कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुरेमा खाद्यान्न सधैं अभाव

शिव पुरी

रौतहट — चन्द्रपुर–३ अरुण बस्तीका दिलबहादुर जिम्बा आइतबार चन्द्रनिगहपुरमा मकै बेचेर चामल किन्न व्यस्त थिए । वर्षेनी उनी यस्तै गर्छन् । उनको ५ कठ्ठा खेत छ । तर धान बाली हुँदैन ।

चुरेमा खाद्यान्न सधैं अभाव

जिम्बा मात्र होइन चुरे क्षेत्रको बस्तीका अधिकांशले मकै बेचेर चामल किन्छन् । यहाँ सधैं खाद्यान्नको समस्या पर्ने गरेको छ ।


जंगल फँडानी गरी बस्ती बसेको चुरे क्षेत्रका खेतमा ढुंगा बाहेक केही छैन । खेतीयोग्य जमिन नभएकाले यस क्षेत्रमा उब्जनी नहुँदा समस्या हुने गरेको हो । यहाँ वर्षमा दुई पटक मकै लगाइन्छ । उब्जनी योग्य माटो नभएकाले यस क्षेत्रमा धानबाली हुदैन । सिँचाइको सुविधा छैन । सबैले मकै मात्र लाउँछन् । एकै बालीबाट उब्जेको मकै बेचेर वर्षभरी खान्छन् । बाली समेत राम्ररी हुन छाडेपछि यस भेगका स्थानीयलाई खानको समस्या पर्ने गरेको हो ।


‘समतल भाग र उब्जनी जमिन नभएकाले मकैबालीमै भर पर्छौं,’ जिम्बाले भने, ‘अन्न उब्जनी नभएकाले खाद्यान्नको समस्या पर्ने गरेको हो ।’ उनले एक क्विन्टल मकै बेचेर चामल किनेका हुन् । १८ स्थानीयतह मध्ये चन्द्रपुर नगरपालीकाको यी बस्तीहरूमा धानबाली हुँदैन ।


मकैको ढिडो खाएर स्थायनीबासी चित्त बुझाउँछन् । स्थानीयको घर/घरमा मकै झुडयाइएको देख्न पाइन्छ । उनीहरूको मुख्य बाली नै मकै हो । मकै उब्जनी हुन नसकेको वर्ष खाद्यान्नको समस्या पर्ने गरेको स्थानीयको भनाइ छ ।


१० वर्षदेखि मकै लगाउँदै आएको स्थानीय सुकमाया तमाङले सुनाइन् । ‘अहिलेसम्म चामलको भात खान पाएको छैन,’ उनले भनिन्, ‘सिँचाइ योग्य जमिन नभएकाले एक बालीको भरमा वर्षभरी बाच्नुपर्छ ।’ चन्द्रपुरको अरुण बस्ती, ईपिलिघारी, भोलनटार लगायतको चुरेक्षेत्रको गाउँमा झन्डै १ हजार भन्दा बढी घर परिबार छन । उनीहरू चुरे फँडानी गरी बसेका हुन् । त्यस क्षेत्रमा तामाङको बाहुल्य छ । उनीहरूको भरपर्दो आयश्रोत नभएकाले जीवन कष्टकर बनेको हो ।


खेत नजिक धेरैको पशु बाध्ने गोठ छ । गोठमा गोबर संकलन गरी खेतमा हाल्छन् । केही युवा बिदेशिएका छन् । केही गार्मेन्टमा काम गर्न काठमाडौं गएका छन् । गरिबी उत्तिकै छ । नगरपालिका भएर पनि यो बस्ती मानवीय सेवाको पहुँचभन्दा टाढा छ । चुरे क्षेत्र अतिक्रमण गरी २०४४ सालदेखि यहाँ बस्ती बसेको हो ।


वनलाई चुनौती

चुरे क्षेत्रमा अतिक्रमण बढेपछि एक दशक अघिदेखि वनले हटाउने प्रयास गर्दै आएको छ । राजनीति संरक्षणका कारण सकेको छैन ।


अतिक्रमणले वनमा हानिनोक्सानी बढेको भन्दै हटाउने प्रयास गरिएको हो । यस क्षेत्रमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम समेत असफल भएको छ । स्थानीयले कार्यक्रम बिथोल्ने गरेका हुन् । वनले जंगल क्षेत्र वरपर तारबार गरे पनि रातारात उखेल्ने गरिएको छ । डिभिजन वन अधिकृत बिनोद सिंहले चुरे अतिक्रमण चुनौतीको विषय बनेको बताए ।


‘बस्ती बिनाको चुरे र बस्ती सहितको चुरे भन्ने अवधारणा आईसकेको छ,’ उनले भने, ‘चुरे क्षेत्रसंरक्षण सबैको दायित्व भएकाले यसतर्फ सबैको ध्यान जानुपर्छ । अहिले अतिक्रमण हटाउने कुनै योजना बनेको छैन ।’ डिभिजन वनका अनुसार कुल ३१९०.४ हेक्टर वनमध्ये १४२५.२८ हेक्टर चुरेक्षेत्रमा अतिक्रमण भएको छ । त्यस क्षेत्रमा झन्डै १ हजार ९० घर धुरी रहेको छ ।

प्रकाशित : मंसिर २४, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?