कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

किर्ते गरी नागरिकता

किर्ते नागरिकता बनाउने कार्यमा कोको संलग्न थिए भन्ने विषय अनुसन्धान हुँदै
अवधेशकुमार झा

राजविराज — गैरनेपालीले झुठा प्रमाण पेस गरी नेपाली नागरिकता प्राप्त गर्ने जिल्लाको रुपमा बदनामी कमाएको सप्तरीले फेरि सातजना भारतीयले किर्ते गरी नेपाली नागरिकता लिएको तथ्य खुलेको छ ।

तीमध्ये सप्तरी प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । अन्यको खोजी भइरहेको जनाएको छ । सप्तरीबाट भारतीय कुख्यात अपराधीहरू, भारतीय र बंगलादेशी नागरिकले सहजै नेपाली नागरिकता लिएको यसअघि पटकपटक सार्वजनिक भइसकेको छ ।


पछिल्लो पटक भारत विहारको मधुवनी जिल्ला अनुमण्डल फुलपरास, प्रखण्ड/थाना/पोस्ट घोघडिहा पञ्चायत पर्सा दक्षिणका गंगाधर यादवसहित उनको परिवारका अन्य सातजना सदस्यले किर्ते गरी नेपाली नागरिकता लिएको खुलेको हो । प्रहरीका अनुसार किर्ते नागरिकता लिएकामा गंगाधरका अतिरिक्त उनका छोराहरू कमलदेव र अमरेन्द्र तथा बुहारीहरू गुलावदेवी र ममतादेवी तथा नाति विवेकानन्द र नातिनीबुहारी पुष्पाकुमारीले किर्ते आधारमा नेपाली नागरिकता लिएको हो ।


उनीहरू सबैले सप्तरी जिल्लाको साबिक भुतही गाविस ९ हाल डाकनेश्वरी नगरपालिका २ को ठेगाना देखाई किर्ते नागरिकता लिएको प्रहरीले जनाएको छ । नागरिकतामा देखाइएको ठेगाना गंगाधरको ससुराली घर हो । गंगाधरकी श्रीमती सुभद्रादेवीको विवाहपूर्व माइती नेपालबाटै नागरिकता भए पनि उनी भारतीय नागरिक भइसके पनि नागरिकता त्यागेकी छैनन् ।


बिहारको मधुवनी जिल्लाका गंगाधरले सप्तरी जिल्लाको साबिक भुतही गाविस ९ की आफ्नी सासूआमा बिलतीबती देवीको नाममा जिल्ला प्रसासन कार्यालय सप्तरीबाट जारी भएको ७१०२२६१४ नम्बरको नेपाली नागरिकताकै नम्बर हाली किर्ते गरेर आफ्नो नामको नेपाली नागरिकता बनाएको खुलेको छ ।


निर्वाचन आयोगको मतदाता नामावलीमा गंगाधरको नागरिकता नम्बर ७१०२२६१४ लेखिएको छ । उक्त नम्बरको नागरिकता गंगाधरकी सासू बिलतीवती यादवको नाममा जारी रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।


सुरुमा गंगाधरले सासुको नामको नागरिकताको नम्बर हाली आफनो किर्ते नागरिकता वनाएको र त्यसपछि आफनो नागरिकताका आधारमा छोरा, बुहारी, नाती र नातिनीबुहारीको नागरिकता बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


सप्तरीको डाकनेश्वरी नगरपालिकाका एकजना स्थानीयले उनीहरूविरुद्ध लिखित रुपमा जाहेरी गरेपछि अनुसन्धानमा जुटेको सप्तरी प्रहरीले किर्ते नागरिकता बनाएको आरोपमा गंगाधर यादव र निजका नाति विवेकानन्दलाई पक्राउ गरेको छ । नेपाली नागरिकता बनाएका उनीहरू सबैका नाम हाल पनि भारतीय मतदाता नामावलीमा रहेको छ ।


पछिल्लोपटक सात जनाको किर्ते नागरिकतामा प्रतिवादी रहेका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका डिएसपी भावेश रिमालले उनीहरू कसरी नेपाली नागरिकता बनाए, बनाउने कार्यमा कोको संलग्न थिए भन्ने विषय अनुसन्धानपछि मात्र खुल्न सक्ने बताए ।


प्रहरीसमक्ष प्राप्त जानकारी अनुसार गंगाधरका छोरा कमलदेवको नाममा ७२०२५७२१, बुहारीहरू गुलाबदेबीको नाममा ४३/६४०, ममतादेबीको नाममा १६१०८५/२०, नाति विवेकानन्दको नाममा १६–०१–६९–०३२८९ र नातिनीबुहारी पुष्पाको नाममा १६११०३/४४९ नम्बरको नेपाली नागरिकता जारी भएको देखिन्छ ।


गंगाधरकी श्रीमती सुभद्रादेवीले जिल्ला प्रसासन कार्यालय सप्तरीवाट बिबाहपुर्व नै ७१०२४१५२ नम्बरको नेपाली नागरिकता लिएको तथा उनी विवाह भएर भारत गइसकेपछि त्यहाँको मतदाता नामावलीमा समेत नाम समावेश भइसक्दा पनि नेपाली नागरिकता परित्याग गरेकी छैनन् ।


भारतीय मतदाता नामावलीमा उनीहरूको स्थायी ठेगाना रहेको मतदाता नामावलीमा सुभद्रादेवीको नाम ८८७ नम्बरका रहेको छ ।


सप्तरीबाट किर्ते नागरिकता जारी भएको यो पहिलो घटना होइन, यसअघि सप्तरीबाटै कुख्यात भारतीय अपराधी धिरेन्द्र यादव, बमबम यादव लगायतका दर्जनौं भारतीय आपराधी र व्यापारी तथा सर्वसाधारणले नेपाली नागरिकता लिएको तथ्य खुलिसकेको छ ।


यस्तै भारतको पश्चिम बंगाल राज्यस्थित उतरी दिनाजपुर जिल्लाको अन्नतकोठाग्रामका मोहम्द लतिफुर रहमान,बिहारको किसनगञ्ज जिल्लाका मो. नाबेद आलम तथा बिहार सुपौलका सरौ आलमलाई नक्कली नेपाली नागरिकता सहित नियन्त्रणमा लिएको थियो ।


यस्तै भारत घर भई सुनसरी सदरमुकाम इनरुवा बस्दै आएका विनित देबलाई किर्ते नागरिकता बनाएको आरोपमा सप्तरी प्रहरीले पक्राउ गरेको थियो । यस्तै भारतको हरियाणका व्यापारी सतिष अग्रवाल र उनकी पत्नी मोनिका अग्रवालले पनि सप्तरीको राजविराजको ठेगाना देखाई किर्ते नेपाली नागरिकता लिएका थिए ।


यसैगरी केही समयअघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरेका भारतीय सिरियल किलर मस्तकिम भनिने रईस मियासित वंशजको नेपाली नागरिकता रहेको थियो । सात जनाको हत्यामा संल्गन रहेको भनिएका रइस मियाले सप्तरी जिल्लाको तत्कालीन सारस्वर गाविस ७ ठेगाना देखाई ०६३ साल चैत १० गते ०६३१०६–४९० नम्बरको वंशजको नागरिकता लिएका थिए ।

प्रकाशित : मंसिर २०, २०७५ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?