१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

दाहसंस्कार व्यवस्थित गरिने

शिव पुरी

रौतहट — चन्द्रपुर–१ स्थित बागमती नदीमा जथभावी शव जलाउँदा समस्या बढेपछि त्यसलाई व्यवस्थित गर्न पहल थालिएको छ । वडा कार्यालयले दाहसंस्कार गर्ने स्थान बनाई व्यवस्थित गर्न लागेको हो । यसका लागि स्थानीयसित छलफल सुरु गरिएको छ ।

दाहसंस्कार व्यवस्थित गरिने

बागमतीस्थित बस्ती नजिक नदीमा जथाभावी दाहसंस्कार गरिँदा वरपरको वातावरण दूषित भएको भन्दै गुनासो आएपछि वडा कार्यालयले व्यवस्थित गर्ने योजना अघि बढाएको हो । बस्ती नजिक भएकाले वातावरणलाई समेत मध्यनजर गरी समस्या समाधान गर्ने तिर लागेको वडा अध्यक्ष बीरबहादुर रखालले बताए ।


‘हामी पशुपतिको जस्तै दाहसंस्कार गर्ने स्थान बनाउनेतर्फ लागेका छौं,’ उनले भने, ‘यस क्षेत्रलाई चाँडै नै व्यवस्थित गर्छौं ।’ पछिल्लो समय बागमती बजार छेउको नदीमा शव जलाउने गरिएको छ । यसले नदीको पानी समेत दुर्गन्धित बनाएको छ । व्यवस्थित शव जलाउने स्थानको अभावले यहाँ समस्या देखिएको हो ।


स्थानीयका अनुसार बागमतीमा सय वर्ष अघिदेखि शव जलाउँदै आइएको हो । बागमती किनारमा दैनिक १० वटासम्म शव जलाउन ल्याउने गरिएको छ । रौतहट, सर्लाही, बारा, पर्सादेखिका मानिसको मृत्यु हुँदा बागमतीमा दाहसंस्कार गरिन्छ ।


दाहसंस्कार गर्ने स्थानलाई व्यवस्थित बनाउन पटकपटक पहल थाले पनि नदीले धार परिवर्तन गर्न थालेपछि समस्या भएको वडा अध्यक्ष रखालले बताए । ‘हिउँदमा पानीको धार पूर्वतिरबाट बग्छ,’ उनले भने, ‘वर्षाका बेला बस्ती नजिक आउने हुँदा दाहसंस्कार गर्ने स्थान कहाँ बनाउने भन्ने अन्यौलमा परेका हौं । अब चाँडै समस्या हल हुन्छ ।’


यता चन्द्रपुर नपा ५ को चाँदी नदीको हालत पनि उस्तै छ । शवदाह स्थल नहुँदा नदी किनारमा जलाइन्छ । मृतकले प्रयोग गरेको कपडा तथा ओड्ने, ओछ्याउने र अन्य सामानहरू नदी किनारमा अलपत्र छाडिन्छ । पूर्णरूपमा नजलेको शवका टुक्रा नदी किनारमा भेटिने गरेको छ । जहाँ पायो त्यति शव राखेर जलाइने गरेको वडा अध्यक्ष सन्जय काफ्लेले बताए । वडा कार्यालय र नगरपालिकामा शव दाहस्थल निमार्ण गर्न माग गरे पनि चासो नदेखाएको आरोप छ ।


दुबै नदीको किनारमा डढेका दाउराका ठुटा जतात्यतै छरिएको पाइन्छ । बागमति र चाँदी नदीमा शव जलाएपछि मलामीले फोहोर व्यवस्थापन गरेको पाइँदैन । शव जलाउने क्रममा बर्षाका बेला पानी पर्‍यो भने मलामीलाई ओत लाग्ने सार्वजनिक घर समेत छैन । हावाहुरी, पानी र चर्को घाम लाग्दा जल्दै गरेको शव छोडेर होटल वा बस्ती गई बस्नुपर्ने बाध्यता भएको बागमतीका समिर खड्काले बताए ।


‘दुबै नदीमा व्यवस्थित शवदाह स्थल बनाउन जररी छ, उनले भने, ‘जथाभावी जलाउँदा सबैलाई समस्या भएको छ । स्थानीय तहले व्यवस्थित गर्नुपर्छ ।’ शव जलाउने स्थान वरपर स्थानीयले लुगा धुने, नुहाउने गर्दै आएका छन् । पशु चौपायले पानी खाने स्थान पनि त्यहीं हो ।

प्रकाशित : मंसिर २४, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?