहित भएका यादवले अब लेयर्स जातका कुखुरा पालनमा पनि हात हाल्ने मनस्थिति बनाएका छन् ।


माघको पहिलो साताबाट उनले २ हजार लेयर्स जातका कुखुराका चल्ला फर्ममा पाल्न सुरु गर्ने योजना रहेको बताए । आफ्नो सफलता देखेर गाउका केही युवाले पनि पशुपालनमा रुचि देखाएको उनले बताए । ‘जोसजाँगर भए युवाले जागिर खान वा रोजगारीका लागि खाडी नै जानुपर्दैन,’ उनले भने, ‘आफ्नै गाउँघरमा पनि स्वरोजगार बन्न सकिन्छ, मसँग शिक्षणको लाइसेन्स पनि छ तर आफ्नै व्यापार व्यवसाय गर्ने सोच आएपछि पशुपालनमा हात हालेँ र सफलता पनि मिल्दै गएको छ ।’

प्रकाशित : मंसिर २०, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?