कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

महिला हिंसा बढ्यो

‘महिला हिंसा अन्तका लागि नारामा सीमित भएर होइन, हिंसा अन्त गर्छु भन्ने कुरा व्यवहारमा देखाउनुपर्छ’

राजविराज — कानुनको कार्यान्वयन प्रभावकारी रूपमा हुन नसक्दा महिलामाथि हिंसाका घटनाहरू बढ्न थालेको सरोकारवालाहरूले बताएका छन् । 

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत लैंगिक हिंसा नियन्त्रण जिल्ला संजालद्वारा बिहीबार राजविराजमा आयोजित र्‍यालीका सहभागीहरूले त्यस्तो धारणा राखेका हुन् । उनीहरूले महिला हिंसाका घटनामा पीडकहरू पैसाले उम्किने गरेको आरोप लगाए । उनीहरूले युवामा प्रविधिको गलत प्रयोगले पनि हिंसाले प्रश्रय पाइरहेको बताए ।


लैंगिक हिंसा नियन्त्रण जिल्ला संजालका अध्यक्ष मनोहर पोखरेलले पछिल्लो एक वर्षयता सप्तरी जिल्लामा महिलामाथि हुने हिंसाका घटना अत्यधिक रूपमा बढेको बताए ।


उनले नीति निर्माताहरूले महिलामैत्री नीति निर्माण गर्नुपर्ने, भएका कानुनको प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने, हिंसा आफू पनि नगर्ने र अरूलाई गर्न पनि नदिने गरी सबै वर्ग समुदायवाट प्रतिबद्धता आउन सके मात्र महिला हिंसा न्यूनीकरण हुन सक्ने बताए । ‘महिला हिंसाका विरुद्धमा कडा कानुन बनाइनुपर्छ, कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ,’ पोखरेलले भने, ‘महिलामाथि हिंसा गर्नेलाई सामाजिक रूपमा बहिष्करण गर्ने र अपराधीलाई कतैबाट संरक्षण गरिनु हुँदैन ।’


गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्दन चौधरीले पछिल्लो समय निर्मला प्रकरणपछि महिला हिंसाका घटना न्यूनीकरण गर्ने सवालमा सरकारको चरित्र उदांगिएको आरोप लगाए । उनले सरकारी स्तरबाट पनि महिला हिंसा न्यूनीकरणमा गम्भिरता नदेखिएको आरोप लगाउँदै महिला हिंसा अन्तका लागि सबैले आफनो ठाउँबाट प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए ।


‘पहिला आफूबाटै हिंसा अन्त गर्नका लागि सुरु गर्नुपर्छ,’ चौधरीले भने, ‘महिला हिंसा अन्तका लागि नारामा सीमित भएर होइन, हिंसा अन्त गर्छु भन्ने कुरा व्यवहारमा देखाउनुपर्छ ।’ कानुन बनाएर मात्र हिंसा अन्त नहुने बताउँदै उनले कानुनको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिए ।


महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष अनिता देवकोटाले पछिल्लो समय बलात्कारका घटनामा न्यायलय पनि प्रलोभनमा परेको आरोप लगाए । ‘बलात्कारहरू मोटो रकम खर्च गरेर अदालतबाट छुटछन्,’ देवकोटाले भने, ‘घूसको चलखेलका कारण पनि महिलामाथि हिंसाका घटनाहरूले प्रश्रय पाइरहेको छ ।’


उनले महिला हिंसा न्यूनीकरणका लागि तल्लो स्तरदेखि राज्य सञ्चालनको उच्चस्तरसम्म गम्भीर बन्नुपर्ने आवश्यकता औल्याए । विद्यार्थी पूजा जोशीले महिला हिंसा न्यूनीकरणका लागि राज्य संयन्त्रका हरेक अंग जिम्मेवार बन्नुका साथै सामाजिक अगुवाहरू समेत सचेत हुनुपर्ने बताए ।


लैंगिक हिंसा नियन्त्रण संजालकी उपाध्यक्ष ललिता कर्णले सामाजिक रूपमा अगुवाहरूले समाजमा हिंसा न्यूनीकरणका लागि अग्रसरता लिनुपर्नेमा जोड दिए । संजालकी सदस्य बबिता देबले महिला हिंसा न्यूनीकरणका लागि सामाजिक सोच बदल्नुपर्ने बताए ।


‘महिलाका बारेमा रहेका सामाजिक सोच परिवर्तन आवश्यक छ,’ देबले भने, ‘सबैले आफैंबाट हिंसा न्यूनीकरणका लागि अग्रसरता लिनुपर्छ ।’ लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रकी स्रोत व्यक्ति मनिषा सिम्खडाले प्रविधिको दुरुपयोगका कारणले पनि पछिल्लो समय किसोर किशोरीमा हिंसाका घटना बढेको बताउँदै अभिभावकहरूले पनि आफना बालबालिकासित मैत्रीपूर्ण व्यवहार गरी उनीहरूको गतिविधिमाथि निगरानी गर्नुपर्ने बताए ।


उनले विद्यालयस्तरमा नैतिक शिक्षाको अध्यापनलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । बलात्कार सहितका महिला हिंसा न्यूनीकरणका लागि सामाजिक चेतना बढाउनुपर्ने बताउँदै अपराधीलाई दण्ड दिने सवालमा कानुनको कार्यान्वयन प्रभावकारी हुनुपर्ने बताए ।

प्रकाशित : मंसिर २१, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?