प्रभावकारी बन्दै झाडी सफाइ

पर्सा — जंगल भन्ने बित्तिकै अग्ला रूख तथा त्यसका मुनि बाक्लो झाडीको दृश्य आँखामा नाच्न थाल्छ । तर पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको वन ठीक त्यसको विपरीत देखिन्छ । अग्ला रूखमुनि झाडी छैन ।

प्रभावकारी बन्दै झाडी सफाइ

झाडी सफा सिनित्त पारिएको वन क्षेत्रमा घाँसे मैदान मात्र छ । टाढाटाढासम्म वन क्षेत्रको गतिविधि बाहिरैबाट नियाल्न सकिन्छ ।


ठोरी गाउँपालिका वडा नं ५ मा सुनाखरी उपभोक्ता समितिअन्तर्गतका बिन्दवासिनी र रातामाटे उपसमूहले ११ हेक्टर वन क्षेत्रको झाडी सफाइ गरी घाँसे मैदान विकास गरेका हुन् ।


मानव बस्ती नजिकका यी वन क्षेत्र सफाइ गर्दा बिगतको जस्तो यहाँ हात्ती, बाघ आदि वन्यजन्तु आएर लुक्ने क्रम घटेको छ । सुनाखरी उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद दाहालले समितिको अग्रसरता र डब्लूडब्लूएफको तराई भूपरिधि (ताल कार्यक्रम) को आर्थिक तथा प्राविधिक सहयोगमा यो वनको झाडी सफाइ गरिएको बताए । वनमारा, तिते लगायतको झाडी सफाइ गरिएको उनले बताए । यस्तो झाडी सफाइ गर्दा वन र वन्यजन्तुलाई नकारात्मक प्रभाव नपर्ने उनले बताए ।


‘यहाँ जंगल र मानव बस्ती जोडिएको छ, बेलाबेलामा मानव बस्ती पस्ने वन्यजन्तुले मानिसलाई आक्रमण गरेर नजिकको जंगलको झाडीमा लुक्छन्, मौका हेरेर फेरि वन्यजन्तु मानव बस्ती पस्छन्,’ उनले भने, ‘यस्ता वन्यजन्तुलाई धपाउने, मार्ने प्रयासमा स्थानीय लाग्न सक्छन्, घाँसपात र दाउरा संकलन गर्न जानेहरूलाई वन्यजन्तुले आक्रमण गर्न सक्छन् ।’


यसरी एकातिर मावन र वन्यजन्तुबीचको द्वन्द्व चली नै रहने र मानव अनि वन्यजन्तु दुबैलाई एक अर्काबाट क्षतिको सम्भावना रही रहने भएकाले झाडी सफाइको बाटो रोजिएको उनले बताए । झाडी नभएको वनमा राति लुक्न खोज्ने हात्तीलाई बत्ती बालेर देखाउँदा हात्ती त्यहाँबाट भाग्ने गरेको छ ।


झाडी सफाइ गर्दा वन्यजन्तुको आक्रमण निक्कै कम भएको छ । झाडी सरसफाइ कार्यक्रमको लाभ देखिएपछि समितिअन्तर्गतका बाघ भिमपेन उपसमिति, ठूलो बाघ मोर्चा समूह, सीता समूहले पनि आआफ्नो क्षेत्रमा यस्तो झाडी सरसफाइ कार्यक्रमको माग गरेको उनले बताए ।


ताल कार्यक्रमका सामुदायिक संरक्षण सहजकर्ता वेदहरी दाहालले यसरी मानव बस्ती नजिकको वनको झाडी सफाइ गर्दा त्यहाँ घाँसे मैदान विकास भएको र त्यस्ता मैदानमा बाघको आहारा प्रजातिका चित्तल र बंदेल लगायतका आहारा प्रजातिका वन्यजन्तुको वृद्धि हुने भएकाले यस्तो मैदानको दुरगामी लाभ समेत रहेको बताए ।

प्रकाशित : मंसिर २४, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?