प्रदेश २ को स्थायी राजधानी र नामांकनबारे सुझाव संकलन सुरु

रासस

वीरगञ्ज — प्रदेश २ को स्थायी राजधानी र नामांकनलाई लिएर विवाद उत्पन्न भएपछि प्रदेश नं २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोली बिहीबार पर्साको सदरमुकाम वीरगञ्ज आइपुगेको छ । 

हरिवंश झाको संयोजकत्वमा गठित तीन सदस्यीय सो आयोगको सदस्यमा रामप्रवेश बैठा र मोहनलाल चौधरी रहेका छन् । आयोगले प्रदेश नं २ को आठ वटै जिल्लामा सुझाव संकलन गरी ४५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन बुझाउनेछन् ।

Yamaha


यसै क्रममा संवाद तथा सुझाव आयोगले आज वीरगञ्जमा प्रदेश नं २ को प्रदेश राजधानी र प्रदेशको नामांकन सम्बन्धित सुझाव संकलन कार्यको थालनी गर्दै एक कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा अधिकांश राजनीतिक दलका प्रतिनिधिहरुले धार्मिक दृष्टिकोणले जनकपुर धार्मिकस्थल भए पनि आर्थिक दृष्टिकोणले वीरगञ्ज समृद्ध भएको, अन्तर्राष्ट्रिय मापदण्ड वीरगञ्जमा भएको, मधेश आन्दोलनको उद्गमस्थल वीरगञ्ज भएको धार्मिक, ऐतिहासिक तथा आर्थिक रुपमा सबल भएकाले प्रदेश नं २ को स्थायी राजधानी वीरगञ्ज हुनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा विभिन्न वक्ताले प्रदेश नं २ को नाम—जानकी प्रदेश, मध्य मधेश प्रदेश, भोजपुरा मधेश, मधेश प्रदेश, मध्यमाञ्चल प्रदेश हुनुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित : मंसिर २०, २०७५ १५:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौंका सबै विद्यालयमा एउटै पोशाक लागू गर्ने तयारी

रासस

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले महानगरकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको छ । 

महानगरको शिक्षा विभागले 'महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच' कार्यक्रम अन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोशाकमा एकरुपता ल्याउनका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको विभागका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी गराए ।

'विदेशका महानगरमा रहेका विद्यालयको पोशाक एउटै हुन्छ', उनले भने, 'हामीले पनि एउटै प्रकारको पोशाक लगाएर महानगरका विद्यालयमा एकरुपता ल्याउन थालेका हौँ ।'

'एकै पटक विद्यार्थीको पोशाक एउटै बनाउन समस्या हुन्छ', उनले भने, 'विस्तारै महानगरभित्रका सबै विद्यालयमा तीन/चार वर्षभित्रमा एउटै पोशाक बनाउने लक्ष्य रहेको छ ।' विभागले यसका लागि शिक्षक, संस्थागत विद्यालय सञ्चालक र विद्यार्थीका संघ संगठन र अभिभावकसँग छलफल, अन्तक्रिया गरी पोशाक कस्तो बनाउने भन्ने निर्णय गर्ने छ ।

यसैगरी महानगरले विद्यालयको बिदामा समेत एकरुपता ल्याउनका लागि शैक्षिक क्यालेण्डर लागू गर्ने भएको छ । आगामी शैक्षिक सत्रदेखि विदेशी कूटनीतिक नियोगबाट सञ्चालन भएका विद्यालयबाहेकका सबै प्रकारका विद्यालयमा एकै दिन विद्यालय खुल्ने र एकै दिन बिदा हुने गरी क्यालेण्डर ल्याउन थालिएको शिक्षा अधिकारी कोइरालाले बताए ।
महानगरको शिक्षा विभागले त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षाको तयारीको बहानामा अनावश्यक बिदाको समेत कटौती गर्दै स्थानीय बिदाका लागि व्यवस्था भएको पाँच दिनको प्रयोग गर्दा शिक्षा विभागको पूर्व स्वीकृति अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरेको छ । काठमाडौँ महानगरमा ९१ सामुदायिक र ६४० संस्थागत विद्यालय रहेका छन् ।

प्रकाशित : मंसिर २०, २०७५ १४:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT