२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बाघ निगरानी गर्न क्यामेरा ट्रयापिङ

पर्सा — पर्सा र चितवन राष्ट्रिय निकुञ्जबाट सीमावर्ती भारतीय निकुञ्ज वाल्मीकि टाइगर रिजर्भमा बाघको निगरानी गर्न चितवन राष्ट्रिय निकुञ्जको सुमेश्वर पहाड क्षेत्रमा क्यामेरा ट्रयापिङ गरिएको छ ।

बाघ निगरानी गर्न क्यामेरा ट्रयापिङ

डब्लुडब्लुएफको तालको कार्यक्रमको सहयोगमा चितवन राष्ट्रिय निकुन्जको सुमेश्वर पहाड क्षेत्रमा यसरी क्यापरा ट्रयापिङ गरिएको हो ।


चितवन राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत रमेशप्रसाद यादवका अनुसार मंसिर १ देखि निकुन्जको सुमेश्वर पहाड क्षेत्रमा ६२ वटा ग्रिडमा २ वटाका दरले १ सय २४ वटा क्यामेरा जडान गरिएको छ ।


‘सुमेश्वर पहाड क्षेत्र परम्परागत जैविकमार्ग हो, पहाडपारि भारतको वाल्मीकि टाइगर रिजर्भ क्षेत्र पर्छ, यो मार्ग प्रयोग गरेर चितवन र पर्सा निकुन्जका बाघ, गैंडा तथा अन्य वन्यजन्तुको एक अर्को निकुन्जमा आवागमन हुने गर्छ,’ यादवले भने, ‘क्यामेरा ट्रयापिङ गर्दा वन्यजन्तुले कसरी जैविकमार्ग प्रयोग गर्छन्, उनीहरू एकअर्को निकुन्जमा पुगेपछि त्यहाँबाट पुन: फर्कन्छन् कि फर्कंदैनन् जस्ता कुरा सहजै यकिन गर्न सकिन्छ ।’


वन्यजन्तु निकुन्ज वा मुलुकको सिमानामा नबाँधिने र उनीहरूले परापूर्वकालदेखि प्रयोग गर्दै आएको मार्ग नै प्रयोग गर्ने भएकाले जैविकमार्गमै यसरी अध्ययन गर्न सके उनीहरूको विविध पक्षबारे सूक्ष्म जानकारीसमेत उपलब्ध हुने भएकाले यसरी क्यामेरा ट्रयापिङ गरिएको यादवले बताए । यसबाट बाघ तथा अन्य जन्तुको बासस्थान, त्यस भेगमा पानीको अवस्था, अन्य नयाँ जीवजन्तुको उपस्थितिलगायत विषयमा पनि जानकारी पाइनेछ ।


यस वर्ष क्यामेराले बाख्रा प्रजातिको सिरु भन्ने वन्यजन्तु पनि निकुन्जमा रहेको तथ्य फेला परेको उनले बताए । निगरानीको क्रममा यसै साता २ वटा बाघ क्यामेरा ट्रयापिङमा परेको पनि उनले बताए ।


अघिल्ला वर्षमा क्यामेरा ट्रयापिङबाट आधा दर्जन बढी बाघ एक अर्का निकुन्जमा आवतजावगत गरेको पाइएको थियो । अघिल्लो बर्ष चितवन राष्ट्रिय निकुन्जमा बाघ गणनाको क्रममा १ सय २० बाघ फेला परेकोमा गत वर्ष घटेर ९७ मात्र फेला परेका थिए ।


ती बाघ पर्सा वा वाल्मीकि टाइगर रिजर्भतर्फ गएको अनुमान गरिएको छ । पर्सामा भने बाघको संख्या

बर्षेनी बढदो छ ।


३ वर्ष निरन्तर यो विधिबाट बाघलगायत वन्यजन्तुको आवागमन अवलोकन गरिएको र यस वर्ष यो कार्य समापन गरिँदै छ । पुस ४ गतेसम्म क्यामेरा राखिने र त्यसपछि हटाइने यादवले बताए ।


डब्लुडब्लुएफ ताल कार्यक्रममा सामुदायिक संरक्षण सहजकर्ता वेदहरी दाहालले सुमेश्वर पहाड परम्परागत जैविकमार्गका साथै तीनवटा निकुन्जको अत्यन्त संवेदनशील क्षेत्रसमेत रहेकाले तालले

क्यामेरा ट्रयापिङ कार्यमा लगानी गरेको बताए ।

प्रकाशित : मंसिर २०, २०७५ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?