हात्तीले सातामा ७ घर भत्कायो

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको चुरे जंगल तलका बस्तीमा जंगली हात्तीको समूहले एक सातामा ७ घर भत्काइदिएको छ ।

त्रियुगा र चौडण्डिगढी नगरपालिकामा घर भत्काएको हो । हात्तीको समूहले त्रियुगा नगरपालिका–३ स्थित ठाडीमा भवानी प्रसाद चौधरी, राजन चौधरी र रामेश्वर चौधरीको घर भत्काएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनीहरुको घरमा भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

Yamaha

हात्तीको त्रासले भुल्के, ठाडी, चाँप, मोतिगडा, क्याम्पस डाँडाका बासिन्दा रातभरी जाग्राम बस्नु परेको स्थानीयले बताए ।

यसैगरी, त्रियुगा नगरपालिका–२ खैजनपुरमा दिपक सार्कीको घर भत्काउनुको साथै घरमा भएको अन्नपात नष्ट गरेको हो । चौदण्डीगढी नगरपालिका–१० हडियामा स्थानीय टिकाराम दाहाल र विक्रम दाहालको घरको भुईतला भत्काउनुको खाद्यान्न नष्ट गरेको प्रहरीले जनाएको छ ।

हिउँद सुरु भएपछि भारतबाट तराई हुँदै चुरे जंगल आउने जंगली हात्तीहरुले वर्षेनी क्षति पुर्‍याउँदै आएको स्थानीय बताउछन् ।

प्रकाशित : मंसिर २०, २०७५ १२:३२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बालविवाह गरेका महिलामा पाठेघर समस्या

मोहन शाही

डोटी — भूमिराजमाडौं चाकाकी सपना जोशीको (नाम परिवर्तन) १३ वर्षको उमेरमा बिहे भयो । उनी १५ वर्षमै गर्भवती भइन् । एक/डेढ वर्षको जन्मान्तरमा ७ सन्तान जन्मिए ।

उपचारका लागि डोटीको केआईसिंह गाउँपालिका ४ मा आएका बिरामी महिला । तस्बिर : मोहन/कान्तिपुर 

उनले स्विकारेको बालविवाह र अनिच्छामा जन्मिएका सन्तानबाट आमाबुवाको खुसी र परिवारको इज्जत समाजमा बढे पनि उनी भने कष्टकर जीवन बाँच्दै छिन् । उनी अहिले ६५ वर्षकी भइन् । २१ वर्षयता उनी पाठेघर समस्याले ग्रसित छिन् ।

सेलना माइत भएकी रानागाउँकी पुन्टी पार्की अहिले २० वर्षकी भइन् । उनका तीन सन्तान छन् । १४ वर्षमा बिहे गरेकी उनी ९ महिनाको दुधे शिशु बोकेर दुई साताअघि रानागाउँ स्वास्थ्य चौकीमा पुगिन् । त्यहाँ सञ्चालित पाठेघर जाँच शिविरमा आएकी सिनियर अनमी गीता भट्टले पुन्टीमा पाठेघर खस्ने लक्षण देखिन लागेको बताइन् ।

‘रहरले बिहे गरेको होइन, आमाबुवाले गोडा धोएर बिहे गरिदिए,’ पुन्टीले भनिन्, ‘लेख्न पढ्न पाइन, आयस्रोत भएका श्रीमान् पनि भएनन् । छोराछोरी हुर्काउनुबाहेक अरू इलम भएन, अहिले पछुताउँदै छु ।’ उनका श्रीमान् भरत पार्की कामका लागि भारत गएका छन् ।

यसरी कलिलै उमेरमा बिहे भएका कारण पाठेघर खस्ने समस्याले कष्टकर जीवन गुजारिरहेका महिलाहरू डोटीको ग्रामीण भेगमा धेरै छन् । यो सुदूरपश्चिमका पहाडी जिल्लाको ज्वलन्त समस्या हो । अशिक्षा, लजाउने प्रवृत्ति र उपचारका लागि सहज पहुँच नहुँदा महिलाहरूले बढी पीडा खेप्नुपरिरहेको केआईसिंह गाउँपालिका उपाध्यक्ष मीनाबिष्टले बताइन् ।

बालविवाहको दुष्परिणामबारे जान्दाजान्दै पनि बालविवाह रोक्न जनप्रतिनिधिहरूलाई नै चुनौती भइरहेको उनको दुखेसो छ । उनकै गाउँपालिकाको वडा ६ मा यसै महिना १६ वर्षीया बालिकाको विवाह रोक्न खोज्दा उनले विभिन्न आरोप र दबाब झेलेकी थिइन् ।

मंसिर पहिलो साता वडा नं. ६ मै पाठेघरको शिविर सञ्चालन गर्दा १६ जना महिला पाठेघर खस्ने समस्याबाट पीडित रहेको फेला परेको थियो । ‘फेला परेकामध्ये बालविवाहकै कारण पाठेघर खसेको निष्कर्ष हामीले निकाल्यौं, त्यसैका आधारमा समुदायमा बालविवाहले हुने असरबारे चेतना पनि जगायौं,’ उपाध्यक्ष बिष्टले भनिन्, ‘तर त्यसै वडामा बालविवाह गर्न अभिभावकहरू लागे, रोक्न खोज्दा उल्टै समुदाय नै जनप्रतिनिधिहरूमाथि खनिए ।’ उनले बालविवाह अझै चुनौतीको विषय रहेको बताइन् ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा. भूषण मिश्र ८० प्रतिशत बालविवाह र बढी सन्तान जन्माउने कारणले नै पाठेघर खस्ने गरेको बताउँछन् । डोटीमा २०.७१ प्रतिशत महिलाहरू २० वर्ष नपुग्दै गर्भवती हुने गरेको तथ्यांक छ ।

गत आर्थिक वर्षमा २० वर्ष मुनिका ४ सय ७८ महिला गर्भवती जाँचका लागि आएको जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत रहिश श्रेष्ठले जानकारी दिए । २० वर्षमाथिका २ हजार ३ सय ८ महिला गर्भजाँचका लागि आएका छन् ।

पाठेघर खसेका महिलाहरूको यकिन तथ्यांक भने जिल्लामा छैन । क्षेत्रीय स्वास्थ्य निर्देशनालयले बर्सेनि पाठेघर खसेका महिलाहरूको पहिचान तथा शल्यक्रियाका लागि जिल्लास्तरमा स्वास्थ्य शिविर चलाउँदै आएको छ ।

‘कलिलो उमेरमा महिलाको पाठेघर परिपक्व हुँदैन, पाठेघरलाई तन्तुहरूले जोडेर राखेको हुन्छ,’ डा. मिश्रले भने, ‘कलिलो उमेरमा सन्तान जन्माउँदा तन्तुहरू कमजोर भएर पाठेघरलाई छोडिदिन्छन् । त्यसबेला ध्यान नदिएमा लत्रिएर योनी बाहिर नै पाठेघर झर्छ ।’

योनी बाहिर पाठेघर निस्किरहँदा महिलाहरूलाई पिशाब फेर्न, हिँड्डुल गर्न, तथा यौनसम्बन्ध राख्न निकै कष्ट हुन्छ । खोक्दा, हाछ्युँ गर्दा, हाँस्दा, उकालो–ओरालो गर्दा पाठेघर खसेका महिलाहरूको पिसाब चुहिने सम्भावना हुन्छ ।

पाठेघर र पिसाब थैली खसेपछि एकै ठाउँमा डल्लो हुन्छ, त्यहाँ पिसाब जमिराख्छ । त्यसले संक्रमण हुन्छ । पोजिसन फरक गरेपछि मात्रै पिसाब हुन्छ । मृगौलाबाट पिसाब नली हुँदै पिसाब थैली भएर बाहिर निस्किने, युरिन आउने ठाउँहरू तन्किएर ब्लक हुने, पछि गएर मृगौला पनि सुन्निने फुल्ने भएर कामै नगर्ने क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थी बताउँछन् ।

प्रकाशित : मंसिर २०, २०७५ १२:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT